– लीला सेलिङ माबो , संयोजक, ग्रेटर रसमुर नेपाली कम्युनिटी युकेको वमन फोरम
हरेक वर्ष मार्च ८ मा अन्तर्राष्ट्रिय नारी दिवस मनाइन्छ । नेपाल, बेलायतसहित विश्वभरका महिलासँग सम्बन्धित संघ, संगठनले विभिन्न कार्यक्रम गर्ने गर्दछन् । यस वर्ष संयुक्त राष्ट्र संघले तय गरेको ‘व्यालेन्स फर बेटर’ अभियानसहित मनाउन लागिएको १ सय ९ औं अन्तर्राष्ट्रिय नारी दिवसको सन्दर्भमा ग्रेटर रसमुर नेपाली कम्युनिटी युकेको वमन फोरमले पनि जानकारीमूलक कार्यक्रम आयोजना गर्ने भएको छ । मार्च ९ मा अल्डरसटस्थित एम्पायर हलमा हुने सो कार्यक्रमको तयारीलगायत विषयमा ग्रेटर रसमुर नेपाली कम्युनिटी युकेको वमन फोरमकी संयोजक लीला सेलिङ माबोसँग एभरेस्ट टाइम्सका लागि पूर्ण गुरुङले गरेको कुराकानीको सम्पादित अंश ।
यसपटक अन्तर्राष्ट्रिय नारी दिवस कहाँ, कसरी मनाउँदै हुनुहुन्छ ?
अन्तर्राष्ट्रिय नारी दिवस, यसपटक ९ मार्च २०१९ शनिबारका दिन एम्पायर हल अल्डरसटमा १० देखि ३ बजेसम्म जानकारीमूलक कार्यक्रम आयोजना गरी मनाउँदैछौं ।
यो दिवस तपाईंहरुले कहिलेदेखि मनाउन थाल्नुभएको हो ?
यो दिवस हाम्रा फोरमकी संस्थापक अध्यक्ष पुष्पा गुरुङज्यूको पाला अर्थात् सन् २०१४ देखि मनाउन थालिएको हो ।
कार्यक्रममा को को उपस्थिति हुने सम्भावना छ ?
ग्रेटर रसमुर नेपाली कम्युनिटी युके आफैंमा दर्ता भइसकेको स्थापित संस्था हो । यस संस्थाको महिला फोरमले बृहत् कार्यक्रम गरी मनाउन गइरहेको छ । यसपटक स्थानीय काउन्सिलर, पुरुष, महिला, सांसद (एमपी) पनि आउने सम्भावना छ । त्यस क्षेत्रका महिला, पुरुष जुनसुकै समाजको प्रतिनिधित्व गरिरहनु भएको छ, उहाँहरुलाई निम्तो गरिसकेका छौं । जस्तै, मगर संघ युके, तमुधिं युके, बेजिङस्टोक नेपाली कम्युनिटी युके, रेडिङ, क्याम्बर्लीलगायत संस्थाका महिला तथा पुरुष लिडरहरुलाई निम्ता गरेका छौं । र, संगसंगै अल्डरसटवासीहरुलाई पनि म स्वागत गर्न चाहन्छु । यही अन्तर्वार्तामार्फत् उहाँहरुलाई सबैलाई हार्दिक निमन्त्रणासहित उपस्थित भइदिन अनुरोध गर्दछु ।
कार्यक्रमको आकर्षण के रहनेछ ?
हामीले यसपटक नानीदेखि वृद्ध महिलाहरुको भूमिका रहने गरी कार्यक्रम सञ्चालन गर्दैछौं । गहन–गहन विषयमा गेष्ट स्पीकरहरु आउनुहुन्छ । उहाँहरुले आ–आफ्नो विषयमा आवश्यक जानकारीहरु दिनुहुन्छ । समूहगत रुपमा वर्कसप राखिनेछ । उदाहरणका लागि घरेलु हिंसा, अपराध आदि । त्यस्ता सम्बन्धित व्यक्तिहरुले सम्पर्क नम्बर लिएर सल्लाह, सुझाव लिन सक्नुहुन्छ । घरेलु हिंसा महिला र पुरुष दुवैले भोगिरहेका छन् । तर, पुरुषहरु रिपोर्ट गर्न लजाउनुहुन्छ । त्यसैगरी मानसिक स्वास्थ्य । यसमा महिलाभन्दा पुरुष पीडित हुनुहुन्छ । त्यसैले यसपटक महिला तथा पुरुष सबै मिलेर जानकारी लिऊँ । त्यसदिन नि:शुल्क प्रवेश र खानपानको व्यवस्था गरेका छौं । त्यस्तै, हाम्रो एरियामा हुने अपराध र पर्सनल सेफ्टीबारे पीसीओ अफिसरबाट जानकारी पाउनेछौं । त्यस्तै, फायर सेफ्टीबारे जानकारी गराइने छ । र, गोर्खा वेलफेयर ट्रष्टबाट पनि गेस्ट स्पीकर आउनुहुन्छ । त्यस्तै काउन्सिल सर्भिसेस् र रसमुर हेल्दिलिभिङबाट आउनु हुने गेष्ट स्पीकरले पनि प्रस्तुति दिनुहुन्छ । यसरी हामीले हरेक क्षेत्रलाई समेटेर जानकारीमूलक सन्देश दिन प्रयत्न गर्ने छौं । त्यसैले यो कार्यक्रम यहाँहरुकै लागि हो । समयको फाइदा उठाउनुस् भन्न चाहन्छु । हाम्रो कार्यक्रममा भाषण, नाच्ने र मीठो–मीठो खान पाउने अवस्था छैन । कार्यक्रमको मुख्य उद्देश्य भनेको सूचना लिने र जाने हो ।
कार्यक्रममा नि:शुल्क प्रवेश र खानपानको व्यवस्था कसरी मिलाउनुभयो ?
हाम्रो संस्थाका कार्यक्रम संयोजक, सहसंयोजक, कमिटी मेम्बरहरुले सक्रियताका साथ समय दिइरहनुभएको छ । खाना आफै बनाउने गरी टिम बनाउनु भएको छ । पानीका लागि ग्रेटर रसमुर नेपाली कम्युनिटीका कार्यसमितिले पनि सहयोग गर्ने भएको छ । हामी फन्ड रेइजिङ पनि गरिरहेका छौं, स्पोन्सर खोजिरहेका छौं । र, हामीले यदि खाना बनाएर ल्याउन चाहनुहुन्छ वा स्वेच्छाले केही रकम दिन चाहनुहुन्छ भने पनि लिन्छौं । यो कार्यक्रम तपाई/हामी सबैका लागि हो । हाम्रो सहसंयोजक सुष्मा गुरुङज्यूले खानाको संयोजन गरिरहनुभएको छ । हाम्रा दिदीबहिनीहरु एक्टिभ हुनुहुन्छ । साथसाथै, ग्रेटर रसमुर नेपाली कम्युनिटीका अध्यक्ष जीव बेल्वासेलगायत कार्यसमितिका वरिष्ठ उपाध्यक्ष रामधन राईज्यू, सल्लाहकारहरु, पूर्वअध्यक्षज्यूहरु र कार्यसमिति सबैले सपोर्ट गरिरहनुभएको छ ।
कार्यक्रममा कति उपस्थित हुने अड्कल गर्नुभएको छ त ?
हलको क्षमता ३ सय हो । अघिल्लो कार्यक्रमहरुमा दुई सयभन्दा बढी उपस्थिति भइरहेको अवस्था थियो । यसपटक कति हुन्छ यसै भन्न सकिन्न किनकि त्यसदिन धेरै कार्यक्रम जुधेको छ । तैपनि दुई सयभन्दा बढी नै उपस्थिति रहने अनुमान छ ।
अन्त्यमा केही भन्न चाहनु हुन्छ कि ?
१०९ औं अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा ग्रेटर रसमुर नेपाली कम्युनिटीको वमन फोरमले विविध विषयमा जानकारी दिने उद्देश्यका साथ कार्यक्रम आयोजना गरेको छ । सम्पूर्ण दाजुभाइ तथा दिदिबहिनीहरुमा उपस्थितिको लागि हार्दिक अनुरोध गर्न चाहन्छु ।






