सरकारले सिन्को भाँचेन, खबरदारी गर्न सडक तताउँछौं : राजाराम श्रेष्ठ

SHARE:

राजाराम श्रेष्ठ, नेता, राष्ट्रिय प्रजातन्त्र पार्टी (संयुक्त)
विभिन्न समूहमा विभक्त ‘राष्ट्रवादी शक्ति’ भनिनेहरु पुनर्मिलनको बाटोमा लागेका छन् । यसै सिलसिलामा अघिल्लो शनिबार काठमाडौंमा एक समारोहबीच पशुपतिशमशेर जबरा नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक) र डा.प्रकाशचन्द्र लोहनीले अगुवाई गरेको एकीकृत राष्ट्रिय प्रजातन्त्र (राष्ट्रवादी)बीच एकीकरण घोषणा भयो । गत निर्वाचनको लज्जाजनक हारबाट पाठ सिक्दै एकतापछिको राष्ट्रिय प्रजातन्त्र पार्टी (संयुक्त) लाई आगामी निर्वाचनमा पहिलो वा दोस्रो शक्ति बनाउने सो दलका नेताहरुले दाबी गरेका छन् । यो एकतालाई टुट्न नदिने र विचार मिल्ने अरु दलसँग पनि एकताको तयारी रहेको तत्कालीन राप्रपा (प्रजातान्त्रिक)का महामन्त्री राजाराम श्रेष्ठ बताउँछन् । राप्रपाहरुको पुनर्मिलन राष्ट्रिय एकताको भावना बलियो बनाउँदै मुलुकलाई समृद्धशाली बनाउने अठोट रहेको काठमाडौं महानगरपालिकाका पूर्वमेयरसमेत रहेका श्रेष्ठको दाबी छ । प्रस्तुत छ, नवगठित राप्रपा (संयुक्त) का नेता राजाराम श्रेष्ठसँग पार्टी एकता, आगामी कार्यक्रम र सरकारप्रतिको दृष्टिकोणबारे एभरेस्ट टाइम्सले गरेको कुराकानी :


यतिबेला राप्रपाहरुको पुनर्मिलन किन ?
राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक) र एकीकृत राष्ट्रिय प्रजातन्त्र (राष्ट्रवादी) बीचको एकता केबल दुई वटा पार्टीलाई एकीकृत गराउने मात्र होइन, मुलुकमा कमजोर बन्दै गइरहेको राष्ट्रिय एकताको भावनालाई बलियो बनाउँदै मुलुकलाई समृद्धशाली बनाउने अठोटका साथ दुई वटा राष्ट्रवादी पार्टीबीच एकता भएको हो । राष्ट्रवादी शक्ति कमजोर हुँदा, विभाजित अवस्थामा रहँदा मुलुकको राष्ट्रिय एकताको भावना, राष्ट्रियता, जनता पनि कमजोर भएर गइराखेको यथार्थ हो । यसलाई पुनर्जागृत गर्न दुई राप्रपाको मिलनले मद्दत पु¥याउने छ ।
नेतृत्व, केन्द्रीय कमिटी निर्माण कसरी गर्ने समझादारी छ ?
साधनमा अल्मलिएर बस्ने हो भने एकता सम्भव थिएन । उद्देश्यलाई प्राथमिकता दिएर दुई पार्टीबीच एकता गरेका हौं । धेरै कुराहरु मिलिसकेको छ, जुन पार्टी एकता आधारपत्रमा पनि उल्लेख छ । नेतृत्वको सवालमा महाधिवेशन नहुञ्जेलसम्मका लागि दुई अध्यक्ष रहने, त्यसमा निर्देशन समिति गठन हुन्छ । त्यसभन्दा पछाडि दुवै पार्टीका शीर्ष तहका नेताहरु रहेको उच्चस्तरीय कार्यसम्पादन समिति हुन्छ । यसको सदस्य संख्या ३० जना जति हुनेछ । त्यसपछि केन्द्रीय कार्यसमिति हुनेछ भने पदाधिकारी त छँदै छ । विभागहरुको व्यवस्था पनि हुन्छ । केन्द्रीय समितिको संख्या टुंगिसकेको छैन । एक महिनाभित्र दुईवटै पार्टीका विधानको आधारमा अन्तरिम विधान तयार पारेर त्यसका आधारमा विभिन्न समितिको सदस्य संख्या निर्धारण हुने छ ।
यस्तै दुई पार्टी र समान विचारधारा भएका अन्य व्यक्तिहरु केही दिनमा प्रवेश गर्ने कुरा छ । सबैलाई मध्यनजर राखेर सहमतिको आधारमा पदाधिकारीको व्यवस्था पनि हुन्छ ।
एकता घोषणाअघि पदाधिकारी, केन्द्रीय कमिटीको संख्याबारे प्रारम्भिक छलफल भएन र ?
ठ्याक्कै यत्ति नै भनिहाल्ने अवस्था छैन । दुवै पार्टीमा योगदान पु¥याएका, अन्य पार्टीहरुबाट प्रवेश गर्नेहरुलाई मिलाएर लानुपर्ने अवस्था छ ।
राप्रपाहरु जुटेर फुटिहाल्ने इतिहास छ नि ?
विगतको फुटको इतिहास दुर्भाग्यपूर्ण छ । अब विगतका गल्ती, कमजोरीलाई पाठको रुपमा स्वीकार्दै कुनै पनि हालतमा पार्टी विभाजन नगर्ने, विभाजन हुनै नसक्ने, विभाजन गर्नै नमिल्ने प्रतिबद्धताका साथ दुई पार्टी एकीकृत भएर राष्ट्रिय प्रजातन्त्र पार्टी (संयुक्त) गठन भएको छ ।
देशको बिग्रँदो परिस्थितिलाई मध्यनजर राखी गुम्दै गएको राष्ट्रिय पहिचानहरुलाई पुनस्र्थापित गर्ने र विश्व मानचित्रमा नेपाललाई स्वाधीन, सबल र स्वतन्त्र राष्ट्रको रुपमा परिचित गराउने संकल्पसहितको एकता भएकोले यो पार्टीमा विगतजस्तो टुटफुटको स्थिति आउँदैन ।
मुलुकको समृद्धिका लागि नवगठित राप्रपा (संयुक्त) को तत्कालीन कार्ययोजना के छ ?
मुलुक समृद्ध बनाउने नारामा मात्र सीमित भएर हुँदैन, व्यवहारमै उतार्नुपर्छ । अहिले राजनीतिक आचरण एकथोक, आवरण अर्कै, मन्तव्य एकथोक, गन्तव्य अर्कै, भनाइ र गराइमा एकरुपता छैन, त्यसले मुलुकलाई यो दुर्दशामा पु¥याएको हो । मुलुकलाई साँच्चिकै समृद्धशाली बनाउनका निमित्त चानचुने प्रयासबाट सम्भव छैन, त्यसको निम्ति विशेष योजनाहरु ल्याउनुपर्ने छ ।
मुलुकलाई समृद्ध बनाउनका लागि मूलरुपमा उत्पादन वृद्धि हो । उत्पादन वृद्धिका लागि रोजगारीको अवसर सिर्जना गुर्नप¥यो र उत्पादित सामग्रीहरुलाई बजारको व्यवस्था, निर्यातको व्यवस्था गर्नुप¥यो । हामीकहाँ त ठीक उल्टो भइराखेको छ । श्रम निर्यात, वस्तु आयात गरिराखेका छौं । यसरी मुलुक समृद्धितर्फ जाँदैन । व्यापार घाटा वर्षेनी बढाउँदै गएर मुलुक समृद्ध हुँदैन ।
उद्योगीलाई प्रोत्साहन, कृषि उत्पादनहरु बढाउनुपर्ने हुन्छ र औद्योगिकीकरणलाई वैज्ञानिकरण गराउँदै जाने, ठोस योजनाहरु निर्माण गर्ने हो भने देशको समृद्धि टाढा छैन । तर, कोरा नारा, सिद्धान्तले, जनतालाई उत्तेजित पारेर समृद्धि हासिल गर्न सकिँदैन । त्यसको निमित्त सबै राजनीतिक दलहरु गम्भीर हुनु आवश्यक छ ।
कुनै राजनीतिक दलको एक्लो प्रयासबाट मुलुकमा विद्यमान जटिलताहरुको समाधान गर्न सकिन्छ भन्ने कल्पनै गर्न सकिँदैन । सबै राजनीतिक दलहरुले मुलुक निर्माणका लागि साझा अभियान लिएर जानु पर्दछ । त्यो अभियानपट्टी राप्रपा (संयुक्त) विशेष कार्ययोजना बनाएर निकट भविष्यमै जनतासमक्ष आउँदैछ ।
मुलुक बनाउने सवालमा वर्तमान सरकारले अगाडि बढाएको योजनालाई सहयोग गर्न तयार हुनुहुन्छ ?
मुलुक समृद्धशाली बनाउने सवालमा, राष्ट्रिय एकता, अखण्डतालाई बलियो बनाउने सवालमा हामी अत्यन्तै सकारात्मक र रचनात्मक ढंगले जुनसुकै सरकारलाई सहयोग गर्न तयार छौं । तर, वर्तमान सरकारबाट लोकतान्त्रिक मूल्यमान्यतालाई कमजोर बनाउने, राष्ट्रिय अखण्डतामाथि आँच आउने, मुलुकलाई समृद्धशाली दिशातर्फ भन्दा पनि अधोगतितिर लिएर जाने जुन गतिविधि भइराखेको छ, यसको समर्थन राप्रपा (संयुक्त)ले गर्न सक्दैन । बरु हामी सरकारलाई खबरदारी गर्नका निमित्त सडक तताउने कार्यक्रम बनाउँदैछौं । सरकारले ल्याएका राम्रो नीतिलाई रचनात्मक सहयोग, सकारात्मक सोच राख्दै गलत रवैयाप्रति हामी कडा ढंगबाट जनतामा जाँदैछौं ।
प्रधानमन्त्री केपी ओलीले त वर्तमान सरकारको काम देखेर संसार चकित छ भनिरहनुभएको छ, तपाईहरु किन नेगेटिभ ?
जे कुरा देखेको हो, यथार्थ भन्नुपर्छ । यत्रो दुई तिहाई मत प्राप्त सरकारले जुन प्रकारको चमत्कार देखाउनुपर्ने हो, सामान्य काम पनि गर्न सकेन । टाढाको कुरामा नजाउ, काठमाडौं उपत्यकाभित्रको खाल्डो पुर्ने र धूलो नियन्त्रण गर्न सक्ने अवस्था भएन । कामपट्टी ध्यानै गएन, गफ बर्ता गरे । काम गरेरै देखाउनुपर्छ, काम भएन ।
देश बनाउने जिम्मेवारी सबै राजनीतिक दल, सबै नागरिक समाज, संघसंस्था सबैको हो । तर, गफलाई साथ दिएर देश बन्दैन । अनुभूत हुने खालको विकास भएन । अहिलेको विकास भनेको नेपाली जनताले गफमा खोजिराखेको छैनन् । आफ्नो आँखाले खुद देख्न सक्ने, खुट्टाले टेकेर चाल पाउने, हातले छामेर चाल पाउने विकास खोजिराखेका छन् । त्यस्तो विकास कहाँ भएको छ खै ? गफमा, भाषणमा, नारामा मात्रै विकास भएको छ । नारा, भाषणमा भएको विकासलाई राप्रपा (संयुक्त) ले साथ दिन सक्दैन । साँच्चिकै विकासको अभियान सञ्चालन गर्ने हो भने हामी तन, मन, धनले साथ दिन सधैं नै तप्पर छौं ।
संविधानले कल्पना नगरेको राजसंस्था, हिन्दू राष्ट्रजस्ता एजेन्डै लिएर राप्रपा (संयुक्त) अर्को निर्वाचनमा पहिलो वा दोस्रो शक्ति बन्न सम्भव होला ?
संविधान मान्दैमान्दैनौं भन्ने अवस्था छैन । संविधानसँग सहकार्य गरेर जाने हो । मुलुकको ऐन, कानुन सबै नागरिकले पालना गर्नुपर्छ । यो संविधानको परिधिभित्र रहेर हाम्रा असहमतिहरुलाई पुनस्र्थापना गर्ने, जनताका आडभरोषामा । हत्याहिंसाको बाटोबाट होइन । हामी अहिंसावादी, शान्तिप्रिय छौं । वैधानिक तवरबाट नै संविधानमा हाम्रो एजेन्डाहरु उल्लेख गराउने अभियानमा छौं ।
यो संविधान परिवर्तनशील हो, विधि प्रक्रिया पूरा गरी परिमार्जन गर्न सक्तछ । त्यसकारण संविधानका राम्रा कुराहरु राख्न लाउने र नराम्रा झिक्न लगाउने अभियानमा हुन्छौं ।
यी एजेन्डा गत निर्वाचनहरुमा पनि ‘टेस्ट’ भइसके नि ?
एजेन्डाका कारण राप्रपाले पराजयको सामना गर्नुपरेको विल्कुलै होइन । त्यो टुटफुट, विभाजनको कारण हो । विभाजन भएको पार्टीले एजेन्डा स्थापित गर्छु भन्नु अलिकति अस्वाभाविक कुरा भयो । त्यसमाथि पनि गएको निर्वाचनमा सबै राप्रपाले तीन÷चार सिटमा भन्दा बढी उठाएकै थिएन उम्मेदवार । १६५ को प्रतिनिधिसभा सदस्यमा चारजना उम्मेदवार उठाएर एजेन्डा स्थापित गर्छु भन्नु गलत थियो । जनताले पत्याएनन् । चारको चारै जितेको भए पनि एजेन्डा स्थापित हुन सक्ने अवस्था थिएन । त्यो एजेन्डा त जनताको मनमा भएको, राष्ट्रको आवश्यकता, समयको माग हो । यो एजेन्डाकै भरमा राप्रपा (संयुक्त) लाई देशको अग्रणी शक्तिको रुपमा स्थापित गराउन सक्छौं भन्नेमा हामी विश्वस्त छौं ।
हिन्दूराष्ट्र घोषणा, राजसंस्था पुनस्र्थापनाको एजेन्डा छोड्नु हुन्न ?
यसलाई हामीले वैचारिक आधारस्तम्भका रुपमा राखेका छौं । यो सँगै मानवअधिकार, असंलग्न परराष्ट्रनीति आदि–इत्यादि पनि हाम्रो वैचारिक आधारस्तम्भको रुपमा रहेको छ । यत्ति नै हाम्रो पार्टीको साध्य होइन नि ! यो साधन हो । सर्वोपरी साध्य त मुलुकलाई स्वाधीन, समृद्ध बनाउने हो । मुलुकलाई स्थिर बनाउने हो । यसैका लागि राजसंस्थासहितको प्रजातन्त्र, सनातन धर्मसांपेक्ष हिन्दूराष्ट्र, मानव अधिकार, असंलग्न परराष्ट्र नीति, खुला अर्थनीतिलगायत वैचारिक आधारस्तम्भ हुन् ।
राजसंस्था पुनस्र्थापित भयो भने राप्रपा (संयुक्त) को प्रयोजन समाप्त भयो त ? त्यत्तिका लागि हामीले पार्टी गठन गरेका हौं त, होइन । मुलुकलाई समृद्ध, सबल, स्वतन्त्र बनाउँदै स्थायित्व ल्याउने हो ।
राजसंस्था पुनस्र्थापनाबिना सम्भव छैन त मुलुकको समृद्धि ?
देशको जुन प्रकारको सामाजिक, राजनीतिक भौगोलिक, ऐतिहासिक परिवेश छ, त्यो परिवेशमा सबै जातजातिलाई, सबै भाषाभाषीलाई एक ठाउँमा ल्याउन वा उनीहरुलाई एकताबद्ध तुल्याउनका निमित्त, चुनावी राजनीतिभन्दा फरक संस्थाको आवश्यकता छ । त्यो संस्थाको पूर्ति राजसंस्थाबाट हुन सक्छ, परम्परागत मूल्यमान्यतामा आधारित, विश्वासबाट चलेर आएको संस्था । भोटको राजनीतिले सबै जातजातिलाई एकताबद्ध पारेर राख्न सक्दैन । त्यहाँ राजनीतिक रंग, आग्रह–पूर्वाग्रह आइनैहाल्छ । हाम्रो देशको परिस्थितिमा भोटको राजनीतिभन्दा फरक संस्था आवश्यक छ । त्यो आवश्यकता पूर्ति गर्ने राजसंस्था रह्यो भने समृद्धि हासिल गर्न सक्छौं । स्थिरता हुन्छ । नेपाली–नेपालीबीच एकताको भावना अभिवृद्धि हुन्छ ।
अहिले अभिभावकत्व दिने संस्थाको अभावमा मुलुक छिन्नभिन्न हुने अवस्थामा आइरहेको छ । विखण्डनका स्वरहरु हामीले सुन्न थालेका छौं । देशलाई टुक्र्याउनुपर्छ भनेर खुलमखुला सभा गरेर हिँड्ने अवस्था आइसकेको छ । यो राजसंस्थाको अभावमा हो ।
राजसंस्थाप्रति जनताको चाह नभएरै नयाँ व्यवस्था संघीय लोकतान्त्रिक गणतन्त्र आएको होइन र ?
विभिन्न घटनाक्रमले पुष्टि पनि गरिरहेका छन्, नेपाली जनताले आवश्यक नठानेर या यहाँका बुद्धिजीवीहरुले आवश्यक नठानेर राजसंस्थालाई मुलुकबाट पाखा लगाएको । यो बाह्य डिजाइनमा भएको भनेर राष्ट्रिय, अन्तर्राष्ट्रिय छापाहरुमा, हाम्रो प्रयोजनमा दिल्लीमा १२ बुँदे सहमति भएको हो भनेर तत्कालीन सत्तामा रहेका छिमेकी राष्ट्रका नेताहरुले विभिन्न माध्यमबाट अभिव्यक्ति दिइसकेको अवस्था हो । नेपाली जनताले गणतन्त्र चाहेर राजसंस्था फ्याँकिएको होइन ।
राजसंस्थाको अभावमा, जनता असहाय, बेसहारा, अवस्थाबाट गुज्रिरहेको छ । यसैले राजसंस्थाको आवश्यकता दिनप्रतिनिदिन सबैले महसुस गरिराखेका छन् । त्यसकै लागि हामी लागिराखेका छौं । यो केवल राप्रपाहरुका निमित्त होइन, मुलुक र मुलुकवासीका निमित्त आवश्यक छ, सम्भव छ ।
अरु कुन कुन दल, समूहसँग एकताको प्रयास भइराखेको छ ?
मुलुक जुन प्रकारको जटिलतातर्फ उन्मुख भइराखेको छ, नयाँ नयाँ समस्याहरु सिर्जना भइराखेका छन् । त्यो समस्या समाधानका निमित्त म एक्लै गर्छु भन्नु हास्यास्पद हुन्छ । दुई तिहाई बहुमत प्राप्त सरकारले त गर्न सकेन । माखो मार्न सकेन, सिन्को भाँच्न सकेन ।
शक्ति सञ्चय गर्दै जानुपर्छ । यो मुलुकलाई माया गर्ने, मुलुकवासीप्रति जिम्मेवार शक्ति बलियो बनाउँदै जानुपर्छ । त्यसको निमित्त बाहिर बसेका राष्ट्रवादी शक्तिहरुलाई पनि भित्र ल्याउने, प्रजातान्त्रिक र राष्ट्रवादी शक्तिहरु एकढिक्का भयो भने मुलुकमा विद्यमान समस्या समाधान हुन्छन् । अन्यथा एक्लो शक्तिले मुलुकमा विद्यमान समस्या समाधान गर्न कठिन छ । त्यसैले सबै शक्तिहरु एक ठाउँमा पार्न अभियानै सञ्चालन गर्नुपर्छ । त्यो सम्भावनाका ढोकाहरु एकपछि अर्को गर्दै ठूलो हुँदै आइरहेको छ ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!