प्रस्तुति: हरि कुमार गुरुङ (काजी) – बेलायत।
एक अविस्मरणीय र आत्मीय सरप्राइज
डा. दुत पुन (चिम्खोले काईला) सर र जमुना भाउज्यूको अप्रत्याशित आगमनले हडर्सफिल्डस्थित यो सामान्य कुटीलाई निकै धनी र धन्य बनाइदिएको छ। जीवनमा मानिसहरू टाढा छ वा समय छैन भनेर अनेकौँ बहाना बनाउँछन्, तर भेट्नैपर्छ भनेर अचानक लेकबाट यसरी घरमै आइपुग्नु साच्चिकै ठूलो सम्मान र आत्मियताको प्रतीक हो। दुत सर, तपाईं सरप्राइज दिन र मानिसहरूलाई अचम्ममा पार्न असाध्यै सिपालु हुनुहुन्छ। झुक्याउने, चकित पार्ने र अझ भनौँ भने एउटा सुखद धक्का दिने तपाईंको यो अनौठो शैली साँच्चै गजबको छ। त्यसैले त तपाईंको यो बानी देखेर तपाईंको नाममा एउटा छुट्टै ‘सरप्राइज खाता’ नै खोल्ने अनुमति माग्न मन लाग्छ।
विषम परिस्थिति र सङ्घर्षको बलियो जग
जतिबेला धेरैजसो मानिसहरू विद्यालय जाने अवसरबाट समेत वञ्चित थिए, त्यतिबेला तपाईंले घरमा झुक्याएरै भए पनि आफ्नो पढाइको यात्रा सुरु गर्नुभयो। पारिवारिक बाध्यताका कारण गोठ र घरको कठिन काम सम्हाल्दै अघि बढ्नुभयो। अत्यन्तै विषम परिस्थितिमा पनि तपाईंले कहिल्यै हरेश खानुभएन र निरन्तर अघि बढिरहनुभयो, जुन आज तपाईंको मुख्य पहिचान बनेको छ। अनेकौँ हन्डर र ठक्कर खाँदै एसएलसी पास गरेर मास्टरी पेसामा लाग्नुभयो। त्यसपछि बेलायती र भारतीय सेनामा भर्ती हुन पटक-पटक प्रयास गर्दा पनि सुरुमा सफलता मिलेन। शारीरिक उचाइका कारण गल्ला र एआरओलाई झुक्याउनुपरेको त्यो क्षण आफैँमा एउटा रोमाञ्चक सङ्घर्ष थियो, तर जीवनले तपाईंको लागि अर्कै ठूलो सरप्राइज साँचेर राखेको रहेछ। अलिकति उमेर छिप्पिएपछि अन्ततः तपाईं ब्रिटिस आर्मीमा छनोट हुनुभयो।
सेना, संस्था र सञ्चारमा सफलताका कीर्तिमानहरू
ब्रिटिस आर्मीमा प्रवेश गरेपछि तपाईंको जीवनले एउटा नयाँ मोड लियो र तपाईंले कहिल्यै पछाडि फर्केर हेर्नुपरेन। सैन्य जीवनमा उत्कृष्ट प्रदर्शन गर्दै बन्दोबस्तका कामहरूमा आफ्नो कुशलता देखाउनुभयो। पल्टनको सेवा निवृतपछि मगर संघ युकेलाई तपाईंले दिनुभएको उल्लेखनीय र उदारणीय योगदान लगायत पाँचवटा ऐतिहासिक रेकर्डहरू कायम भए। एभरेष्ट टाइम्स युकेको प्रबन्ध निर्देशकका रूपमा तपाईंले खेल्नुभएको भूमिका अविस्मरणीय छ। तपाईंको त्याग, लगनशीलता र नेतृत्व नभएको भए यो पत्रिकाले आजको यो उचाइ हासिल गर्न सक्ने नै थिएन।
प्राज्ञिक छलाङ र बौद्धिक सरप्राइजको वर्षा
तपाईंको जीवनको सरप्राइज खाता सैन्य र सामाजिक सेवामा मात्र सीमित रहेन, बरु बौद्धिक क्षेत्रमा झनै चम्कियो। एकपछि अर्को गर्दै १०–१२ वटा पुस्तकहरू प्रकाशन गरेर सबैलाई चकित बनाउनुभयो। सन् २०१८ मा उमेरले ६० छुन खोज्दा अचानक स्नाकोत्तर (मास्टर्स डिग्री) गरेर सबैलाई आश्चर्यमा पार्नुभएका तपाईंले सन् २०२६ मा आइपुग्दा विद्यावारिधि अर्थात् पीएचडी नै पूरा गरेर फेरि एकपटक सबैलाई निकै ठूलो र सकारात्मक धक्का दिनुभयो। कुनै समय पत्रकार संघ यूकेले लाहुरेहरूलाई रोक्न इन्टरमिडिएट सम्मको योग्यता खोज्दा भएको त्यो अपमानलाई तपाईंले निराशामा बदल्न दिनुभएन, बरु त्यसैलाई ऊर्जा बनाएर पीएचडीसम्मको प्राज्ञिक यात्रा तय गर्नुभयो। एभरेष्ट टाइम्सका सहयात्रीहरू डा. मिलन ज्ञवाली र तपाईंले पीएचडी गरिसक्नुभएको छ भने खिम घले सर पनि यसै बाटोमा हुनुहुन्छ, जुन सम्पूर्ण टिमकै लागि गौरवको विषय हो।
आत्मीय सम्बन्ध, ठट्टा र पारिवारिक छहारी
हाम्रो सम्बन्ध निकै लामो, घनिष्ठ र आत्मीय छ। पत्रिकाको कामको चापले तनाव बढेका बेला पबमा गएर टन्न खाने र ठट्टा गर्दै “तपाईंको कुरा चोर्छु” भन्ने पुराना दिनहरू आज पनि उत्तिकै ताजा र सम्झनलायक छन्। हामीले ठट्टामा पुड्के, डल्ले वा धूर्त भनेर जिस्क्याउने गरेका ती शब्दहरूमा कुनै हेपाइ थिएन, बरु ती त प्रगाढ आत्मीयता र प्रेमका प्रतीक थिए। तपाईंको यो लामो र लोभलाग्दो जीवनयात्रामा जमुना भाउज्यूको साथ, सहयोग र बुझाइको भूमिका असाधारण छ। उहाँजस्ती जीवनसाथी नपाएको भए यो यात्रा यति सहज हुने थिएन। दुत सरले जे रोप्नुभयो त्यो उम्रियो र फल्यो, तर भाउज्यूको हात त झनै उर्वर छ। आज ठूली छोरी नर्स हुनुहुन्छ भने सानी छोरी आफैँ मेडिकल डाक्टर बन्नुभएको छ, जसले तपाईंको पारिवारिक सुखलाई पूर्ण बनाएको छ।
कृतज्ञता र प्रेरणादायी व्यक्तित्वको सम्मान
तपाईं जहिले पनि काजी सर नभएको भए म पत्रकार बन्ने थिएन, मैले पीएचडी गर्ने थिइनँ भन्दै मेरो योगदानको खुला हृदयले प्रशंसा गर्नुहुन्छ। हडर्सफिल्ड आउने क्रममा मे्रो नाम लिँदै उहाँको योगदान छ भनी मेरो कुटीमा पाइला भेट्न आउनु हुदा मलाई निकै खुसी र गर्व लाग्छ। यद्यपि मेरो खासै ठूलो भूमिका नभए पनि तपाईंको यो उदारताले मलाई संसारकै सबैभन्दा धनी मानिस भएको महसुस गराउँछ। पुड्को कदका मानिसले संसारमा यति अग्ला र महान् कामहरू गरेर देखाउनु कुनै सामान्य सरप्राइज मात्र होइन, यो त एउटा ‘मिराकल’ नै हो। दुत सर, तपाईंको यो जीवनयात्रा सङ्घर्ष, परिश्रम, उच्च आत्मविश्वास र निरन्तर प्रगतिको एउटा जीवन्त र प्रेरणादायी कथा हो, जसप्रति सधैं हार्दिक सम्मान र अझ धेरै सफलताको मङ्गलमय शुभकामना छ।







