कञ्चनपुर : कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–११ अमरपुरका सुरज तिरुवाको गोठमा लुकाइराखेको अवस्थामा प्रहरीले बिहीबार राति पाँच किलो ६०० ग्राम अवैध सुन बरामद गरेको छ ।

इलाका प्रहरी कार्यालय झलारीका अनुसार राति १ बजेको समयमा जिल्ला प्रहरी कार्यालय कञ्चनपुर र नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)को टोलीले छापा मारी सुन बरामद गरेको हो । प्रहरीका अनुसार गोठमा खाल्डोमुनि दुई पोकामा लुकाइछिपाइ राखेको अवस्थामा सुन बरामद भएको हो । बरामद सुन जिल्ला प्रहरी कार्यालयमा लगिएको छ ।
प्रहरी स्रोतका अनुसार सुन भारतबाट ल्याएको हुनसक्ने बताइएको छ । बिहीबार मात्रै प्रहरीले पुनरवास नगरपालिकाको दशरथबस्तीका शङ्कर विकको घरबाट १८ किलो सुन बरामद गरिएको थियो । जिल्ला प्रहरी कार्यालयले सुन र पक्राउ गरेका व्यक्तिहरुबारे पत्रकार सम्मेलन गरी विस्तृत विवरण सार्वजनिक गर्ने जनाएको छ ।
यो पनि पढौं :
कञ्चनपुरको पुनर्बास क्षेत्रबाट १८ किलो सुन बरामद






