एटा संवाददाता
पोखरा । कास्कीको माछापुच्छ«े गाउँपालिका ७ धम्पुस गाउँ र बेलायतको ब्रेकन सहरबीच मितेरी सम्बन्ध कायम गरिएको छ ।
आइतबार एक भव्य समारोहकाबीच गण्डकी प्रदेशका आर्थिक योजना तथा मामिलामन्त्री किरण गुरुङ र बेलायतको ब्रेकन सहरका मेयर मनी ट्रेलरले दिप प्रज्वलन गरी संयुक्त रुपमा उद्घाटन गरे ।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि गण्डकी प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री किरण गुरुङले धम्पुस आउँदा आफ्नो मनमा सधैं सृजनात्मक भावना उर्लेर आउने भन्दै धम्पुसले सधै कवि बन्न प्रेरित गरिरहको बताए । साथै देशहरुको पनि देश बेलायतको ब्रेकन सहरसँग धम्पुसले मितेरी सम्बन्ध गाँस्न पाउनु भनेको धम्पुसको लागिमात्रै नभई पुरै नेपालीको लागि आर्थिक, साँस्कृतिक र ऐतिहासिक दृष्टिकोणले महत्वपूर्ण रहेको उनको धारणा थियो । समृद्ध बेलायतको इतिहास रच्नमा नेपालीहरुले पनि धेरै रगत पसिना बगाएको भन्दै मन्त्री गुरुङले अहिलेको आधुनिक बेलायतको निर्माण गर्न नेपालीहरुको ठूलो योगदान रहेको बताए ।
अब नेपाल र नेपालीहरुले सधै अरुको भरमात्रै पर्ने र अरुसँग माग्ने भन्दा आफूले पनि दिन सक्ने हैसियत बनाउनुपर्ने उनको भनाइ थियो । मान्छेको सबैभन्दा ठूलो कुरा मन र भावना भएको भन्दै सुरुमा आफ्नो मन र भावनाहरु बाँडेर यसको सुरुआत गर्नुपर्ने उनले बताए । यसका अलावा हाम्रो अमूल्य संस्कृतिहरु बाँड्नका लागि नेपालीहरुले अग्रसरता देखाउनुपर्ने उनको सुझाव थियो । सम्बन्धहरु गाँस्नु र सुरुआत गर्नुमात्रै महत्वपूर्ण नहुने भन्दै यसको दिगोपन र दुईपक्षीय हितका विषयमा सबै चिन्तित भएर लाग्नुपर्ने मन्त्री गुरुङले बताए ।
यस्तै बेलायतको ब्रेकन सहरका मेयर मनि ट्रेलरले धम्पुससँग मितेरी सम्बन्ध कायम गर्न पाउँदा आफूहरुलाई खुसी लागेको भन्दै बे्रकन र धम्पुसको सम्बन्ध दिगो बनाउनु र आवश्यक सहयोग गर्न आफूहरु सधैं तयार रहने बताए ।
कार्यक्रममा स्वागत मन्तव्य व्यक्त गर्दै माछापुच्छ्रे गाउँपालिका वडा नं. ७ का वडाध्यक्ष समबहादुर गुरुङले मितेरी सम्बन्धबाट दुई मुलुकको सांस्कृतिक र ऐतिहासिक पक्षको आदानप्रदान हुने भन्दै धम्पुसले ब्रेकनबाट धेरै कुराको आसा गरेको बताए ।
माछापुच्छ्रे गाउँपालिका अध्यक्ष कर्णबहादुर गुरुङको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रम सञ्चालन तमू प्ये ल्हु संघ यूकेका अध्यक्ष एवं धम्पुसका स्थानीय तथा मितेरी सम्बन्ध कायम गर्न विशेष भूमिका निर्वाह खेल्ने मेजर खुशीमान गुरुङ एमभिओले गरेका थिए ।
कार्यक्रममा धम्पुसका स्थानीय बासिन्दा, माछापुच्छे« गाउँपालिकाका सम्पूर्ण वडाध्यक्षहरु, विभिन्न राजनीतिक दलका प्रतिनिधि र पत्रकारहरुको व्यापक सहभागिता रहेको थियो ।
कार्यक्रममा उपस्थित भएका बे्रकन सहरका सदस्यहरुलाई माछापुच्छे« गाउँपालिकाको तर्फबाट मायाको चिनो प्रदान गरिएको थियो भने धम्पुस लालीगुराँस युवा क्लब र पृथ्वीनारायण मा.वि. धम्पुसका विद्यार्थीहरुको तर्फबाट विभिन्न सांस्कृतिक कार्यक्रमहरु प्रस्तुत गरिएको थियो ।
यस्तै ब्रेकनको तर्फबाट धम्पुसका विभिन्न विद्यालयहरुलाई शैक्षिक र खेलकुदका सामग्रीहरु प्रदान गरिएको थियो ।






