नुवाकोट । पञ्चकन्या जनकल्याण युवा समाजद्वारा सञ्चालित जनकल्याण सामुदायिक पाठशालाका विद्यार्थीलाई सहयोग गरिएको छ ।
लायन्स क्लब अफ मिड टाउन काठमाण्डू मिड टाउनका पदाधिकारीले शुक्रबार पञ्चकन्या गाउँपालिका ३ घलेगाउँ स्थित विद्यालयमै पुगेर न्यानो कपडा वितरण गरेका थिए । ५८ विद्यार्थीलाई लायन्स क्लब अफ मिड टाउन काठमाडौंका अध्यक्ष पृथ्वीराज अर्याल र पूर्वअध्यक्ष एवं न्यू मालश्री इंग्लिस स्कुलका संस्थापक प्रिन्सिपल महेश पाण्डेले एक/एक थान स्वीटर वितरण गरेका हुन् ।
सहयोग हस्तान्तरण कार्यक्रममा जनकल्याण विद्यालयका प्रधानाध्यापक दिलबहादुर (डिबी) क्षेत्री, पञ्चकन्या जनकल्याण युवा समाजका कार्यवाहक अध्यक्ष टीकाराम तामाङ, कोषाध्यक्ष रामहरि भण्डारी, विद्यालयका शिक्षिकाहरु निर्मला पराजुली, मञ्जु विष्ट, सुशीला खतिवडा, कविता खितवडा, नवीना थापा र केही अभिभावकको समेत उपस्थिति थियो ।
कार्यक्रममा बोल्दै लायन्सका अध्यक्ष अर्यालले आफूहरुले क्लबको बैठकमा संकलन गरिएको चिया खर्च कटाएर सानो सहयोग गरिएको बताए । उनले भौतिक पूर्वाधारबिनै गुणस्तरीय शिक्षा प्रदानका लागि जनकल्याण युवा समाज र शिक्षकहरुले खेलेको भूमिका प्रशंसनीय रहेको भन्दै भवन निर्माणमा सहयोगका लागि पहल गरिने बताए । उनले भने, ‘स्कुल भन्न नै लाज मर्दो रहेछ । तर तपाईहरुको पहललाई राम्रो मान्नुपर्छ । यसलाई भवनसहित व्यवस्थित पार्ने पहलकदमी हामी गर्ने नै छौं ।’
प्रिन्सिपल क्षेत्रीले सहयोगी लायन्स क्लब र सहयोग ल्याउन पहल गर्ने युवा समाजलाई धन्यवाद दिएका थिए ।










