काठमाडौँ । तमु (गुरुङ) सञ्चारकर्मी संघ, नेपालले शुक्रबार सातजना पत्रकारलाई पुरस्कृत गरेको छ ।
पूर्वप्रधान सेनापति छत्रमानसिंह गुरुङ तथा कमला गुरुङ पत्रकारिता पुरस्कारबाट राजबहादुर गुरुङ र गजुरधन राई पुरस्कृत भएका छन् । पुरस्कारको राशी जनही २० हजार रुपियाँ र सम्मानपत्र रहेको छ ।
त्यस्तै सुश्री भद्रकुमारी घले पत्रकारिता पुरस्कारबाट जुली गुरुङ, तमू आदिकवि हर्कबहादुर गुरुङ स्मृति पत्रकारिता पुरस्कारबाट मिलन तमू, लक्ष्मी गुरुङ पत्रकारिता पुरस्कारबाट असिफ गुरुङ, सीआई टेकबहादुर गुरुङ तथा रसकुमारी गुरुङ पत्रकारिता पुरस्कारबाट आश गुरुङ र तमु पत्रकारिता पुरस्कारबाट आनन्द गुरुङलाई प्रदान गरियो । पुरस्कारको राशी १० हजार नगद र सम्मानपत्र रहेको छ ।
संघका पूर्वअध्यक्ष डण्ड गुरुङको संयोजकत्वमा रहेको छनौट समितिको सिफारिसमा पुरस्कार प्रदान गरिएको हो । संघका अध्यक्ष रविन गुरुङका अनुसार हरेक वर्ष पुरस्कृत हुनेमा एकजना गैरगुरुङ पत्रकार छनौट गर्ने गरिएको छ ।






