काठमाडौं । नेविसंघले वाइडबडी जहाज खरिद भ्रष्टाचार प्रकरणका दोषीलाई कारबाहीको माग गर्दै आइतबार यहाँ विरोध प्रदर्शन गरेको छ । वाल्मीकि विद्यापीठबाट वाइडबडीको पुत्ला लिएर प्रदर्शनीमार्गमा निस्किएका विद्यार्थीहरुलाई प्रहरीले हस्तक्षेप गरेको थियो । त्यसक्रममा विद्यार्थी नेताहरु जीवन सुवेदी, मंगोल गुरुङ र नवीन खड्का घाइते भए ।
झण्डै आधा घण्टासम्म प्रहरी र प्रदर्शनकारीबीच तनाव सिर्जना भएको थियो । आन्दोलनका संयोजक दुजाङ शेर्पा नेतृत्वमा सुरु भएको प्रदर्शनमाथि हस्तक्षेप र तनावपछि विद्यार्थी नेताहरुले प्रदर्शनीमार्गस्थित रत्न राज्यलक्ष्मी क्याम्पस बाहिर कोणसभा गरेका थिए । सभामा संयोजक शेर्पाले सरकारले जनताको करबाट किनेको वाइडबडीमा भ्रष्टाचार भएको भन्दै तत्काल दोषीलाई कारबाही गर्न माग गरे । सरकारले भ्रष्टाचारीलाई जोगाए आन्दोलनलाई सशक्त बनाउने चेतावनी दिए ।
वायु सेवा निगमको वाइडबडी जहाज किन्दा ४ अर्ब ३५ करोड भ्रष्टाचार भएको ठहर संसदीय उपसमितिले गरिसकेको छ ।






