पूर्वप्रधानमन्त्री प्रचण्डको आह्वान, ‘विकास र समृद्धिको अभियानमा एक भई अगाडि बढौँ’

SHARE:

भक्तपुर । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विकास र समृद्धिको अभियानमा सत्तापक्ष र प्रतिपक्षमा विभाजित नभई एकताका आधारमा एकजुट भएर अघि बढ्नु आवश्यक रहेको बताएका छन् ।

शनिबार भक्तपुरमा आयोजित हनुमन्ते सफाइ अभियानको ५१औँ हप्ता वाकाथुन तथा राष्ट्रिय झण्डा झण्डोत्तोलन कार्यक्रममा बोल्दै अध्यक्ष प्रचण्डले सफाइ अभियानले नयाँ सभ्यताको विकास गरेको बताए । विकास र समृद्धिको अभियानमा सबै राजनीतिक दल, वर्ग, धर्म, लिङ्ग र समुदाय एकजुट भएको सन्देश हनुमन्ते सफाइ अभियानले दिएको बताउँदै उनले नयाँ नेपाल, समृद्ध नेपाल, सुखी नेपाली बनाउने अभियानमार्फत नयाँ सभ्यताको इतिहास रच्ने सुनौलो अवसर प्राप्त भएको छ भने । देश बनाउने जिम्मेवारी सबै नागरिकको भएकाले यसमा विभाजित हुन नहुने उनको जोड थियो ।

नेपाली काङ्ग्रेसका नेता प्रकाशमान सिंहले नदीको सफाइ अभियानले नागरिकलाई स्वच्छ र सुरक्षित जीवनयापन गर्न सहयोग पुगेको बताए । उनले वातावरणमा आएको ह्रास न्यूनीकरण गर्न सरसफाइ अभियानलाई अझ प्रभावकारी रुपमा सञ्चालन गर्नुपर्नेमा जोड दिए ।

कार्यक्रममा नेकपाका नेता महेश बस्नेतले सरकारले लिएको विकास र समृद्धिको लक्ष्यलाई भक्तपुरका जनताले अभियानका रुपमा सञ्चालन गरिरहेको उल्लेख गरे ।
हनुमन्ते सफाइ अभियान १०० हप्तासम्म लैजाने बताउँदै नेता बस्नेतले अहिले हनुमन्ते करिडोर निर्माण तीव्र गतिमा भएको बताउँदै दुई वर्षभित्र हनुमन्तेलाई ढलमुक्त र सफा बनाउने प्रतिवद्धता व्यक्त गरे ।

अभियानका संयोजक एवं सूर्यविनायक नगरपालिकाका प्रमुख वासुदेव थापाले अरनिको राजमार्ग सफाइ अभियानदेखि सम्पदा, मठमन्दिर सफाइ अभियान, गाउँ टोल सफाइ अभियानसमेत सञ्चालन गर्दै आएको बताए ।

कार्यक्रममा मध्यपुरथिमि नगरपालिकाको उपप्रमुख एवं अभियानका उपसंयोजक अञ्जनादेवी मधिकर्मी, अभियन्ता रुद्र पौडेलले अभियानले ल्याएको परिवर्तनबारेमा चर्चा गरे।

शनिबार बिहान राष्ट्रिय धावक बैकुष्ठ मानन्धरको नेतृत्वमा मध्यपुर थिमिदेखि शुरु भएको वाकाथुन सल्लाघारी पुगेर समापन भएसँगै नेकपाका अध्यक्ष दाहाल र काङ्ग्रेसका नेता सिंहले सल्लाघारीमा गाडिएको नेपालको राष्ट्रिय झण्डा झण्डोत्तोलन गरेका थिए । समारोहमा राष्ट्रिय धावक मानन्धरलाई सम्मान गरिएको थियो ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!