नेपाली सिनेमा विश्वसामु पुर्‍याउन सकिन्छ : माओत्से गुरुङ

SHARE:

माओत्से गुरुङ
चलचित्रकर्मी/रंगकर्मी

नाट्य र सिनेमाजगत्‌का परिचित नाम हो, माओत्से गुरुङ (४२) । गुरुङ चलचित्र र नाट्य विधामा लामो समय गुजारेका माओत्से पछिल्लो समय नेपाली चलचित्र फाँटमा प्रवेश गर्नासाथ झन् चर्चित बने । ‘चंगा चेट’, ‘माछामाछा’, ‘साइँली’, ‘दोख’, ‘अग्निदहन’ लगायत दुई दर्जन चलचित्रमा अभिनय गरिसकेका चलचित्रकर्मी एवं रंगकर्मी गुरुङले भर्खरै रामबाबु गुरुङ निर्देशित चलचित्र ‘साइँली’ को डबिङ सकाएका छन् । फिल्म खेल्नुको अलावा उनी आफ्नै लेखन तथा निर्देशनमा चलचित्र ‘दयारानी’ बनाइरहेका छन् । दयारानी निर्माणकै सिलसिलामा काठमाडौं आएका उनले ‘चचहुई’ र ‘कबड्डी कबड्डी–३’ मा समेत साइन गरिसकेको बताए । कास्की पोखरा महानगरपालिका–१५ निवासी वरिष्ठ चलचित्र एवं रंगकर्मीसँग ‘दयारानी’ र समग्र फिल्म क्षेत्रबारे टीकाराम तामाङले गरेको कुराकानी :

के को सिलसिलामा काठमाडौं आउनुभएको ?
विशेषगरी चलचित्रकै कामका लागि म काठमाडौं आएको हुँ । केही समयअघि रामबाबु गुरुङ निर्देशित चलचित्र ‘साइँली’को डबिङ सिध्याउनु थियो, सिध्याइसकेँ । र, मेरो प्रोडक्सन, लेखन र निर्देशनमा चलचित्र ‘दयारानी’को पनि केही कलाकारहरुको डबिङ गर्नुपर्ने भएकोले यतिखेर म काठमाडौंमा छु । दयारानी २०७६ जेठ १० गतेलाई रिलिज डेट पनि तोकिसकेका छौं ।
साइँलीको रिलिजचाहिँ कहिले ?
साइँली चलचित्र यही चैत १५ बाट अल नेपाल रिलिज हुन्छ ।
दयारानी कस्तो खालको चलचित्र हो ?
चलचित्र कथामा एउटा अहंकार बोकेको श्रीमान् हुन्छ, त्यो श्रीमान्का कारण दयालु/मायालु श्रीमतीले कतिसम्म समस्या भोग्नु पर्छ भन्ने विषयवस्तुलाई चित्रण गरेको छ । यसमा दयाहाङ राईले अहंकारी श्रीमान्को भूमिका निर्वाह गरेका छन् । एउटा श्रीमान्ले आफूलाई सर्वेसर्वा ठान्ने, बलले मात्रै होइन कि सामाजिक संरचनाको आधारले पनि आफू बलियो छु, माथिल्लो तहका मान्छे हुँ भन्ने सोच्छन् । त्यो पुरुषवादी सोचका कारण कस्तो कथाहरु घटित हुन्छ भन्ने हो । त्यो रुपमा दयाजीले श्रीमान्को भूमिका निर्वाह गर्नुभएको छ । दयारानीको छायांकन कास्कीको याङ्जाकोट र पोखरा आसपासमा गरेका छौं ।
दयाहाङ राई जोडिएकोले उहाँको नामसँग दयारानी सम्बन्धित छैन ?
‘दया’ भनेको दयाहाङ होला, रानी भनेपछि नायिका दिया पुन होला भनेर धेरैले अड्कल काट्नुभएको छ । त्यो होइन । दयारानी एउटी गुरुङ युवतीको नाम हो । यो गुरुङ समुदायसँग सम्बन्धित छ । हाम्रो समुदायमा मेलापात र रोधीं बस्दा गाउँघरको वातावरणअनुसार महिला वा पुरुषको स्वभाव, उसको रंग हेरेर नाम दिइने गरिन्थ्यो । विशेषगरी रोधीमा महिला अथवा पुरुषहरुलाई त्यस्तो नाम दिइन्थ्यो । जस्तै अत्यन्तै सर्मालु महिला वा युवतीहरु छन् भने तिनलाई सर्मारानी, दयालु/मायालु छन् भने दयारानी । त्यस्ता दयालु युवतीको नामबाट मैले चलचित्रको नाम राखेको हुँ ।


नेपाली भाषामै भए पनि चलचित्र गुरुङ समुदायमा फोकस छ ?
वातावरण, परिस्थिति र त्यो लोकेसनवाइजले गुरुङ गाउँमै आधारित हो । तर, विषयवस्तु (कन्टेन्ट) गुरुङको होइन । यो सबैलाई पर्न सक्ने समस्या हो ।
यस चलचित्रमा अरु कलाकार को को छन् ?
रंगमञ्च र सिनेमामा अत्यन्तै कुशल कलाकार विजय बराल, प्राज्ञ पुष्कर गुरुङ, पोखरेली कलाकारहरु डिबी गुरुङ, राजेन्द्र थापा, सूर्य सुनुवार हुनुहुन्छ । नयाँ कलाकारहरुमा श्रीष कुँवर, नयन गुरुङ, प्रमिश गुरुङ, कृष्टि गुरुङलगायत हुनुहुन्छ । यो चलचित्रमा विशेष अतिथिको भूमिकामा बुद्धि तामाङलाई पनि हामी देख्न सक्छौं । त्यस्तैगरी गुरुङ चलचित्रका चर्चित नायकहरु गमन घले, विष्णु गुरुङहरुलाई पनि हामी देख्न सक्छौं ।
निर्माताहरु नि ?
निर्माताहरुमा मोहन गुरुङ, किरण गुरुङ, केन्द्र लिम्बू, मेजर खुशीमान गुरुङ (एमभिओ), मेजर सुरेन्द्र गुरुङ, मेजर सूर्यप्रकाश गुरुङलगायत हुनुहुन्छ भने कार्यकारी निर्माताको भूमिकामा रामबाबु गुरुङ, अपिल विस्ट रहनुभएको छ ।
बाक्लो रुपमा चलचित्र बनिरहेको बेला दयारानी ल्याउँदै हुनुहुन्छ, यसले कत्तिको बजार पाउने आशा गर्नुभएको छ ?
दयारानीलाई मैले एकदमै ठूलो अपेक्षा केही पनि राखेको छैन । पछिल्लो समयमा गम्भीर प्रकृतिका सिनेमाहरु, जसले छुट्टै किसिमका कथावाचन शैलीलाई या मौलिक परिवेश प्राथमिकता दिएको छ, त्यस्ता खालका चलचित्रलाई व्यावसायिक रुपमा घाटा परिरहेको छ । त्यस हिसाबले हेर्दा पनि मैले निर्माण गरेका सिनेमा एकदमै व्यावसायिक रुपमा सफल हुन्छ भन्ने म ढुक्क छैन । परिवेश, कथा वाचनको हिसाबले गम्भीर खालका विषयवस्तु चलचित्रमा उठान गरेको छु । हाम्रा दर्शकले चटपटे टाइपका सिनेमाहरु खोजिरहनुभएको छ, त्यस्ता खालको सिनेमा बढी चलिरहेको अवस्था पनि छ । म कम्युनिटीबेसमा गुरुङ सिनेमा बनाइरहने व्यक्ति हुँ । दयारानीलाई नेपाली भाषामा नेपालभर रिलिज हुने तरिकाले निर्माण गरेको छु । माओत्से गुरुङको उपस्थिति रहोस्, त्यत्ति भए पुग्छ ।
दर्शकको मनोभावनाविपरीत चलचित्र लेखक, निर्माताले विषयवस्तु लादेजस्तो हुन्न र ?
मलाई केही भन्नु छ, केही कुरा दिनुछ भनेमात्र सिनेमा निर्माण गर्ने हो । दर्शकले कस्तो खालका सिनेमा खोज्छन्, त्यस्तो भित्री कसी, सुत्र पत्ता लगाउन सकेको खण्डमा सबै चलचित्र हिट, सुपरहिट हुनुपथ्र्यो । त्यस्तो सुत्र, कसी नभेटिएर नै होला धेरै चलचित्र असफल भइरहेको छ । कुनै विषयले मलाई छुन्छ, त्यो विषय हामीले भन्नुपर्छ । दर्शक/श्रोतामाझ ल्याउनुपर्छ भन्ने मनमा लाग्यो भने सिनेमा निर्माण अथवा निर्देशन गर्ने हो । होइन भने बजारमा बग्रेल्ती रुपमा अरु निर्देशकहरुले चलचित्र निर्माण गरिरहेका छन् । त्यो रुपमा मेरो सिनेमाहरु आउनुपर्छ भन्ने मान्यता म राख्दिनँ ।
गुरुङ समुदायबाहेक आम नेपालीको विषयवस्तुमा चलचित्र खेल्न र निर्देशन गर्न थालेपछि तपाईं जति चर्चित बनिरहनुभएको छ । यसो गर्न ढिला गरिएछ जस्तो लाग्दैन ?
केही दिनअघि मात्र हाङयुग अज्ञातजी र राजनजीले प्रकाश घिमिरेजी र मलाई भनिराख्नुभएको थियो, ‘तपाईंहरुको नेपाली सिनेमामा उपस्थिति, प्रवेश अलि ढिलो भयो है ।’ गुरुङ समुदायसँग रहेर मैले ९/१० वटा सिनेमाहरु निर्माण गरेको छु । त्यो कारण किन पनि हो भने, म जुन समुदायमा छु, जुन विषयवस्तुमाथि मलाई विश्वास छ । त्यही कथा र सिनेमाहरु निर्माण गर्ने हो ।
कुनै विषय वा समुदायमाथि अनुसन्धान गर्न केही समय लाग्छ भने गुरुङ समुदायको चलचित्र निर्माणको लागि त्यत्ति धेरै अध्ययन जरुरत पर्दैन । तर, मैले अन्य समुदायको चलचित्र निर्माण नगर्ने भन्ने होइन । म नेपाली सिनेमामा भर्खर प्रवेश गरिरहेको छु । भोलिका दिनमा व्यक्ति, कुनै ऐतिहासिक पात्रका कथाहरु हुनसक्छन् । त्यस्ता खालका चरित्रहरुले छोएको खण्डमा ती समुदाय, व्यक्तिहरु र विषयहरुमा सिनेमा बनाउनेछु ।
नेपाली चलचित्रको स्थिति कस्तो छ अहिले ?
नेपाली सिनेमाको अहिलेको अवस्था केही सुध्रेको पाउँछौं । केही समय अगाडिको नेपाली सिनेमामा उपस्थिति, कथावाचन शैली, पात्रहरु एकदमै मिसकट पाइन्छ । बाउ एउटा, छोरो अर्कै जस्तो देखिन्छ । धर्म मान्नेहरु अर्के छन् । यत्ति गन्जागोल अवस्था सिर्जना गरिदिएको हुन्छ । दर्शकलाई मन पर्छ भनेरमात्रै हुँदैन । तर, अहिले नेपाली सिनेमा अलिकति समावेशीजस्तो देखिएको छ । विशेषगरी हामीजस्ता मान्छेहरुले पनि उपस्थिति पाएका छौं । हाम्रा कथाहरु पनि सिनेमामा आउन थालेका छन् । हाम्रा भाइबहिनी, हाम्रा अनुहार भएकाहरु पनि हिरो, हिरोइन् भएर आइरहेका छन् । यसअघि हाम्रो अनुहार खाली भिलेन, एउटा अशिक्षित या लाहुरे क्यारेक्टरमा, भरियाको क्यारेक्टरमा या त गुन्डा, आपराधिक कार्य गर्ने पात्रका रुपमा मात्रै चित्रण गरिन्थ्यो । त्यो अवस्था फेरिएको छ । समावेशी रुपमा अहिले हामी मधेसीका कथाहरु सिनेमामा देख्न सक्छौं । जनजातिका कथाहरु, अनुहारहरु, मधेसीका अनुहारहरु, नेपाली सिनेमामा अटाइरहेको अवस्था छ ।
मौलिकतालाई आधार मानी चलचित्र निर्माण गर्दै आइरहनुभएको छ । राज्यले आदिवासी जनजातिका पहिचान, भाषा, संस्कार, संस्कृति लोभ गराए भने भूकम्पले बारपाकजस्ता ऐतिहासिक मौलिक संरचना क्षतविक्षत गरायो । यस्ता मौलिकता नास हुँदा चलचित्र निर्माणमा दृश्य लिन कठिन हुँदोरहेनछ ?
त्यस्ता खालका परिवेशका सिनेमाहरु आयो भने त्यो घर, त्यो चौतारी, स्ट्रकचरहरु पाउन निश्चित रुपमा गाह्रो हुन्छ । चलचित्र निर्माणको बजेट कति छ भन्नेमा पनि निर्भर रहन्छ । कतिपय नसकिने हुन्छन् । प्रविधि र प्राविधिकको हिसाबले अहिले एनिमेसन गरी गर्न सक्ने हुन्छन् । धेरै कुराहरु प्रविधि र प्राविधिकमाथि निर्भर रहनुपर्ने हुनसक्छ । त्यो हिजोको स्ट्रक्चरका लागि खर्बौं बजेट हुनुपर्छ । हामीले बनाइरहेका गुरुङ र नेपाली सिनेमाको बजेटले त्यो थेग्छ जस्तो लाग्दैन । प्रविधि र प्राविधिकले पनि अहिले सहजता ल्याइदिएको छ ।
अहिलेको अवस्थामा हाम्रो भाषा, संस्कारमाथि अतिक्रमण भइराखेको छ । केही समयपछि हाम्रो भाषा, संस्कार लोभ भएर जान सक्छ । हामीले बनाएका सिनेमाहरु भोलिका दिनमा अध्ययन, अनुसन्धानका लागि काम लाग्नेछ । त्यस हिसाबले हेर्दा राज्यले भाषिक सिनेमाहरुमा दिनुपर्ने सुविधाहरु, सहयोग पूर्ण छैन ।
नेपाली चलचित्र क्षेत्र उद्योगको रुपमा विकास भएको मान्न सकिन्छ कि सकिँदैन ?
नेपाली चलचित्र उद्योगको रुपमा फस्टाउन नसकेकै हो । बोल्दा, अभिव्यक्त गर्दा ‘फिल्म इन्ड्रस्टी’ भन्छौं । सरकारले पनि उद्योगको मान्यता दिएर लानु पथ्र्यों । सरकारले खाली यो मनोरन्जन हो, नाच्न, नचाउने मात्र हो भन्ने ढंगले लिएको छ । तर, यसमा राष्ट्रको सिंगो कला, व्यापार छ भन्ने सरकारले बुझ्नु पथ्र्यो, बुझ्न सकेन ।
नेपाली चलचित्र विश्वस्तरको बनाउनमा सरकार वा कलाकार को चुकिरहेका छन् ?
नेपाली सिनेमालाई विश्वस्तरको बनाउनुपर्ने हो, हामीले सकिरहेका छैनौं । नेपाली चलचित्रमा मौलिक कथावाचन शैली अपनाउन सकिरहेका छैनौं अथवा जुन स्ट्रक्चरमा काम गर्नुपर्ने हो, त्यसो गर्न सकिरहेको छैन । अग्रजहरुले त्यस्तो अभ्यास नगरेर पनि हुन सक्छ । विश्व चलचित्रको दाँजोमा हामी पछि नै छौं । तर, यो होइन कि हामी विश्व चलचित्रको दाँजोमै पुग्न सक्दैनौं या त्यहाँ पुग्न आँट गर्दैनौं । हामीले मौलिक कथावाचनको शैली अपनायौ, त्यो खालको स्ट्रक्चर निर्माण गर्न सक्यौं भने पक्कै पनि हाम्रो कथाव्यथा देखाएर, हाम्रो संस्कार, संस्कृति बोकेका या नेपालीपन बोकेका सिनेमाहरु विश्वसामु पुर्‍याउन सक्ने अवस्था छ ।
एकाध फेस्टिबलमा जाँदैमा हाम्रा सिनेमाहरु अन्तर्राष्ट्रियकरण भयो या भइसक्यौ भन्ने कुरा गर्नु बेकार हो । अहिले पनि हामी सिने प्लेक्सतिर गयो भने विदेशी सिनेमाहरु निर्बाध चलिरहेका छन् । हाम्रा सिनेमाहरु युकेको सिने प्लेक्स या सिनेमा हलमा निर्बाध रुपमा चलिरहेको अवस्था छ कि छैन । त्यहाँ हामीले हेर्नुपर्छ । यत्तिसम्म कि मित्र राष्ट्र भारतमा पनि हाम्रा सिनेमाहरु चलिरहेको अवस्था छैन भने हामीले कसरी अन्तर्राष्ट्रिकरण गर्न सक्यौं ? अन्तर्राष्ट्रियकरण गर्न सम्बन्धित देशको सिनेमा क्वालिटीबराबर बन्नु पर्‍यो नि त ! त्यहाँका दर्शकहरुलाई केही न केही छ, नेपालभित्र बनेको सिनेमाहरुमा भन्ने बनाउन सक्नुपथ्र्याे । हामी त्यो हिसाबले सक्षम भइसकेको अवस्था छैन ।
तपाईं चलचित्र क्षेत्रमा कहिलेदेखि प्रवेश गर्नुभएको हो ?
म रंगमञ्च (नाटक) बाट आएको हुँ । पोखराको रंगमञ्चमा २०४६/०४७ बाट थालनी गरेको हुँ । ०४९/५० मा आएर स्थानीय तहमै बनेको ‘काँडा’ चलचित्रमा खेलें । त्यसपछि निरन्तररुपमा नाटक पनि गर्दै र भाषिक गुरुङ सिनेमाहरु खेल्दैखेल्दै लगभग यो दौरानमा १५/२० वटा फिल्ममा अभिनय गरिसकेको छु भने ८/९ वटा फिल्म निर्माण गरिसकेँ ।
ती चलचित्र निर्माण गरिसकेपछि रामबाबु गुरुङले कबड्डी कबड्डीमा एउटा रोलका लागि अफर गर्नुभयो । त्यो रोल निभाएपछि चौतर्फी प्रशंसा पनि पाएँ । केही सम्मानित फेस्टिभलबाट त्यही रोलका कारण पुरस्कार पाएँ, अवार्ड पनि जितेँ । लगत्तै रामबाबु गुरुङसँग मिलेर ‘पुरानो डुंगा’ चलचित्र निर्माण गरेँ । त्यसले पनि आशातीत व्यापार गरी प्रशंसा कमाउन सफल भयो । थुप्रै अवार्डहरु नि पाएँ । पछिल्लो चरणमा ‘चंगा चेट’, ‘माछामाछा’, ‘साइँली’, ‘दोख’, ‘अग्नि दहन’ लगायत सिनेमाहरु खेलेको छु । त्यस्तैगरी मेरो म्ले क्यू (बिर्साउने पानी) चलचित्र हङकङमा प्रदर्शन हुँदैछ । दयारानी चलचित्रचाहिँ जेठको १० गते आउँदैछ । भर्खरै चचहुई भन्ने नेपाली सिनेमा र कबड्डी–३ मा साइन गरिसकेको छु ।
तपाईंले निर्माण गरेका चलचित्रमध्ये कुन कुनले राम्रो व्यापार गरे ?
व्यावसायिक रुपमा सबैको लेखाजोखा त्यस्तै हो । सुरुमा बनाएको ‘अचम्मै भो’ (नेपाली भाषा), ‘कृपा’, तिनागा’, ‘भ्रेँ’ (पाहुना) (भ्रेँमा निर्देशक), ‘जुनी जुनी’, ‘नरे’, ‘मनको बाबरी’ चलचित्रहरु नै छन् । आफूले निर्माण गरेका चलचित्र सबै राम्रै नै लाग्छ । तर, तत्कालीन समयमा कृपा र तिनागाले थुप्रै अन्तर्राष्ट्रिय लेभलकै अवार्डहरु जित्न सफल भएको थियो । पछिल्लो गुरुङ सिनेमाको अवार्ड कार्यक्रममा मेरो सबै सिनेमाहरुले अवार्ड जित्न सफल भएको छ ।
यो क्षेत्र प्रवेश गर्नुअघि प्रशिक्षण लिनुभयो ?
पहिलोचोटी त्रिवेणी कल्चर सेन्टर पोखराबाट अभिनयको प्रशिक्षण लिएको हुँ । आदरणीय गुरु अनुप बराल हुनुहुन्थ्यो । पहिले लहैलहैमा सिनेमा बनाइयो । त्यसपछाडि हामीले ट्रेनिङ लिनुपर्ने रहेछ भन्ने थाहा भयो । त्यसपछि विस्तारै आदरणीय दाजु नविन सुब्बाको सामिप्यमा रहियो । उहाँको केही सिनेमाहरुमा पनि काम गरेँ । दाइसँगको सामिप्यताले सिनेमा कसरी निर्माण गर्ने, कसरी सिर्जनशीलता बनाउन सकिन्छ भन्ने विषयमा धेरै कुराहरु सिकियो । अहिले पनि मेरो सिनेमाहरु निर्माण गर्दा दाइसँग सल्लाह लिने गर्छु, बुझ्ने गर्छु ।
कलाकारितामा लाग्नुको कुनै सम्झनालायक क्षण ?
एउटा रहर थियो, नाटक बनाउन पाए हुन्थ्यो, कलाकार बन्न पाए हुन्थ्यो । त्यत्ति सारै स्ट्रगल पनि गर्नु परेन । किनकि साथीभाइ, इस्टमित्रहरु सबै सहयोगी हुनुहुन्थ्यो । जुन चिज आफूले रुचाइएको छ, इच्छाइएको छ । त्यो चिजमा हामीले इन्जोय लिइरहेका छौं । बाहिरबाट हेर्दा कत्ति राम्रो छ, तेरो जिन्दगी भन्ने लाग्ला । त्यस्तो चिजलाई पेसा बनायौं, जुन चिज हामीले रोजेको हौं । त्यो हिसाबले जतिसुकै दु:ख परे पनि एकदमै इन्जोय सिनेमामा अथवा नाटकमा छ ।
यो क्षेत्रमा लागेर नाफा कमाउनुभयो कि घाटा छ ?
मेरो लागि त नाफैनाफ हो । यो क्षेत्रमा लागेर गलत गरेँ, धेरै समस्या भोगेँ भन्ने लागेन । मेरो ठूलो इच्छा छैन । साथीहरु कोही जापान, कोही युकेतिर हुनुहुन्छ । उहाँहरुले प्रशस्त पैसा कमाउनु भा’छ, नेपाल फर्किंदा जुन ऐशआराम छ । त्यस्तो खालको जिन्दगी रोज्ने हो भने मैले पनि सक्थे होला ।
यहाँले पनि विदेश फेरो मार्नुभएको होइन ?
मैले पनि फेरो मारेँ । तर, त्यो धेरै समय रहेन । म युकेमा थिएँ, तत्कालीन समयमा । त्यहाँ मेरो बसाइ त्यत्ति लामो रहेन । त्यसपछि नेपाल फर्के । सिनेमाकै कारण ८/९ वटा देशहरु घुमिसकेको छु ।
अबको जीवन यात्रा मोडिने अवस्था छ कि ?
यो क्षेत्रभन्दा अरु केही पनि सोचेकौ छैन । मसँग ठूलो फ्याक्ट्री, कम्पनीहरु पनि केही छै्रन । मैले जानेको चिज यही नै हो । सिनेमा र नाटक गर्दै मर्न पाउँ ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!