नेपालमै नदेखेको संस्कार, संस्कृति बेलायतमा देखेँ

SHARE:

अमृता लिम्बू, गायिका
तीन महिने बेलायत बसाइपछि चर्चित गायिका अमृता लिम्बू २० तारिख आइतबार (माघ ६ गते २०७५) नेपाल फर्किएकी छन् । युकेको सांगीतिक भ्रमणका क्रममा उनले झन्डै दुई दर्जन स्टेज कार्यक्रममा सहभागी भइन् । मुख्यगरी पुर्वेली र फास्ट बिटका गीतहरू गाउनमा रुचाउने अमृताले बेलायत बसाइ निक्कै रमाइलो र आगामी दिनका लागि ऊर्जा मिल्ने प्रतिक्रिया दिएकी छन् । प्रस्तुत छ, उनै पूर्वेली गायिका अमृता लिम्बुसँग बेलायत भ्रमणको अनुभव र सांगीतिक पेरीफेरीमा रहेर एभरेष्ट टाइम्सका लागि जानु काम्बाङ्ग लिम्बुले गरेको कुराकानी ।
बेलायत भ्रमणको मुख्य उद्देश्य के थियो ?
मेरो बेलायत आउनुको मुख्य उद्देश्य त सांगीतिक कार्यक्रम नै हो । त्यही बीचमा नेपालीहरूको बाक्लो बसोबास रहेको युकेमा धेरै आफन्त भेटेर पारिवारिक बातावरणलाई पनि नजिकबाट महसुस गर्ने मौका पाएँ ।
३ महिनाको बसाईमा कतिवटा प्रोग्राम भ्याउनु भो ?
मैले जम्माजम्मी २०÷२२ वटा प्रोग्रामहरू गर्न भ्याएँ ।
बेलायतवासी नेपालीहरूबाट के कस्तो माया र प्रतिक्रिया पाउनुभो ?
एकदम धेरै माया र मानसम्मान पाएँ । त्यसै पनि बेलायतसंग मेरो पुरानै सांगीतिक नाता थियो । म नआए पनि यहाँ बस्नुहुने गीतकार दादा, दिदीहरूसँग सहकार्य गरिरहेकी थिएँ । त्यसैले पनि मलाई यहाँ रहेर काम गर्न, बस्नेलगायतमा सहज भयो ।
अमृता लिम्बुको सांगीतिक करियरमा यो यात्राले केही आर्थिक सहयोग गर्यो‍ भन्दा हुन्छ ?
इँटा थप्ने काम त पक्कै गरेको छ । होइन भन्दा त अन्याय हुनेछ । ३ महिनाको बसाईमा मलाई धेरैभन्दा धेरै संघसंस्था र आफन्तले समेट्नु भएको छ । कसैले पनि खाली हात फर्काउनु भएको छैन । त्यसले गर्दा पनि मैले होइन भन्दा उहाँहरूको पाप लाग्नेछ ।
अब नेपाल फर्केपछि अमृता लिम्बूको अरु नयाँ गीतहरू सुन्न पाउनेछन् त श्रोताले कि ! फेरि अन्य देश जाने योजना छ ?
मैले यो क्षेत्रलाई रोजिसकेपछि काम त गरिनै रहनुपर्छ । गर्छु पनि । यत्तिकै बस्ने कुरो त आउँदैन । क्यानाडा जाने कुरो भइरहेको छ । अन्य देशबाट पनि सांगीतिक टुरको अफर आएमा म जाने नै छु ।
तपाईंलाई बेलायत कस्तो लाग्यो, यहाँको जनजीवनलाई कसरी हेर्नु हुन्छ ?
मलाई बेलायत एकदम राम्रो लाग्यो । यहाँ कोही धनी, गरिब देखिंदैन र छुट्याउने चलन पनि छैन रहेछ । अर्को कुरो यहाँको हावापानी, रहनसहन पनि राम्रो । यहाँ बसोबास गर्ने नेपालीहरूको मन, सहयोगी भावना, देशप्रतिको अथाह प्रेम र आफ्नो मौलिक भाषा अनि संस्कार संस्कृतिलाई बेस्सरी नै माया गर्ने पाटो झन् गज्जब लाग्यो । म ३ महिना बस्दा धेरै कुरो सिक्ने मौका पाएँ । मैले नेपालमै नदेखेको संस्कार संस्कृतिहरू यहाँ प्रस्तुत भएको देखें ।
अविवाहित हुनुहुन्छ, उत्तिकै राम्री पनि । बिहे गरेर यही बस्ने प्रस्ताब आएन ?
राम्री हुनुहुन्छ त सबैले भन्नु हुन्छ । तर, म आफंैलाई भने राम्री लाग्दैलाग्दैन । बिहेको हतार त मलाई भन्दा मेरो आमा बाबा र परिवारलाई लागेको छ । सायद परिवारमा म मात्र बिहे गर्न बाँकी रहेकोले होला । मेरो भने अहिल्ये बिहे गर्ने सांच छैन । अझै केही गर्न बाँकी नै छ । फेरि मेरो क्षेत्र पनि त्यही प्रकारको प¥यो । बिहे गरी बेलायतमै बसेर म लक्ष्य चुम्न सक्दिनँ जस्तो लाग्छ । अनि बिहेपछि पनि नेपालमै बसेर मलाई काम गर्न दिने श्रीमान् पाउँदिन होला भनेर आएका प्रस्ताव पनि स्वीकारिनँ ।
अब कति वर्षपछि खान पाइन्छ त अमृता लिम्बूको विहेभोज ?
खोई अहिले नै त भन्न सकिएन किनभने केही तयार छैन । अमृता लिम्बूलाई मन पराउने त नभएका होइनन् तर अमृता लिम्बूलाई मन परेको भेट्न बाँकी नै छ । त्यसैले यो कुरोलाई अधुरै राखौं ।
नेपालमा यो क्षेत्रलाई अंगालेर बाँच्न सकिन्छ त ?
आफूले राम्रो काम गरे बाँचिन्छ । यही क्षेत्रलाई अँगाल्ने हजारौं मान्छेले गुजारा गरिरहेका छन् । अझ चल्ने कलाकारले त गाडी, बंगला आदि इत्यादि जोडेका छन् । नचल्नेले पनि छाक त टारेका छन्, दुःखसुख आफ्नै ठाउँमा हुन्छ ।
सांगीतिक यात्राको लागि कति देश पुगिसक्नु भयो ?
म हङकङ, कतार, मलेसिया, सिंगापुर, जापान, दुबई र युके गरी जम्मा ७ वटा देश पुगिसकेको छु ।
यीमध्ये कुन देश राम्रो लाग्यो ? सारै जाउँ लागेको देशहरू कुनै छन् ?
हुन त, अरु देश पनि राम्रै छन् तर ७ मध्ये एक रोज्नु परे सिंगापुर रोज्छु । मलाई सिंगापुर सबैभन्दा राम्रो । र, मलाई सारै जाउँ लागेको देशहरू अस्ट्रेलिया र स्वीट्जल्यान्ड छन् ।
कलाकारले स्टेज पर्फम गर्दा ड्रेसमा ध्यान दिनु कत्तिको जरुरी छ ?
हुन त, अहिलेको जमानामा मान्छेको लवाईखुवाईबाट जज गर्ने होइन । किनकि म चाँही अलिक फ्लेक्जिबल र ओपन खालका ड्रेस नै मन पराउँछु त्यसो भन्दैमा समाजलाई नै नपच्ने खालका त होइन । बजारमा डिजाइन भएर निस्केका लुगालाई सदुपयोग गर्न मन पराउँछु । अनि कलाकार स्टेजमा जाँदा अलिक आकर्षक देखिनु पर्छ जस्तो पनि लाग्छ ।
नेपालमा भइरहेको महिला हिंसामा केही हद्सम्म लवाईखुवाईलाई पनि दोष दिन्छन् नि, त्यसमा तपाईंको विचार या तर्क कस्तो रहन्छ ?
मलाई त मान्छेको सोच र विचारमा खोट देख्छु । मान्छे भएर स्वतन्त्र लाउन, खान पाउनु पर्छ र तेसलाई केटाहरूले नेगेटिभ्ली लिनु भएन । आपूm उत्तेजनामा आउनुअघि आफ्नै दिदीबहिनी, भाउजु, आमा सम्झिनु पर्छ । ती अरुका छोरीचेली पनि आफ्नै जस्तै हुन् । सबैभन्दा ठूलो.सुरक्षा त मान्छेको आफ्नै मन हो । मनलाई कन्ट्रोल गर्न सके अपराधबाट जोगिन्छ मान्छे । अर्को कुरो महिला हिंसाविरुद्ध अलिक कडा कानुन बनिनु पर्छ सरकार पक्षबाट नत्र महिला हिंसा रोकिन्न जस्तो लाग्छ ।
काठमान्डू बसेर यो क्षेत्रमा संघर्ष गर्न थाल्नुभएको कति भो ? सुरुका दिन र अहिलेको दिनलाई कसरी सम्झिनु हुन्छ ?
म यो क्षेत्रमा लागेको त धेरै नै भयो । सुरूका दिनहरू साँच्चिनै पीडादायी थिए । पढाई एकातिर, आफ्नो रहर र सपनाहरू अर्कोतिर । आमाबाबाको सपना थियो कान्छी छोरीले धेरै पढोस् । जागिर खाओस्, तर मेरो मन भने पढाईतिर थिएन । होस्टेलबाट भागीभागी म्युजिक सिक्न जान्थें, मोडलिङ्ग गर्थें । मैले मिस मंगोलमा भाग लिएको थाहा पाएर जेठी दिदीले गाली पनि गर्नु भो त्यसपछि त्यो क्षेत्र छाडी नै दिएँ । तर, म्युजिकलाई छाड्न सकिनँ, लुकीलुकी सिकिरहें ।
सुरुआती दिनहरूमा निक्कै गाह्रो भो संगीतकारहरूले अलिअलि कोरस गाउन दिन्थे, त्यो पनि पैसाबिना । मैले जिन्दगीमा पहिलोपल्ट गीतकार जानु कम्बाङ्ग लिम्बू दिदीको पहिलो एल्बम “अनुभव’’ को गीत “घर त मेरो ताप्लेजुङ्ग’ बोलको गीत गाएर केही पारिश्रमिक पाएकी थिएँ । त्यो बेला म यत्ति खुसी भएँ कि भन्न पनि सक्दिनँ अहिले । त्यो गीत गाएपछि मलाई अलिअलि मान्छेले चिन्न थाले किन कि त्यो गीत बीएफबीएस गोर्खा रेडियोबाट धेरै बज्यो । हुन त, त्यो भन्दा अघि पनि गीतहरू त गाएकी थिएँ तर पारिश्रमिक लिएकी थिइन ।
तपाईंलाई कस्ता खालका गीत गाउँदा बढी सन्तुष्टि मिल्छ ?
गाउन त म सबै खालका गीतहरू गाउँछु । र, गाउँदै पनि आइरहेकी छु । तर, गीतहरू चलेको हिसाबले मेरो स्वरलाई पुर्वेली गीत र फास्ट बिटका गीतहरू सुट भए जस्तो लाग्छ । मलाई सन्तुष्टि पनि तिनै गीतहरूबाट मिल्छ ।
आजभोलि धेरै रियालिटी सोहरू हुन्छन्, ती सोहरूमा भाग लिने विचार आउँछ कि आउंदैन ?
विचार त आउँछ तर त्यो भन्दा पनि हारियो भने के होला भन्ने डर बढी मनमा हाबी हुन्छ । त्यसैले आँट गरिनँ मैले ।
अन्त्यमा बेलायतबाट जाँदाजाँदै यहाँका नेपालीहरूलाई केही भन्न चाहनु हुन्छ ?
भन्नु र समेट्नु पर्ने मान्छे त धेरै हुनुहुन्छ । तर, यो हजुरले गर्नु भएको छोटो कुरोकानीमा यति लामो लिस्ट अटाउन सक्दिनँ र सम्भव पनि छैन । यत्तिमात्र भन्न चाहन्छु, मलाई युकेमा बसेर सरसहयोग गर्नुहुने सम्पूर्ण आफन्त, दाजुभाइ, दिदीबहिनी, आमाबुवा, संघ संस्था, जिल्लावासी, पत्रकार, रेडियोकर्मी तथा मलाई अमृता लिम्बू भनेर चिन्नुहुने फलोवर साथीलगायत तपाईं र यो चर्चित पत्रिका एभरेस्ट टाइम्सका सम्पूर्णलाई धेरै धेरै धन्यवाद दिनु चाहन्छु ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!