२०७२ सालमा १३औं महाधिवेसनपछि पहिलोपटक भएको नेपाली कांग्रेस महासमिति बैठक अहिले काठमाडौंमा जारी छ । यो महासमिति बैठक कांग्रेसभित्रै पनि व्यापक माग भएपछि नेतृत्व आयोजना गर्न बाध्य बनेको हो । महासमिति बैठकमा अहिलेसम्म भएका उपलव्धी, कमीकमजोरीसँगै अबको कार्यदिशाका बारेमा नेता कार्यकर्ताहरुले आआफ्नो धारणा राखिरहेका छन् ।
महासमिति बैठकमा चार फरक फरक प्रतिवेदन प्रस्तुत भइसकेका छन् । बैठकमा प्रस्तुत राजनीतिक, सांगठनिक, आर्थिक लगायतका प्रतिबेदनबारे नेताहरुले धारणा राख्ने क्रम जारी छ । यो क्रम पुस ३ गतेसम्म जारी रहनेछ । कार्यकर्ता र नेताहरुले कांग्रेसलाई कसरी एकताबद्ध रुपमा अघि बढाउन सकिन्छ भन्ने विषयमा मत राखिरहेका छन् ।
पार्टीले पछिल्लो चुनावमा व्यहोर्नु परिरहेको पराजयको गम्भीर समीक्षा पनि भइरहेको छ । यसबारेमा आरोप प्रत्यारोप व्यापक छ । कोही यो पराजयको जिम्मेवारी पार्टी नेतृत्वले लिनुपर्ने बताइरहेका छन् । कोही यो पार्टीको आन्तरिक गुटबन्दीका कारण पराजय भोग्नुपरेको भन्दै गुट अन्त्यको माग राखिरहेका छन् । खासगरी यो मागलाई सम्बोधन गर्नका लागि सबै एक भएर अघि बढ्नुको विकल्प नभएको बताइरहेका छन् ।
पार्टीको आन्तरिक सुदृढीकरणका लागि समेत महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा लिइएको यो महासमिति बैठकले सबै नेताहरुलाई एकपटक गम्भीर भएर सोंच्न भने बाध्य पारेकै छ । राजनीतिक रुपमा सही नीति भएको विश्लेषण भएको भन्दै त्यसलाई कार्यान्वयन गर्नका लागि राजनीतिक नेतृत्वको आवश्यकता रहेको समेत आंैल्याउन थालिएको छ । यसले नेपाली कांग्रेस सुधारका लागि महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गर्न सकिन्छ ।
पार्टीको सबै तहमा गुटगत खराबी रहेको छर्लंग्गै छ । यो गुटगत समस्याले गर्दा पार्टीको आन्तरिक समीकरण ध्वस्त बनेको छ । यो संगठनात्मक रुपमै अहिलेसम्म देखिएको गुटगत राजनीतिले पक्कै पनि कांग्रेसलाई मात्र नभएर कुनै पनि राजनीतिक दललाई फाइदा पुगेको छैन । राजनीतिक फाइदा भन्दा पनि व्यक्तिगत फाइदाका लागि गुटको राजनीति झाँगिँदै गएको छ । यसले नेपाली राजनीतिमा पक्कै पनि फाइदा पुगेको छैन ।
नेपाली कांग्रेसमा देखिएको गुटगत राजनीतिले वीपीको समाजवादको नीतिले राम्रो भूमिका निर्वाह गर्न नसकेको कांग्रेसजनमा प्रष्टै प्रभाव परेको छ । कांग्रेसले लिएको नीतिलाई नै कम्युनिष्टले अपनाएर दुई तिहाइको सरकार बनाइसके । कांग्रेस भने आफ्नो असल नीतिलाई समेत सही रुपमा कार्यान्वयन गर्न नसकेर खुम्चिएर रहेको स्पष्ट भएको छ । यो कांग्रेस नेतृत्वको कमजोरी नै हो । यसलाई सही रुपमा र सही समयमा सच्याएर अघि नबढ्ने हो भने कांग्रेसले योभन्दा पनि नराम्रो हविगत भोग्नुपर्नेछ । त्यसैले कांग्रेसका लागि अहिलेको समय आफू सुध्रिने, संगठन सुधार्ने र आचरण सुधार्ने मौका हो । इतिहासले यस्तो मौका कमैलाई दिन्छ जुन अहिले कांग्रेसले पाएको छ ।






