पोखरा । पोखरा महानगरपालिका ८, नागढुङ्गास्थित आमा मिलन बचत तथा ऋण सहकारी संस्था लि.को नवनिर्मित भवनको आइतबार एक समारोहबीच उद्घाटन गरिएको छ ।
गरिवी निवारण तथा सहकारी मन्त्री पद्माकुमारी अर्यालले सहकारी भवनको उद्घाटन गरेकी हुन् । कार्यक्रममा बोल्दै मन्त्री अर्यालले आमा मिलन सहकारीले छोटो समयमा अलग पहिचान बनाउन सफल रहेको बताइन् । आफू र अरुलाई समेत बचाउने माध्यम सहकारी रहेको दाबी गरिन् । सहकारीहरु समृद्धिको संवाहक रहेको चर्चा गर्दै सहकारी संस्थामार्फत गरिबी हटाउन र रोजगारी सिर्जना गर्न सकिने औंल्याए । सहकारीहरु नमुना बन्नुपर्नेमा जोड दिँदै मन्त्री अर्यालले मानिसहरुलाई उत्पादनसँग जोड्न आग्रह गरिन् । उनले सहकारीको कर वृद्धि कम गर्ने सरकारको नीति उल्लेख गरिन् । सहकारी नियमावली सहकारीमैत्री बन्ने दाबी गरिन् ।
गण्डकी प्रदेश सांसद प्रभा कोइराला आफूहरु सहकारी आन्दोलनमै रहेको चर्चा गरिन् । गण्डकी प्रदेशमा सहकारी विधेयकलाई परिमार्जन गरिने कोइरालाको भनाइ थियो । कोइरालाले पैसा लिने र दिनेमात्र नभई सहकारीले उद्यमशीलता र उत्पादनमा जोड दिनुपर्ने बताइन् । सांसद कोइरालाले गण्डकी प्रदेशमा सहकारीको धेरै संभावना रहेको उल्लेख गरिन् ।
कार्यक्रममा संस्थाकी संस्थापक अध्यक्ष इन्दिरा पौडेल, पूर्वअध्यक्षहरु पृथ्वीराज शर्मा तिमिल्सिना र गोविन्द तुलाचन, पूर्वकोषाध्यक्ष स्व.क्या. ऐरबहादुर गुरुङकी धर्मपत्नी धनकुमारी गुरुङ, पत्रकार नारायण शाही जग्गादाता सर्वजित अधिकारी, सूर्र्यप्रसाद बराल, एडीसी विल्डर्स प्रालिका गणेश सापकोटा, सहकारी सन्देश सम्पादक त्रिभुवन पौडेल, अमरनाथ शर्मालाई दोसल्ला ओढाएर सम्मानपत्रद्वारा सम्मान गरिएको थियो । मन्त्री अर्यालले उनीहरुलाई सम्मान गरेकी हुन् । कार्यक्रममा संस्थाद्धारा प्रकाशित ‘सहकारी सन्देश’को विमोचन गरेका हुन् । संस्थाका प्रबन्ध निर्देशक ध्रुवराज पौडेलले संस्थाको प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए । साथै कार्यक्रममा सरकारलाई पनि सहकारी मैत्री नियम कानून बनाउन आफूले भूमिका खेल्ने बताइन् ।
सहकारीहरुले पनि आपूm नियम परीधीभित्र रहेर समाज र जनतालाई सेवा दिन तत्पर रहन पनि आग्रह गरिन् । सो अवसरमा मन्त्री अर्यालले सहकारीले जनताको घरदैलोसम्म पुगेर काम गर्न सक्ने प्रमाणित भइसकेकाले अबका दिनमा अझ सशक्त भएर अगाडि बढ्न आह्वान गरिन् । साथै निकट भविष्यमा नै देशमा बन्द अवस्थामा रहेका ठूला कारखानाहरु पनि संचालनमा आउन लागेको कुरा जानकारी दिइन् ।
संस्थाका अध्यक्ष कृष्णबहादुर थापाको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष निर्मला घिमिरेले स्वागत र प्रबन्ध निर्देशक ध्रुवराज पौडेलले कार्यक्रम सञ्चालन गरेका थिए ।






