नेपालले राजनीतिक परिवर्तनको महशुस अझै पनि गर्न सकेको छैन । राजनीतिक परिवर्तनसँगै जनताले आशा गरेको विकासको गतिविगतको भन्दा कुनै फरक छैन । धिमा गतिमै छ । अझै भनौ ढिलासुस्तीले निरन्तरता पाइरहेको छ । यो गतिले गर्दा पनि सरकारका नेतृत्वकर्ताहरुले चर्काचर्का भाषण गरे पनि जनताले भाषण अनुसारको शासनको अनुभूति गर्न पाइरहेको छैन ।
अहिले जनताले विकासका लागि आश गर्नुलाई अन्यथा लिन मिल्दैन । जनताले विकासका लागि दिएको मतको सम्मान गर्नु राजनीतिक नेतृत्वको खुशी पनि हो । जनतालाई दिएको आश्वासन एकपछि अर्को गर्दै पूरा गर्दै अघि बढ्दा जनताप्रतिको सम्मान पनि हुन्छ । जनताले विश्वास पनि गर्छन् । जनताको सच्चा नेताको रुपमा स्थापित हुन्छन् ।
जनताका लागि जनताबाट चुनिएका नेताहरुमै इमान्दारिता देखिँदैन । जनताको मतले जनतामाथि नै शासन गर्नका लागि भन्दा पनि सहजीकरण गर्न जनप्रतिनिधिका रुपमा चुनिएका हुन् । तर, विडम्बना भन्नुपर्छ, नेताहरुले जनताका लागि जनहितमा काम गरिरहेको पाइएको छैन । जनताका लागि विकासका योजना बनाउनुको सट्टा चरम लापरवाहीपूर्ण तवरले आफ्नो सुविधा बढाउने भन्दा अरु केही नगरेको गुनासाहरु आइरहेका छन् । यो अत्यन्त दुःखद पक्ष हो ।
नेताहरु सुविधामा अल्मलिने र जनता आश मात्र गरिरहने हो भने राजनीतिक परिवर्तन भएको कुनै अर्थ भएन । राजनीतिक परिवर्तन जनताका समस्या समाधान गर्नका लागि हो । जनताको भावनाअनुसारको काम नेता र नेतृत्वले गर्न सक्यो भने मात्र राजनीतिक परिवर्तनको खास अर्थ रहन्छ ।
राजनीतिक परिवर्तनले जनताको सम्मान गर्न सक्नुपर्छ । जनताले अपेक्षा गरेको विकास हो । जनताले अपेक्षा गरेको दीगो विकास हो । अहिले देशमा समृद्धिको नारा व्यापक घन्किएको छ । नागरिकले नारा सुन्नबाहेक अनुभूत गर्न भने पाएका छैनन् । राजनीतिक नाराले मात्र जनताको अपेक्षा पूरा हुँदैन । जनताको अपेक्षा पूरा हुन सक्यो भने मात्र देशको समृद्धि सम्भव छ । नागरिकको आवाजको सम्मान हुन्छ ।
अहिले देशभर विकासको भोग जागेको छ । यो भोग जगाउने काम स्वयम नेताहरुबाट भएको छ । अब हामी यसो गर्छौ, उसो गर्छौ भन्दै जनताका घरदैलोमा नेताहरु नै गएका हुन् । नेताहरुले नै जनतालाई उत्साहित बनाएका हुन् । सोही आश्वासनले जनतामा विकासको भोग जागेको छ । विकासको नारा जनजनको मनमनमा छाप बनेको छ । त्यसैले पनि जनताको भावनाको सम्बोधन चाँडो हुनुपर्छ भन्ने सबैतिरबाट आवाज मुखरित भएको छ । त्यसैले जनतालाई भोग मात्र जगाउने होइन, भोग मेटाउने काम पनि नेताहरुबाट हुन जरुरी छ ।






