काठमाडौं । राजपा अध्यक्ष मण्डल संयोजक राजेन्द्र महतोले राज्यले दुई रंगका व्यवहार गरेको भन्दै सत्ताधारीको चर्को आलोचना गरेका छन् । बुधबारदेखि सुरु संसद्को तेस्रो अधिवेशनमा सम्बोधन गर्दै महतोले कैलालीबाट निर्वाचित सांसद रेशम चौधरीलाई जेलमा राखेर राज्यले एकै मुलुकमा दोहोरो व्यवहार देखाएको टिप्पणी गरे । ‘जनताबाट निर्वाचित रेशम चौधरी संसद्मा आउनु पर्छ कि पर्दैन’ प्रश्न गर्दै महतोले भने, ‘दस वर्षमा जनयुद्ध गर्ने तपाइ (प्रचण्ड) प्रधानमन्त्री हुने, थारुले आन्दोलन गर्दा जेल जानु पर्ने । यो भेदभावहो । थारु हुँदैमा अन्याय सहनु पर्ने । मधेसी हुँदैमा पेल्दिने ? यही हो लोकतन्त्र ।’
उनले राज्यको विभेद जारी रहे कुनै दिन बिस्फोट हुने चेतावनी दिए । चौधरी जस्तै आन्दोलनका क्रममा मुद्दालागेका
लक्षण थारु लगायतले मुद्दा फिर्ताको माग गरे ।
दुई तिहाइको सरकार बन्दा जनता र आफूहरुमा ठूलो आशा रहेको जनाउँदै उनले अहिले ती आशा निराशामा परिणत हुँदै गएको बताए । संविधान संशोधन, बन्दी रहेका आफ्ना सयौं नेता, कार्यकर्ता रिहाइ माग सरकारले पूरा गर्छ कि भनेर आफूहरुले
सहनशीलता र धैर्यता देखाएको भन्दै नेता महतोले यसलाई कमजोरी नठान्न चुनौती दिए ।
कैलालीबाट प्रतिनिधिसभामा निर्वाचित सांसद चौधरी राजपामा आबद्ध छन् ।






