लन्डन । पूर्वब्रिटिस आर्मी तथा विश्वप्रसिद्ध नेपाली पर्वतारोही निर्मल पुर्जाको पाकिस्तानस्थित ब्रड पिकमा गएको हिमपहिरोमा परी निधन भएको पुष्टि भएको छ ।
उद्धार टोलीले उनको शव फेला पारेपछि शनिबार निधन पुष्टि भएको हो । उनी नेतृत्व गरिरहेको आरोही टोली बिहीबार हिमपहिरोमा परेको थियो । घटनामा अन्य केही आरोहीको पनि मृत्यु भएको छ भने केहीको खोजी तथा उद्धार कार्य जारी छ । म्याग्दीको धौलागिरि क्षेत्रमा जन्मिएका पुर्जा चितवनमा हुर्किएका हुन् । पर्वतारोहणभन्दा पहिले उनी ब्रिटिस गोर्खा सेनामा थिए । १८ वर्षको उमेरमा सन् २००३ मा गोर्खा सेनामा प्रवेश गरेका उनले १६ वर्षको सैनिक जीवनमा ६ वर्ष गोर्खा र १० वर्ष बेलायतको विशेष फौज एसबीएस (स्पेसल बोट सर्भिस) मा सेवा गरेका थिए ।
सैनिक जीवनपछि पर्वतारोहणमा प्रवेश गरेका उनले छोटो समयमै विश्व पर्वतारोहण क्षेत्रमा असाधारण उपलब्धि हासिल गरे । विभिन्न कीर्तिमानी आरोहण तथा उच्च हिमाली उद्धार अभियानमार्फत उनले नेपाललाई अन्तर्राष्ट्रियस्तरमा नयाँ उचाइमा पुर्याएका थिए ।






