काठमाडौँ । पूर्वप्रधानमन्त्री डा तुलसी गिरीको मंगलबार बिहान बूढानीलकण्ठस्थित सिद्धार्थ कोलनीमा रहेको आफ्नै निवासमा निधन भएको छ । कलेजोको क्यान्सरको उपचार गराइरहेका पूर्वप्रम गिरीको मंगलबार बिहान ६ बजे ९३ वर्षको उमेरमा निधन भएको उनका श्रीमती सराह गिरीले जानकारी दिइन् । सन् १९६० देखि सन् २००५ सम्म सक्रिय राजनीति गरेका गिरी पछिल्लो समय मुटु रोगबाटसमेत पीडित थिए ।
विश्वेश्वरप्रसाद कोइरालाको मन्त्रिमण्डलमा सदस्यका रुपमा काम गरेका गिरीले प्रधानमन्त्री र तत्कालीन राजा ज्ञानेन्द्र शाहको शासनकालमा मन्त्रिपरिषद्को उपाध्यक्ष भई काम गरेका थिए । उनको पार्थिव शरीर श्रद्धाञ्जलिका लागि मंगलबार निवासमै राखिने र बुधबार पशुपतिमा अन्त्येष्टि गरिने श्रीमती गिरीले जानकारी दिइन् । उनका श्रीमती, दुई छोरा र चार छोरी छन् ।
पूर्वप्रम गिरीको निधनप्रति प्रधानमन्त्रीद्वारा श्रद्धाञ्जलि
प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वप्रधानमन्त्री डा तुलसी गिरीको निधनप्रति श्रद्धाञ्जलि व्यक्त गरेका छन् । उनले मंलबार बिहान ट्विट गर्दै पूर्वप्रम गिरीको निधनको खबरले आफूलाई दुःख लागेको र यस घडीमा स्व गिरीप्रति हार्दिक श्रद्धाञ्जलि अर्पण गर्दै शोक सन्तप्त परिवार र आफन्तजनप्रति गहिरो समवेदना व्यक्त गरेका छन् । पूर्वप्रम गिरीको मंगलबार बिहान उनकै निवास बूढानीलकण्ठमा ९३ वर्षको उमेरमा निधन भएको हो ।
–––






