यस्तो छ मिश्रको ‘राजनीतिक प्रेमपत्र’

SHARE:

काठमाडौँ । विवेकशील साझा पार्टीका संयोजक रवीन्द्र मिश्रले पार्टी विभाजनको भोलिपल्ट एक भावुक ‘राजनीतिक प्रेमपत्र’ लेखेका छन् ।

शुक्रबार उज्वल बहादुर थापा नेतृत्वमा १६ जना केन्द्रीय सदस्यले विवेकशील साझा फुटाएर नयाँ पार्टी दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिएका थिए । मिश्रले सामाजिक सञ्जालमा अरूले गरिदिएको बखानको भरमा प्रभावित भएर एक अर्कालाई नबुझी पार्टी एकीकरण गर्दा अहिले विभाजन हुन पुगेको बताएका छन् ।

पत्र

“देश बनाउन देशभन्दा ठूलो मुट चाहिन्छ”

हामीबीच राजनीतिक प्रेम विवाह भएको थियो। तर हामीले अरूले गरिदिएको बखानको भरमा प्रभावित भएर एक-अर्कालाई राम्ररी नचिनिकनै विवाह गरेछौं। विवाह लामो समय टिक्न सकेन। तर यो बीचमा हामीले एकअर्काबाट धेरै सिक्यौं।

खासगरी गत आम निर्वाचनपछिको एक वर्षमा पार्टीको केन्द्रीय समितिमा विद्यमान ‘अत्यन्तै प्रतिकूलता’का बीच पनि हामीले ठूलै उपलव्धि हासिल गर्यौं। आफूलाई राष्ट्रिय राजनीतिको केन्द्रमा लेरायौं। सञ्चार माध्यमका कयौं बहसहरू हाम्रो प्रतिनिधित्वबिना अपुरो देखिन थाले। राजनीतिक बहसहरूमा अबको विकल्प हामी नैं हौं भन्ने निष्कर्षहरु निकालिन थाले। देशभरी संगठनहरु विस्तार हुन थाले।

हामीले ‘कल्याणकारी लोकतन्त्र’को दर्शनलाई आम सर्वसाधारणसम्म पुर्यायौं, शिक्षा र स्वास्थ मूलरूपमा राज्यको दायित्व हो भन्ने धारणालाई स्थापित गर्यौं। सुसंस्कृत र मूल्यमान्यतायुक्त पार्टी नबनि देश बन्दैन भन्ने विश्वास जगायौं। आम सर्वसाधारणले हामीलाई पत्याए र साथ पनि दिए।

तर लक्ष्यमा समानता भएरमात्र नपुग्ने रहेछ। लक्ष्यमा पुग्ने विचार र व्यवहारमा पनि समानता चाहिने रहेछ। दूर्भाग्यवश, लक्ष्य प्राप्त गर्ने हाम्रा वैचारिक चक्र र व्यवहारमा यति धेरै अन्तर रहेछन् कि हामीले जतिसुकै प्रयास गर्दा पनि ती एकवद्ध हुने संभावनै रहेनछ। त्यसैले तपाईंहरू अनायासै घर छोडेर जानुभयो।

सामाजिकरुपमा असल र भद्र देखिने हामीहरू समेत गलत निर्देशकहरुका कारण राजनीतिक मञ्चमा फरक पात्र बन्न सक्दा रहेछौं भन्ने अनुभूति भएको छ। हामी छुट्टीएको देखेर यहाँ रमाउनेहरु धेरै छन्। मन दुखाउनेहरु अझ धेरै छन्। हामी सबैलाई थाहा छ, हामीबीच अभियानकेन्द्रीत समूह मात्र बन्ने की राष्ट्रिय राजनीतिमा सुसंस्कृत नेतृत्वदायी भूमिका निर्वाह गरेर देश रूपान्तरण गर्ने पार्टी बनाउने भन्नेमा मतभेद थियो। त्यो मतभेद छलफलबाट टुङ्गिन नसकिने तहको थिएन। तर तपाईंहरू जानुभयो र गएदेखि नै आरोपै आरोप लगाउनुभयो।

मलाई ती पीडादायी आरोपहरूको भन्दा पनि हाम्रो सामूहिक लक्ष्य र त्यसमा पुग्नसक्ने आघातका बारे चिन्ता छ। हाम्रै जीवनकालमा यो देशको रूपान्तरण नहेरी मर्नु पर्ला भन्ने चिन्ता छ। पुष ३० गतेका लागि तय गरिएको हाम्रो भेटमा आत्मै पखालेर मनका पीडा पोखुँला भन्ने र दिनढाडै व्यक्तिगतरूमा मेरो र संगठनात्मकरूपमा पार्टीको ढाडमा हानिएको छुरीले पारेको घाउमा मल्हम लगाउँला भन्ने सोच थियो। तर अलि ढिलोसम्म पर्खिएछु, तपाईंहरू थाहै नदिइ हिँडि हाल्नुभयो।

अब एकपल्ट भेटेर प्रेम र भ्रमका कुरा गर्ने मन छ। लक्ष्य बोकेरमात्र नहुने रहेछ, लक्ष्यमा पुग्ने शैलि र चरित्रका बारे गफ गर्ने मन छ। जीवन धेरै बाँकी छ, यात्रा लामो छ। तर देश रूपान्तरणको गन्तव्य भने मैले बदलिँदो परिवेशका कारण झन, झन छोटो देख्न थालेको छु। त्यो नजिकै देखिन थालेको गन्तव्यलाई म विगार्ने पक्षमा छैन। सिँगो देश बनाउन साऽऽऽनो मुटु लिएर हुन्न। देश बनाउन देशभन्दा ठूलो मुट चाहिन्छ। सँगसँगै इमानदारी, क्षमता, समूहमा काम गर्ने ढंग पनि चाहिन्छ। धेरै कुरा चाहिन्छ।

दुख छ तर कुनै आग्रह, पुर्वाग्रह, ईर्ष्या, द्वेष छैन। कहिल्यै नआवोस् पनि। दुखहरूचाहिँ कहिलेकाहिँ अभिव्यक्त हुनेछन्। त्यसमा अन्यथा नसम्झिदिनुहोला। तपाईंहरूले हालैका दिनहरुमा व्यक्त गरेका दुखलाई पनि मैले अन्यथा लिएको छैन।

छिटै बसेर चिया खाउँला। मिलेमा लामो समयदेखि जाने भनेर नगएको ओम आध्या रिसोर्ट जाउँला। के थाहा पुनर्मिलन भई पो हाल्छ कि। घाम भर्खर उदाएको अवस्था हो, बादल लाग्दैमा त्यसलाई अस्ताएको भन्न मिल्दैन। अन्यथा, हामीमा समयले लेराउने सुझबुझसँगै बाटो फेरी एकै ठाउँमा मिसिएछ भने सँगै यात्रा गरूँला। तपाईंहरूलाई नयाँ यात्राका लागि धेरैधेरै शुभकामना! सबैको जय होस्, नेपालको जय होस्!

रवीन्द्र मिश्र
संयोजक, विवेकशील साझा पार्टी

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!