काठमाडौं । गोविन्द केसीको जीवन रक्षाको माग गर्दै प्रमुख विपक्षी नेपाली कांग्रेसले संसद अवरुद्ध गरेको छ । बिहीबारको प्रतिनिधिसभा बैठक सुरु भएलगतै कांग्रेस सांसदहरु उभिएपछि सभामुख कृष्णबहादुर महराले मिनेन्द्र रिजालले बोलेका थिए । लगतै सांसदहरु उठेका छन् ।

सांसद् रिजालले गोविन्द केसीको जीवन रक्षाका लागि उनले उठाएका माग सम्बोधन हुनुपर्ने बताए । उनले संसदीय सर्वोच्चता कायम नभए सदन चल्न नदिने बताए ।
आफ्ना नेता गिरिजाप्रसाद कोइराला र सुशील कोइरालाको नाममा रहेका अस्पतालहरुलाई केन्द्र सरकार मातहत ल्याउनु पर्ने भन्दै यसअघी पटक पटक सदनमा कांग्रेसले अवरोध गरेको थियो । तर सोमबार मन्त्रिपरिषद् बैठकले कांग्रेसको माग सम्बोधन गरे पनि उसले कांग्रेसको माग लगायत लिएर सदन चल्न दिएन ।
संसद् अवरोध कायमै राख्ने काङ्ग्रेसको निर्णय
काङ्ग्रेसले संसद् र सरकारका केही काम कारवाहीलाई लिएर सङ्घीय संसद्मा गर्दै आएको अवरोध कायमै राख्ने जनाएको छ ।
काङ्ग्रेस संसदीय दलको बिहीबार बसेको बैठकले विधेयक पारित गर्दा संसद्मा शक्ति प्रयोग गरिएको, चिकित्सा शिक्षा विधेयक सदनमा छलफल नगरी पारित प्रक्रिया अघि बढाइएको, अनशनरत डा गोविन्द केसीका माग सम्बोधनमा कुनै सुनुवाइ नभएको भन्दै विरोध कायमै राख्ने निष्कर्ष निकालेको हो ।
बैठकबारे जानकारी गराउँदै पार्टीका प्रमुख सचेतक बालकृष्ण खाँणले सदन सञ्चालनमा संसदीय मर्यादा उल्लङ्घन भएको र राष्ट्रिय मुद्दा सुनुवाइमा सरकार गम्भीर नभएको भन्दै सदन सञ्चालन गर्न काङ्ग्रेसले सहयोग गर्न नसक्ने बताए ।
काङ्ग्रेसले आफूले उठाउँदै आएका माग सम्बोधन नभएको भन्दै प्रतिनिधिसभाको बैठक अवरुद्ध गरेको छ भने आजै बस्ने राष्ट्रियसभाको बैठक पनि अवरोध गर्ने जनाएको छ ।






