गुरुङ रामप्रकाश ‘समथिङ’
नेपालको राष्ट्रिय जनगणना २०६८ अनुसार ह्योल्मो जातिको जनसंख्या महिला ५ हजार ६ सय ३७ र पुरुष ५ हजार १ सय १५ जना गरी जम्मा १० हजार ७ सय ५२ जना रहेका छन् । २०५८ सालको राष्ट्रिय जनगणना अनुसार यो जातिको जनसंख्या ५ सय ७९ जना मात्र देखाइएको थियो । नेपालमा भएको जातिहरुको जनसंख्या हेर्दा यो जाति पनि अल्पसंख्यकमा परेको देखिन्छ ।
अल्पसंख्यक संख्यामै पर्ने ह्योल्मो जातिको मुख्य बसोबास क्षेत्र भनेको नेपालको सिन्धुपलाञ्चोक जिल्लाको हेलम्बु क्षेत्र हो । यो जातिलाई कतै हेल्मु, कतै एल्मु, कतै योल्मो त कतै याल्मो पनि भन्ने गर्दछ । हेलम्बुबाटै योल्मो, ह्योल्मो भनिन थालिएको भन्ने भनाइहरु पनि रहेको छ । हेलम्बुबाट बसाई सरी इलाम, दोलखा, नुवाकोट, रसुवा, गोरखा र चितवन जिल्लाहरुमा समेत बसोबास गर्न थालेका भेटिन्छन् ।
ह्योल्मो जाति भोटको सिमाना नजिक बसोबास गर्ने भएकोले उनीहरुको भाषामा पनि भोटसंगको नजिक भएको पाइन्छ । ह्योल्मो भाषामा भैसीलाई मई, गोरुलाई लङगो, गाईलाई बलाङ, लोग्नेलाई ख्योबु, कुकुरलाई खी, घोडालाई ताबु, बाघलाई तक, भेडालाई लु, छोारालाई सेबु, दिदीलाई आजी, दाइलाई ज्यो–ज्यो, मामालाई आस्याङ, काकालाई अऊ, बाजेलाई हेलमे र बावुलाई याप भन्ने गर्दछ ।
यी जातिको घरहरुको तल्लो तलामा गाई बस्तु बाध्ने र माथिल्लो तलामा मान्छे बस्ने खालको बनाइएको हुन्छ । यिनीहरु चार्ड पर्वको रुपमा विशेष गरी ल्होसारलाई भव्य रुपमा मनाउने गर्दछ । यो बाहेक अन्य चार्डको रुपमा क्षिजु (दशमी) पर्व, न्यूङने पूजा, न्हारा पर्व र मनिवुम पूजा आदि पनि उल्लासमय तरिकाले मनाउने गर्दछ । यो जातिमा जन्म, छेवर, विवाह र मृत्यु गरी चार प्रकारका संस्कारहरु मान्ने गरेको पाइन्छ । घरमा नयाँ सन्तान आएपछि तीनदेखि पाँच दिनसम्म बारेपछि सुत्केरीलाई चोख्याउने चलन रहेको छ । बच्चाको नाम लामाद्धारा राख्ने चलन यो जातिमा रहेको छ । जब घरमा कुनै महिलाको गर्भ रहेको थाहा हुन्छ । हुनेवाला बावुले आलो मासु हेर्न नहुने, खोलामा थापेको पासोबाट माछा झिक्न नहुने, आमा हुनेवालाले पनि बाकसमा बाहेक अन्य कतै पनि चावी लाउन नहुने जस्ता परम्परागत अन्धविश्वास रहेको पाइन्छ ।
ह्योल्मो जातिमा मागी विवाह, चोरी विवाह र प्रेम विवाह गर्ने परम्परागत चलन रहेको छ । अरु जातिको जस्तो बिहेमा बेहुलाले बेहुलीलाई सिन्दुर हाल्ने यो जातिमा छैन । लामाले बेहुला र बेहुलीलाई टोटलाको पूmलको टीका लगाइ दिएपछि विवाह सकिने चलन यो जातिमा छदैछ ।
ह्योल्मो जाति बौद्ध धर्म मान्ने भएकोले यिनीहरुको मृत्यू संस्कारमा लामा अनिवार्य नै चाहिन्छ । ह्योल्मो जातिमा मानिसको मृत्यु भएको निश्चित भई सकेपछि मृतकलाई बसालेर राख्ने चलन छ । मानिसको मृत्यु भई सकेपछि एक सय आठ बत्ती बाल्ने गर्दछ । अनि लामा मृतकको घरमा आई सकेपछि लामाले मृतकको अन्त्येष्टिको विधि विधान गर्न शुरु गर्दछ । लामाले साइत हेरेर कुन बार र कुन समय तथा कुन दिशाबाट लास निकालेर अन्त्येष्टि गर्न लानु पर्ने हो सो को निर्णय गर्दछ । सोही निर्णय अनुसार ह्योल्मो जातिले मृतकको अन्त्येष्टि गर्दछन् । ह्योल्मो जातिमा लासलाई जलाउने चलन छ । ह्योल्मो जातिमा लास जलाएको भोलि पल्ट लास जलाएको ठाउँमा गई हेर्ने गर्दछ । जलाएको खरानीमा जेको पाइला देखिन्छ । मृतकले त्यसैको जुनी लिएको विश्वास राख्दछन् । मानिस मरेको सात, तेह्र र उन्नचासौ दिनमा घेवा (सुद्धाइँ) गरी शुद्ध हुन्छन् । ह्योल्मो जातिमा मृतकको अस्तुलाई खोलामा लगेर बगाउने र ओडारमा पोका पारेर राख्ने जुन उपयुक्त हुन्छ सोही अनुसार गर्दछ ।
प्रतिक्रियाका लागि : ९८५२६८१५८०
सन्दर्भ सामाग्री
१. लेखक रामप्रकाश समथिङ, जिल्ला विकास समितिको कार्यालय फिदिम, पाँचथर र नेपाल आदिवासी जनजाति महासंघ जिल्ला समन्वय परिषद पाँचथरद्धारा प्रकाशित– पाँचथरका आदिवासी जनजातिहरु जेष्ठ–२०६६
२. लेखक प्राज्ञ इन्द्रबहादुर गुरुङ, काशीपरी गुरुङद्धारा प्रकाशित तमु (गुरुङ) साँस्कृतिक दिग्दर्शन–असोज २०६८
३. लेखकद्धय ताम्ला उक्याव र श्याम अधिकारी, श्री ५ को सरकार (हाल नेपाल सरकार) स्थानीय विकास मन्त्रालय राष्ट्रिय जनजाति विकास समिति काठमाडौद्धारा प्रकाशित नेपालका जनजातिहरु बैशाख–२०५७
४. लेखक मधुसुदन पाण्डेय, पैरबी प्रकाशनद्धारा प्रकाशित नेपालका जनजातिहरु– २०६१
५. सम्पादक पवन चामलिङ ‘किरण’ निर्माण प्रकाशन गुम्पा घुर्पिसे, नाम्ची, दक्षिण सिक्किमद्धारा प्रकाशित वर्ष १९, अंक ३४—निर्माण सँस्कृति विशेषाङक, अप्रिल– सन १९९९
६. लेखक डा.हर्क गुरुङद्धारा लिखित नेपाल आदिवासी जनजाति महासंघद्धारा प्रकाशित–जनजाति सेरोफेरो मे—२००६
अर्को अंक नेवार जातिबारे लेख प्रकाशन गरिनेछ ।






