मगर समुदायले भव्य रुपमा मनाए माघे सङ्क्रान्ति

SHARE:

काठमाडौँ । मुलुकका विभिन्न भागमा स्थायी घर भई काठमाडौंमा बसोबास गर्दै आएका मगर समुदायले आफ्नो राष्ट्रिय महान् चाड माघे सङ्क्रान्ति भव्यरुपमा मनाएका छन् । नेपाल मगर सङ्घद्वारा माघे सङ्क्रान्तिका उपलक्ष्यमा मंगलबार टुँडिखेलमा आयोजित शुभकामना आदान–प्रदान तथा सांस्कृतिक कार्यक्रममा ठूलो सङ्ख्यामा मगर समुदायको सहभागिता रह्यो । मगर समुदायले आफ्ना छोरी–चेलीको पूजा गरी यथाशक्य दक्षिणाका साथ आशीर्वाद दिने चाडका रुपमा माघे सङ्क्रान्ति रहिआएको छ ।

कार्यक्रममा छोरी–चेलीको पूजाका साथै उक्त समुदायको प्रसिद्ध नृत्य हुर्रा, कौरा, मारुनी, भ्याउरे, टप्पा र सालैज्यू नृत्यसहितको गीत–सङ्गीत प्रस्तुत गरिएको थियो । भाङग्रा र घलेक पहिरिएका युवायुवतीका विभिन्न समूहले नाचगान गरेर हर्षका साथ माघे सङ्क्रान्ति मनाएका थिए । सो अवसरमा मगर मुदायको प्रसिद्ध खेल धनुषबाण पनि खेलिएको थियो । उक्त समुदायले माघ महीनामा तरुल, सकरखण्ड, गिठ्ठा, भ्याकुर, खिचडीलगायत परिकार खाने गर्दछन् । सो अवसरमा सरकारका मन्त्रीहरुले नेपालको एकीकरण र मुलुकमा राजनीतिक परिवर्तनका लागि भएका जनआन्दोलनमा जस्तै विकास र समृद्धिको अभियानमा सहयोग पुर्‍याउन मगर समुदायलाई आह्वान गरे ।

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले संस्कृति, बहुलता र विविधता एकता तथा सद्भावको आधार बनाएर विकास र समृद्धिका लागि अघि बढ्नु आजको आवश्यकता रहेको बताउनुभयो । उहाँले भन्नुभयो, “नेपाल भौगोलिक, जातीय र संस्कृति विविधताको सङ्गमस्थल हो, यो हाम्रो ठूलो सम्पत्ति, यसको संरक्षण गर्नु हामी सबैको कर्तव्य हो ।” महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री थममाया थापाले माघे सङ्क्रान्ति मगर समुदायको मात्र नभई सबै नेपालीको सांस्कृतिक पर्वका रुपमा नेपालभर मनाइने गरिएको बताउनुभयो । खानेपानीमन्त्री विना मगरले छोरी–चेली पुजिने माघे सङ्क्रान्ति पर्व भनाइ रहँदा हाम्रै मुलुकका छोरी–चेली असुरक्षित हुने परिस्थितिको अन्त्य गर्नुपर्नेमा जोड दिए ।

सो अवसरमा नेपाल मगर सङ्घका अध्यक्ष नवीन रोक्का मगर, सांसद कमला रोक्का लगायतले मगर समुदायले अब आफ्नो पहिचान र अधिकारको आन्दोलनसँग विकास र समृद्धिको अभियानलाई जोडेर अघि बढ्न आवश्यक रहेको धारणा व्यक्त गरे । नेपालको मेचीदेखि महाकाली तथा तराईदेखि हिमालसम्म बसोबास रहेको मगर समुदाय जनसङ्ख्याका हिसाबले तेस्रो ठूलो जाति हो । सरकारी आँकडामा मगर समुदायको जनसङ्ख्या १८ लाखको हाराहारी रहेको देखाए पनि उक्त समुदायले आफ्नो जनसङ्ख्या ३० लाख रहेको दाबी गर्दै आएको छ ।

यस्तै काठमाडौं उपत्यकामा रहेका थारु समुदायले माघी पर्व मनाएका छन् । उनीहरुले चुच्चेपाटीमा माघी मनाएका हुन् ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!