हरेक दिन सरकार एक कदम अघि बढेको छ : प्रधानमन्त्री

SHARE:

काठमाडौँ प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकको आर्थिक, सामाजिक रुपान्तरण गर्दै समृद्धि हासिल गर्न वर्तमान सरकार हरेक दिन एक कदम अघि बढेको बताएका छन् ।

नेपाली काँग्रेस परित्याग गरी नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रवेश गरेका पूर्वसांसद तीर्थराज भूसाललाई शनिबार पार्टीमा स्वागत गर्दै उनले सरकार हरेक दिन नयाँनयाँ काम गर्दै अघि बढेको दाबी गरे । प्रधानमन्त्री ओलीले भने, “मुलुकले नयाँनयाँ उपलब्धि हासिल गरेको छ । विकास निर्माणका कामले तीव्रता पाएको छ, भौतिक संरचना धमाधम बन्न थालेका छन् ।”

देश र जनताको पक्षमा निष्ठापूर्वक अघि बढ्न आग्रह गर्दै उनले मुलुकलाई छिट्टै समृद्ध बनाउनु आफ्नो पार्टीको सङ्कल्प भएको बताए । सरकारले अग्रगामी नीति लिएको दोहोर्‍याउँदै प्रधानमन्त्री ओलीले भने, “ती परिणामले देखाएका छन्, झुठ्ठा कुरा गर्नेका मुख थाक्छन्, लेख्नेका कलम सुक्छन, उपलब्धि थप बलियो बनेर आउँछ ।”

नेपाल सबैभन्दा तीव्र आर्थिक वृद्धिदर भएको मुलुकका रुपमा देखिन लागेकामा अचम्म नमान्न अनुरोध गर्दै प्रधानमन्त्रीले सरकार तीव्र आर्थिक विकास गर्दै सन् २०३० भित्र दिगो विकास लक्ष्य हासिल गर्ने उद्देश्यका साथ अघि बढेको बताए । उनले भने, “नेपाली जनताको प्रतिव्यक्ति आयमा बढोत्तरी आएको छ । ८५० डलर प्राप्त गर्ने नागरिकले अब एक हजार डलर पाउन थालेका छन् । हामी आँकडामा खेल्ने होइन, परिणाम दिने गरी अघि बढेका छौँ । नेकपा आँकडामा परिवर्तन गर्ने पार्टी हो ।”

वर्तमान सरकार गठन भएको एक वर्षको अवधिमा कानून निर्माण तथा संरचनाको व्यवस्थापन गर्दा विकास निर्माणमा केही सुस्तता देखिएको स्वीकार गर्दै प्रधानमन्त्री ओलीले अब मुलुकको विकासले गति लिने दाबी गरे । उनले भने, “विकास र समृद्धिले तीव्र गति लिन्छ, असाधारण तबरबाट मुलुकको आर्थिक तथा सामाजिक विकास गरिन्छ । सरकार सुशासन र विकासमा केन्द्रित भएको छ ।” पार्टी एकता भएको लामो समय बितिसक्दासमेत यसले पूर्णता नपाएको यथार्थ दुवै अध्यक्षले महसुस गरेको बताउँदै उहाँले अबको केही दिनभित्रै पार्टी एकताले अन्तिम रुप पाउने विश्वास व्यक्त गरे ।

नेकपाप्रति जनता, राजनीतिक कार्यकर्ता र सचेत नागरिकको विश्वास बढेको दाबी गर्दै प्रधानमन्त्री ओलीले भने, “नेकपाले देशलाई समृद्धिमा लैजान्छ, हामी कसैका विरुद्ध एक शब्द पनि बोल्दैनौँ, झुट बोल्दैनौँ, आरोप पनि लगाउँदैनौ र सही कुरा आवश्यक मात्रामा भन्छौँ । त्यसैले त नेकपाप्रति विश्वास बढ्दो छ ।” नवप्रवेशीलाई पार्टीभित्र उचित जिम्मेवारी दिइने उल्लेख गर्दै उहाँले नयाँ सदस्य थपले नेकपा झन् एकताबद्ध भएको बताए ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!