काठमाडौँ : प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुक डिजिटल नेपाल, इ गभर्नेन्स र पेपरलेस टेक्नोलोजीमा अगाडि बढिसकेको बताएका छन् । नेपाल टेलिभिजनको ३४ औँ वार्षिकोत्सवका अवसरमा सो टेलिभिजनको चारै वटा च्यानलको हाइ डिफिनेसन (एचडी) रुपान्तरणको शुभारम्म गर्दै प्रधानमन्त्री ओलीले अब कृषि, उद्योग, व्यापार, पर्यटन, पूर्वाधार, उर्जा, शिक्षा र स्वास्थ्यलगायत क्षेत्रमा नेपाललाई आधुनिकीकरणमा प्रवेश गराइने पनि बताए । उनले नेपाली र स्वीट्जरल्याण्डका वैज्ञानिक मिलेर सुपर कम्प्युटर बनिसकेको र अरु पनि बन्ने जानकारी दिए ।
नेपाल टेलिभिजन स्थापना हुँदा आफू पञ्चायतविरोधी आन्दोलनका क्रममा पोखरा कारागारमा रहेको स्मरण गर्दै उनले टेलिभिजनको शुरुआतसँगै नेपालमा परिवर्तन र जागरणको युग आरम्भ भएको उल्लेख गरे । सो अवसरमा सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले अन्य टेलिभिजनभन्दा नेपाल टेलिभिजनमा केही फरक दायित्व भएको उल्लेख गर्दै यो सरकारी संस्था नभई राष्ट्रको टेलिभिजन, जनताको टेलिभिजन हो भने ।
मन्त्री बाँस्कोटाले अबको छ महीनापछि सार्वजनिक प्रसारण संस्था (पिएसबी) मा जानुपर्ने आग्रह गरे । रेडियो नेपाल र नेपाल टेलिभिजनलाई गाभेर पिएसबीमा लान कानूनी प्रबन्ध हुन बाँकी छ ।
टेलिभिजनका अध्यक्ष डा महेन्द्र विष्टले टेलिभिजनको समाचार कक्षलाई स्वतन्त्र बनाई व्यावसायिक बनाउन राष्ट्रको आकाङ्क्षालाई सम्बोधन गर्ने र जनताकेन्द्रित मार्गदर्शन दिइएको बताए ।






