भक्तिहाङ्ग नेम्वाङ, सामाजिक अभियन्ताभक्तिहाङ नेम्वाङ सामाजिक अभियन्ता हुन् । ब्रिटिस गोर्खा सैनिकमा १७ वर्ष सेवा गरेका नेम्वाङ सन् २००५ देखि बेलायतको फ्रेम्लीमा परिवारसहित बस्दै आएका छन् । सारताप गाउँबाट प्रारम्भिक शिक्षा लिएका नेम्वाङले धरानस्थित डिपोर्ट हाई स्कुलबाट कक्षा १० उत्तीर्ण गरेका छन् । हाल उनी किरात याक्थुङ चुम्लुङ युकेका सदस्य, नेम्वाङ समाज युकेको पूर्वअध्यक्ष तथा सल्लाहकार र क्याम्वर्ली नेपाली समाजमा आवद्ध छन् ।
बेलायतमा स्थायी बसोबास गर्न थालेपश्चात् उनले मातृभूमि नेपालका लागि गरेका सामाजिक तथा परोपकारी कामका बारेमा एभरेस्ट टाइम्सका लागि पूर्ण गुरुङले गरेको कुराकानीको संपादित अंश ।

बेलायतमा बस्न थाल्नुभएको कहिलेदेखि हो ?
सन् १९८६ सालमा ब्रिटिस गोर्खा सैनिकमा भर्ती भई करिब १७ वर्षे सेवापश्चात् सन् २००२ मा अवकाश गएँ । अवकाशपश्चात् इराकमा ६ महिना काम गरेँ । इराकमा त्यत्ति काम गर्न मन लागेन र नेपाल फर्कें । तर, आफू आर्मी व्याकग्राउन्डको भएकोले पनि नेपालमा त्यसै बस्न सकिनँ । फेरि अफगानिस्तान गएँ । जहाँ काम गरेको ४ महिना मात्र भएको थियो । भूतपूर्व गोर्खाज्हरुलाई बेलायतमा सेटलमेन्ट पाउने जानकारी पाएपछि फेरि नेपाल फर्केर सेटलमेन्टका लागि आवेदन दिइयो । र, सन् २००५ सालमा बेलायत आएँ । त्यसै सालदेखि बेलायतमै निरन्तर रुपमा बस्दै आएको छु ।
जन्मभूमिमा एम्बुलेन्स दान गर्नुभएको भन्ने सुनिन्छ, तपाईले व्यक्तिगत रुपमा कि अरुबाट पनि सहयोग लिएर ?
आफ्नो गाउँको विकासमा केही योगदान गर्नुपर्दछ भनेर काका इन्द्रहाङ्ग नेम्वाङ र मैले इन्द्रभक्ति प्रतिष्ठान स्थापना गर्यौ । मेरो काका भूतपूर्व सांसद पनि हुनुहुन्छ । सोही प्रतिष्ठानमार्फत हाम्रो फाल्गुनन्द गाउँपालिकालाई १२ लाख मूल्यबराबरको एउटा एम्बुलेन्स खरिद गरेर गत नोभेम्बर २०१८ मा दिएका हौं । जुन एम्बुलेन्समा अरु ५ जना हाम्रै दाजुभाइहरुले २५ हजार रुपैयाँको दरले सहयोग गर्नुभएको छ । त्यस्तै, अरु साथीभाइहरुले समेत सहयोग गर्नुभएको छ । सो एम्बुलेन्समा काका र मेरो धेरै रकम परेको भए तापनि व्यक्तिगत रुपमा भने खरिद गरिएको होइन । धेरै थोरै हाम्रै दाजुभाइ तथा ईष्टमित्रहरुको सहयोग छ ।
तपाईंहरुले स्थानीय विद्यालयको रंगशालाका लागि जग्गादान गर्नुभएको हो ?
स्थानीय विद्यालयलाई खेल मैदान अभाव थियो । थुप्रै विद्यार्थीहरु खेलकुदबाट बञ्चित थिए । त्यसैले मेरो काका इन्द्रहाङ्ग, बडा र मेरो नाममा रहेको ५ रोपनी १ आना जग्गा खेलमैदानको लागि विद्यालयलाई निःशुल्क रुपमा दान गरेका हौं । जुन खेलमैदान अहिले ई.न.म. रंगशालाको नामले परिचित छ । जसबाट थुप्रै विद्यार्थीहरु लाभान्वित भएका छन् ।
एउटा व्यक्तिकै प्रयासमा खेलमैदान र एम्बुलेन्स प्रदान गर्ने तपाईहरुलाई प्रेरणा कहाँबाट मिल्यो ?
पहिलो कुरा त, हामी मानवजाति हौं । आफूले सक्ने केही गर्नुपर्छ भन्ने लाग्यो । हिजो गाउँका छोरीचेलीहरुले सुत्केरी हुने अवस्थामा समयमा अस्पताल पुर्याउन नपाएर अकालमै ज्यान गुमाएको तितो अनुभव मसँग थियो । त्यस्तै, विभिन्न रोगबाट पीडित बिरामी र घाइतेलाई आपतकालीन अवस्थामा समयमा अस्पताल नपुग्दा धेरैजनाको निधन भएको छ । त्यो कुराले मलाई सधैं पिरोलीरहन्थ्यो र मेरो मनमा एम्बुलेन्स भए अकालमा ज्यान जानबाट बच्थ्यो जस्तो लाग्यो । र, हामीले गाउँपालिकालाई एउटा एम्बुलेन्स दिने निधो गर्यौ । जसलाई १२ लाख रुपैयाँ परेको छ ।

इन्द्रभक्ति प्रतिष्ठानको अरु काम ?
हामीले ६५ रोपनी जग्गाको उब्जनी करिब ८/१० वर्ष स्थानीय विद्यालयलाई दिँदै आएका थियौं । जब प्रतिष्ठान स्थापना गर्यौं तब सो जग्गामा उब्जनी र उतीसका रुखहरुबाट हुने आम्दानीलाई प्रतिष्ठानमार्फत स्थानीय गाउँको विभिन्न क्षेत्रमा सहयोग गर्दै आएका छौं ।
बेलायतमा पनि थुप्रै च्यारिटी कार्यक्रमहरु हुने गर्दछ, त्यस्तो च्यारिटीमा तपाईको सहयोग कस्तो रहँदै आएको छ ?
हो, बेलायतमा नेपाल र नेपालीका लागि थुप्रै च्यारिटी कार्यक्रमहरु हुने गर्दछ । समयले भ्याएसम्म पुग्ने गर्छु । र, विशेषगरी आफ्नो गाउँ ठाउँको लागि भने सकेको सहयोग गर्दै आएको छु । हामी बेलायतमा बसोबास गर्ने नेम्वाङहरुको एउटा समाज छ । त्यही समाजको अनुरोधमा हामीले एकजना मृर्गौला पीडितलाई २ लाख ७० हजार रुपैयाँ संकलन गरी सहयोग गर्यौं ।
त्यस्तै, २ वर्षअघि पाँचथरको राँकेटारमा ठूलो आगलागी भयो । जुन लागलागीबाट ठूलो जनधनको क्षति भयो । त्यसका लागि पनि नेम्वाङ समाज युकेको विशेष पहलमा केही रकम संकलन गरी सहयोग गरेका थियौं । र, भूकम्पको बेलामा भूकम्पपीडितहरुलाई कम्बलहरु प्रदान गरियो । र, मैले महाभूकम्पको केन्द्रविन्दु गोरखाको बारपाकमा गएर पीडितहरुको १ महिना सेवा गर्ने सोंच पनि बनाएको थिएँ तर त्यो संभव भएन । तैपनि त्यहाँको अवस्था बुझ्न म बारपाक पुगेको छु ।
नेपाली समुदाय बेलायतले गर्दै आएको विभिन्न कार्यक्रमहरुको बारेमा केही भन्नुहुन्छ कि ?
नेपाली समुदाय बेलायतले मातृभूमि नेपालको लागि धेरै राम्रो काम गर्दै आएको छ । तर, आजकल खादा लगाउने संस्कार र सबैलाई आशनग्रहण गर्ने संस्कारबाट अलि दिक्क छु । अरु सबै ठीक छ ।
नेपाली संघसंस्थाहरुले आयोजना गरेको कार्यक्रममा नयाँ पुस्ता (भाञ्जाभाञ्जी) को त्यति सहभागिता देखिँदैनन् भन्छन् नि ?
हो, नेपाली संघसंस्थाले आयोजना गरेको कार्यक्रमहरुमा नयाँ पुस्ताका भाञ्जाभाञ्जीहरुको सहभागिता त्यत्ति देखिँदैन । मलाई त यस्तो लाग्छ कि अबको केही वर्षमा नेपाली संघसंस्थाको संख्या विस्तारै कम हुँदै जान्छ ।
नेपाली भाषा, कला र संस्कृति बचाउन के गर्नु पर्ला त ?
यसका लागि हामी सबैले संरक्षण तथा सम्वर्द्धन गर्नका लागि विशेष ध्यान दिनु पर्दछ ।






