गौमाया गुरुङको समाजसेवाप्रतिको मोह दिनानुदिन बढ्दो छ । सन् २०११ मा मिस युके नेपालको उपाधि जितेपछि सामाजिक कार्यमा अलि कस्सिएकी गौमाया बेलायतमा आर्जन गरेको ज्ञान, सीप र अनुभवलाई एकत्रित गरी नेपाल र नेपाली युवा जमात्मा बाँड्ने अभियानमा छिन् अचेल । उनको समूहले बेलायतका ५० भन्दा बढी विश्वविद्यालयमा अध्ययनरत, जागिरे र नयाँपुस्तालाई गाइड गराउने उद्देश्यले मर्जिङ नेप्सस Merging NepSocs ग्रुप खडा गरेका छन् । सो समू हले प्रारम्भिक चरणमा सबै नेपाली युवायुवतीलाई एकताबद्ध गर्न टक शो, अन्तरक्रियालगायत कार्यक्रम गरिरहेको गौमाया बताउँछिन् । नेप्सस ग्रुपको उपाध्यक्षको जिम्मेवारीमा रहेकी गौमायाको नेतृत्वमा गत डिसेम्बर २०१८ मा गोरखाको शिरानचोक गाउँपालिकाको चिप्लेटीमा तीन दिन निःशुल्क आँखा शिविर पनि सञ्चालन भएको थियो । जहाँ साढे चार सय बढीले सेवा लिए । उनै आँखा रोगका विशेषज्ञ तथा पूर्वमिस युके नेपाल गौमाया सामाजिक कार्यकै लागि सुर्खेत, जाजरकोटलगायत दुर्गम जिल्लासमेत पुगिसकेकी छन् । बेलायतमा च्यारिटी आयोजना, सामाजिक सञ्जाल अनलाइनबाट सहयोग बटुल्दै नेपाली माटो र नेपालीको पीडामा मलम लगाउन तल्लिन समाजसेवी गौमाया गुरुङसँग सामाजिक कार्य र आगामी योजनाबारे एभरेष्ट टाइम्सका लागि पूर्ण गुरुङले गरेको कुराकानी ।
नेपालमा निःशुल्क आँखा शिविर कति दिन सञ्चालन गर्नुभयो ?
गत डिसेम्बर १६ मा हामी नेपाल गएका थियौं । १७ डिसेम्बरदेखि १९ सम्म गोरखाको शिरानचोक गाउँपालिका चिप्लेटीमा आँखा शिविर सञ्चालन गर्यौं ।
को को नेपाल जानुभएको थियो ?
आँखा विशेषज्ञ भावना लिम्बु, म (गौमाया गुरुङ), सेन गुरुङ, टेल हवार्ड, दिवस गुरुङ नेपाल गएका थियौं । सेन चस्मासम्बन्धी जानकारी हुनुहुन्थ्यो । अरु दुई जना सहयोग गर्न जानुभएको हो ।
गोरखा जिल्ला नै रोज्नुको कारण ?
पहिला सुर्खेत, जाजरकोट, एभरेस्ट बेसक्याम्पजस्ता टाढा टाढा गएकोले आफ्नो गाउँमा पनि केही गरौं भन्ने फिल भएर हो । गाउँमा गर्दा अलि सजिलो पनि । हामीलाई शिविर सञ्चालनका लागि खाना, बस्न त्यहाँको आमा समूहले गरिदियो । अरु पनि धेरै नै सपोर्ट भयो । हाम्रो पाल्दुङगाउँ हो । भूकम्पपछि ठूलोबा, ठूलीआमाहरु मात्रै हुनुहुन्छ त्यहाँ । सबै देश बाहिरबाट जाँदाखेरी गाउँ नै जाँदैनन् । आफू कहाँबाट आएको हो, आफ्नो रुटहरु बिर्सिनु हुँदैन । हामीले केही गर्नुपर्छ आफ्नो गाउँमा । त्यहीं नबसे पनि आफूले सिकेका कुरा लैजानुपर्छ । हाम्रो इतिहास त्यहाँबाट सुरु भयो । गोरखा यसै पनि ऐतिहासिक ठाउँ । भूइँचालोले पनि प्रभावित पारेको ठाउँ । भूकम्पले भत्काएको स्कुल लाहुरेहरुले बनाइदिए । साथसाथै कम्युनिटी सेन्टर पनि बनाइदिए । हामी त्यही कम्युनिटी सेन्टरमा गएका हौं आइ क्याम्प गर्न ।
शिविरबाट कतिले सेवा लिए ?
हामीले शिविरमार्फत ४ सय ५६ जनालाई सेवा दियौं । २ सय ९३ वटा त चस्मा नै वितरण गर्यौं ।
उनीहरु कुन उमेर समूहका थिए ?
५० कटेका वृद्धवृद्धाहरु धेरै थिए शिविरमा आउने । संख्यात्मक हिसाबमा ३ सय हाराहारीमा । ५६ जना बालबालिकाले सेवा लिए भने अन्य फरक उमेर समूहका थिए ।
शिविरपछि कस्तो प्रतिक्रिया पाउनुभयो ?
चस्मा पाइसकेपछि गाउँका वृद्धवृद्धाहरुले अब चामल र भूस छुट्याउन सक्ने भयौं । लुगा सिलाउन सकिने भयौं भनेर खुसी व्यक्त गर्नुभयो । त्यो खुसी पैसाले किन्न मिल्दैन । उहाँहरुले हामीलाई धन्यवाद पनि दिनुभयो । यस्ता कामहरु धेरैले गर्न सके लाइफमा राम्रो हुन्छ जस्तो लाग्छ ।
कति खर्च भयो शिविर सञ्चालनमा ?
करिब सात हजार पाउन्ड खर्च भयो । त्यसबाहेक हामीले पर्सनल्ली पनि खर्च गर्यौं ।
शिविर चलाउने रकम कसरी जुटाउनुभयो ?
स्पोन्सर प्राप्त भएको थियो । धेरै अनलाइनबाट, पाटीहरु, शुभचिन्तकहरु, युवाहरुले दिनुभएको थियो । त्यस्तै गोरखा थलाजुंग समाज युके, चिप्लेटी समाज, गोरखा जिल्ला गुरुङ समाज युके, गोर्खाली समाज युके, एनआरएनए युकेलगायत जिल्लावासीलाई अप्रोच गरेका थियौं । अन्तर्राष्ट्रिय नेपाली समाज (आईएनएस) युके, सय पाउन्ड, देउराली ट्राभलले पाँच सय पाउन्ड, एनआरएनए युकेले पनि सहयोग गर्यो । पर्सनल्ली सीता गुरुङले चस्मा डोनेट गर्नुभयो, प्राप्ति गुरुङ, खुसीमान गुरुङले पनि सहयोग गर्नुभएको थियो । यसैगरी बेलायतका केही च्यारिटी संस्थाहरुसँग पनि सहयोग लियौं ।
ट्राभल, टिकेट सबै पर्सनल्ली गर्यौं पनि । गोरखामा खाना, बस्न स्थानीय आमा समूहले व्यवस्था गरेको थियो ।
शिविर सञ्चालनका लागि स्थानीय सरकारबाट कस्तो सहयोग पाउनुभयो ?
शिरानचोक गाउँपालिकाबाट परमिसन लिएर गरेका हौं । सुरक्षाकर्मीको सहभागिता थियो । समाजसेवी सुनिता गुरुङ खटिदिनुभयो । सुकु गुरुङ नेपालकी संयोजक हुनुहुन्थ्यो । भोज गुरुङलगायत सबैले सहयोग गर्नुभयो । हामीले शिविरमा झन्डै सय जना मोतीविन्दुका बिरामी पहिचान गरेका थियौं । तीमध्ये ५०/६० जनालाई छिट्टै शल्यक्रिया चाहिने अवस्था थियो । उनीहरुका आँखा अप्रेसन आगामी अप्रिलमा हुँदैछ भन्ने नेपालबाट सुनिता गुरुङले जानकारी गराउनुभएको छ ।
नेपालमा आँखा रोगीको अवस्था कस्तो छ ?
नेपाल जानुअघि रिसर्च गर्न खोजेकी थिएँ तर भ्याइएन । हरेक दुई वर्षमा आँखा जाँच गर्नुपर्छ भन्ने चेतना दुर्गमका नेपालीमा रहेन छ । ७० वर्षका वृद्ध पहिलोचोटी आँखा जाँचमा आउनुभएको थियो । गोरखा त्यत्ति विकट होइन । त्यसलाई हेर्न हो भने नेपालमा आँखा रोगीको समस्या ठूलो छ ।
हामीले शिविर लगेर सबै ठाउँमा दोहोर्याइतेहर्याइ जान अप्ठेरो छ । गएपनि धेरै वर्ष लाग्न सक्छ । त्यसैले दीर्घकालकालसम्म सेवा दिन कोही आँखा रोगबारे अध्ययन गरिरहेका र तालिम लिनेका लागि सहयोग पु¥याउन सकिन्छ कि भन्ने सोचिरहेका छौं । पछिल्लो मिटिङमा त्यो सोच्यौं, त्यसो गर्न सकिएमा सस्टेनेबल होला ।
आँखाको समस्या आउन नदिन खासमा के के कुरामा ध्यान दिनुपर्छ ?
मुख्यगरी आँखा निरन्तर जाँच गर्ने, भोजनमा ध्यान दिने, घाममा जाँदा सनग्लास लगाउने गर्नुपर्छ । मोतीविन्द, जलविन्दुजस्ता रोगहरु उमेर बढ्दै जाँदा आउने हुन्छ । त्यसका लागि हरेक दुई वर्षमा आँखा जाँच्ने । जसबाट दुई वर्ष अगाडि आफ्नो आँखा कस्तो थियो र अहिले कस्तो छ भन्ने जानकारी पाउँछौं । गाउँबाट काठमाडौं आउँदा आँखा जचाउने, जचाउने बेला चस्मा चाहिन्छ कि चाहिँदैन भन्नेमात्र नभई आँखामा अरु डाइबेटिजहरु पनि देखिन सक्छ । त्यसले आँखालाई असर पार्छ । त्यस्तै उच्च रक्तचापले आँखालाई असर पार्न सक्छ । जसरी हामीले प्रेसर, सुगर नाप्छौं त्यसरी नै आँखा पनि नियमित जाँच्नु पर्छ ।
सन्तुलित आहारमा पनि ध्यान दिन सके आँखा स्वस्थ राख्न मद्दत पुग्छ । हरियो सागसब्जीे, गाँजर खाने गर्नुपर्छ ।
घाममा सनग्लास लाएर हिँड्दा नेपालमा कस्तो नक्कल गरेको भन्ने कुरा काट्ने चलन अझै छ । घामको किरण, धूलोमैलाले मोतीविन्दु हुने, आँखाको सेतो भागमा मासु पलाउने हुन्छ । त्यसकारण बाहिर हिँड्दा सनग्लास लाउनु भन्छु ।
बालबच्चाहरुलाई पनि अक्षर चिन्न थालेपछि ३, ४ वर्षमा आँखा जचाउँदा राम्रो हुन्छ । बेलैमा जाँच गर्न सक्यो र रोग पहिचान भएमा डेढो आँखा हुनेको पनि उपचार गर्न सकिन्छ ।

आफ्नै करिअर बनाउनु पर्ने बेला समाजसेवा गर्ने प्रेरणा कसरी मिल्यो ?
समाजसेवा भन्नेबित्तिकै हामीले गर्न सक्छौं ? यो गर्नलाई एकदमै खुंखार हुनुपर्छ, खत्रै हुनुपर्छ भन्ने खालको विचार छ । नेपालमा अझ पुरुषप्रधान समाज रहेकोले महिला भएर कहाँ गएर के गरेको भन्ने सोच्छन् । हामी युके आएर लक्की भयौ भनौं, विश्वविद्यालयमा पढेर, काम गरेर । रानीकै देश भन्छ बेलायतलाई । त्यही भएर हामीलाई एकदमै स्वतन्त्र छ । आफ्नो खुट्टामा आफैं उभिने । आफूले के गर्न सक्ने भन्ने ? त्यो अवसर पाएपछि हामीले आफूभन्दा पछाडि रहेका दिदीबहिनी र दाजुभाइहरुलाई बिर्सिनु हुन्न भन्ने हेतुले समाजसेवामा लागेको हुँ ।
बेलायत आएर हाम्रो लाइफ राम्रो भएको छ । कमाईको हिसाबले वा स्वतन्त्रताको हिसाबले यहाँ धेरै नै खुकुलो छ । यो पाउँदापाउँदै हामीले के फरक ग¥यौं त ? भन्ने हुन्छ । कहाँ जन्मिन्छौं, कहाँ हुर्किन्छौं भन्ने त हाम्रो हातमा हुँदैन । भाग्यले बेलायत आइपुगियो । यो अवसरलाई कसरी युज गरिरहेका छौं भन्ने हो । अर्को कुरा, नेपालमा गएर सबैले पैसै दिनुपर्छ भन्ने छैन । समय, ज्ञान, सीप दिन सक्नु पनि ठूलो कुरा हुन्छ । कोही कोहीले आइटी सिकिरहेका छन्, कोहीले भाषा सिकिरहेका छन् । आफूले जानेको तालिम दिन सक्नुपर्छ ।
मिस युके नेपाल–२०११ को उपाधि जितेपछिका सात/आठ वर्षको अवधिमा के के सामाजिक काम गर्नुभयो ?
मिस युके नेपालको उपाधि जित्नेबित्तिकै चाइल्ड रिच नेपालको लागि पैसा रेइज गर्न एभरेस्ट बेस क्याम्पमा गएका थियौं । त्यसपछि च्यारिटी इभेन्ट गरेर सुर्खेतको कोपिला भ्याली स्कुलमा काउन्सेलिङ सेन्टर बनाएका थियौं । त्यहाँका बच्चाहरु प्यान्टहरु नभएका व्याकग्राउन्डको भएकाले काउन्सेलिङ सेन्टर चाहिने देखेर पैसा उठाएका थियौं ।
त्यसपछि म जाजरकोट गएकी थिएँ । शिक्षा नेपाल संस्थाबाट हजार वटा किताब लगेका थियौं । बच्चाहरुलाई कोर्स बुकमात्रै नभएर कथा, कविता, निबन्धका किताबहरु दिँदा इन्पिरेसन हुन्छ । किताब पढ्ने कल्चर बनाइदिने भन्ने उद्देश्यले स्थानीय हनुमान स्कुलमा किताब सेक्सन बनायौं ।
सन् २००९ बाट चाहिँ माइती नेपाललाई बेलायतमा फन्ड रेइज गरेर पैसा पठाउने गरेका छौं । त्यहाँका दिदीहरुलाई टे«निङका लागि सामग्री पनि दियौं । उद्धार केन्द्रका लागि पनि पैसा दियौं । त्यसपछि भिजन एड ओभरसिज च्यारिटीबाट म घानामा स्टुडेन्टहरुलाई तालिम दिन गएँ ।
त्यसैगरी जाम्बिया, इथोपियामा आफैले टिमको नेतृत्व गरेर गएकी थिएँ । त्यसपछि मलाई अलि कन्फिडेन्ट आयो, नेपालमा पनि गर्न सकिन्छ भन्ने ।
एनआरएए युकेको युथ कमिटीमा पनि हुनुहन्छ । युवाहरुको अगुवाई गरिरहँदा बेलायतमा रहेका नेपाली युवाहरुको च्यारिटीतर्फको चाहना कस्तो छ ?
अहिले हामीले मर्जिङ नेप्सस संस्था खोलेका छौं । युकेमा भएका ५० भन्दा बढी विश्वविद्यालयमा नेपाली विद्यार्थी पढिराखेका छन् । सबै युनिभर्सिटीमा सबै जनाले नेपाली समाज खोलीराखेका छन्, । मर्जिङ नेप्सस संस्थाले सबैलाई एउटै मालामा राख्ने काम गर्छ । केही समयअगाडि टक शो गरेको थियो । अबको भाइबहिनीलाई युनिभर्सिटीमा पढ्दा कसरी गाइड गर्न सकिन्छ । हामीले युनिभर्सिटी पढ्दा कोही पनि थिएन । ए–लेभल पढ्दा के हुन्छ, ए–लेभलमा कुन श्रेणी ल्याउनुपर्छ । कुन कुन युनीको कस्तो विशेषता छन् । यो पढेपछि के हुन्छ जस्ता कामहरुलाई हामीले मेन्टरसीप जस्तो टिम बनाउन खोजेका छौं ।
नवस्थापित नेप्सस संस्थामा फरक फरक विभाग छन् । नेपालमा गएर हाम्रा स्किलहरु कसरी हस्तान्तरण गर्न सकिन्छ भन्ने सोचाइ छ । म सो मर्जिङ नेप्ससको उपाध्यक्ष छु । यो अभियान सुरु भएको एक वर्ष बढी भइसक्यो । अब सेकेन्ड फेब्रुअरी शनिबार युनी पढेर काम गरिरहेकालाई एकताबद्ध गर्ने उद्देश्यले इभेन्ट गर्दैछौं सोएस युनिभर्सिटी लन्डनमा । सो कार्यक्रममा प्रोफेसनलहरु सहभागी हुनेछन् ।
हाम्रा अगुवाहरुले चाडपर्वहरुमा कल्चर इभेन्ट गरेर एकताबद्ध पारिरहेका छन् नेपालीलाई । हामीचाहिँ आफूले सिकेका ज्ञान, स्किलहरु एक ठाउँमा ल्याएर नेपालमा के गर्न सक्छौं र यहाँ बेलायतका भाइबहिनीहरुलाई कसरी गाइड गर्न सक्छौं भन्ने हेतुले मर्जिङ नेप्सस सुरु ग¥यांै । यो काम गर्न सकिन्छ भन्ने विश्वास छ । यसमा पनि भाइहरुलाई एकदम इन्टेस्ट रहेको मैले पाएको छु ।
अन्त्यमा केही भन्नु छ ?
हाम्रो अभियानलाई प्रचार गरी सहयोग गर्ने एभरेस्ट टाइम्स, अनलाइनबाट डोनेट गर्ने युथ, अंकल, आन्टीहरुलाई धेरै धेरै धन्यवाद । विभिन्न संघसंस्था र नेपालका सहयोगी सबैलाई धन्यवाद । अहिलेसम्म एकदमै सपोर्ट पाइरहेका छौं, अब पनि साथ पाउँछु भन्नेमा आशावादी छु ।






