खिम घले
गएको साता नेपालमा दुई जना नेताको अवसान भयो । ताप्लेजुङमा भएको हेलिकप्टर दुर्घटनामा परी लोकप्रिय युवा नेता, संस्कृति, पर्यटन तथा नागरिक उड्यायनमन्त्री रवीन्द्र्र अधिकारीको निधन भयो भने बयोवृद्ध नेता तथा पूर्व अर्थमन्त्री भरतमोहन अधिकारीलाई कालगतिले लग्यो ।
दुवै अधिकारी बन्धुहरुको थर मिले पनि एकै घर र एकै भेगका भने होइनन् । युवा नेता रवीन्द्र्र कास्कीका हुन् भने भरतमोहन विराटनगरका । तर यि दुवै अधिकारी बन्धुहरुले नेपाली समाज र राजनीतिमा आफ्नो स्थान बनाए । नेपाली जनताको जीवनस्तर सुधार्नका लागि आफ्नो तहबाट कोशिस गरे ।
कास्कीका अधिकारी उदाउँदो ताराका रुपमा थिए । त्यसैले स्वभाविक रुपमा उनको बढि चर्चा भयो । उनीप्रति धेरैले अपेक्षा गरेका थिए । धेरै आशा गरेका थिए । उनको व्यक्तित्व र फरासिलो मिजासका कारण पनि युवा पुस्तामा उनको प्रभाव थियो ।
भरतमोहन अस्ताउँदो सूर्यका रुपमा थिए । ८३ वर्ष उमेर पुगेका उनी पछिल्लो केही वर्षयता सक्रिय राजनीतिमा थिएनन् । केही महिनायता उनको बास अस्पतालमै थियो । यद्यपी उनले नेपालमा प्रजातन्त्र स्थापनाका लागि गरेको संघर्ष र अर्थमन्त्री हुँदा गरेका सुधार प्रयासहरुले सधै सम्झिरहने नेताका रुपमा स्थापित भए । धेरै सम्झे । श्रद्धा व्यक्त गरे ।
संभावनाको अवसान
हेलिकप्टर दुर्घट्नामा परेर मृत्यु हुँदा रवीन्द्र्र ४९ वर्षका थिए । यद्यपी उनलाई धेरैले ४०/४१ कै देख्थे । उनको मुस्कान सबैलाई लोभ्याउने खालको थियो । फरासिलो स्वभावका रवीन्द्र्र छिट्टै अरुसँग घृुलमिल गर्न सक्ने खालका थिए । उनी हेर्दा जति मिजासिला थिए, त्यति नै निडर र नेतृत्व क्षमताका पनि थिए ।
उनी विद्यार्थी राजनीतिबाट आएका थिए । तत्कालिन एमाले फुटेर नेकपा माले बनेपछि उनी तत्कालिन मालेको विद्यार्थी संगठन अखिलको अध्यक्ष बने । नयाँ पार्टी भएकोले इश्यूहरु चाहिएको थियो । भरखरै मात्र महाकाली क्षेत्रमा नेपाली भूभागमा भारतीय सेना रहेको भन्ने खवर फैलिएको थियो ।
रवीन्द्र्रले विद्यार्थी र प्रबुद्धहरुको एउटा टोली महाकाली क्षेत्रको स्थलगत भ्रमणमा लैजाने योजना बनाए । तत्कालिन मालेमा चढेको उग्रराष्ट्रवादको बाछिट्टा नै सही रवीन्द्र्रको टोलीले महाकालीसम्मको यात्रा तय गर्यो । सायद धेरै दवावहरुको बावजुध पनि त्यो यात्रा पुरा भएको थियो । नेपाल, चीन र भारतको त्यो त्रिदेशीय सिमामा रहेको विवाद अझै सुल्झिएको छैन । यद्यपी त्यस क्षेत्रको र विवादका बारेमा त्यही अभियानले धेरै नेपालीलाई जानकारी गरायो । उनी विद्यार्थी नेता रहेकै बेला भएको अर्को एउटा घट्नामा पनि उनको नेतृत्व क्षमता देखियो । सन् २००० मा तत्कालिन शाहज्याद पारश शाहले चलाएको गाडीले गायक तथा संगीतकार प्रवीण गुरुङलाई किच्यो । तर, उनलाई अस्पताल लैजानु वा सामान्य मानवीयता देखाउनुको सट्टा पारशले गाडी थप कुदाए । निर्मल निवास पसे । प्रवीण गुरुङको मृत्यु भयो ।
पारशलाई कारवाहीको दायरामा ल्याउनु पर्ने मागसहित तत्कालिन माले अखिलले आन्दोलनको सुरुवात गर्यो । त्यसको नेतृत्व पनि रवीन्द्र्रले नै गरेका थिए । राजधानीको सडक तातिन थाल्यो । हजारौंको हस्ताक्षर संकलन गरेर राजदरवारमा बुझाउने काम भयो । दवाव बढ्दै गएपछि दरवारले उनको नाममा एउटा पत्र पठायो । त्यसमा दोषी भए जोसुकैलाई पनि कानुन बमोजिक कारवाही गरिने उल्लेख थियो ।
त्यो दरवार र पारशको जगजगिको बेला थियो । उनका आसेपासेहरु पारशको विरुद्धमा उठेका आवाज बन्द गराउनका लागि धाकधम्की दिनेदेखि प्रलोभन दिनसमेत तल्लिन थिए । यस्तो अवस्थामा उनलाई धम्की र प्रलोभन नआउने कुरै थिएन । उनी न त धम्कीमा डराए, न प्रलोभनमा फसे । दरवारीयका विरुद्ध सडकबाट यति दह्रोसंग कुरा उठाउने र झुक्न बाध्य गर्न त्यसबेला सानोतिनो आँट र दृढताको कुरा थिएन । त्यस मामिलामा सुरुदेखि अन्त्यसम्म मैले समाचार संकलन गरेकोले पनि यति निश्चितताका साथ भन्न सकेको हुँ ।
त्यसपछिका उनको राजनीतिक यात्रा सहज त थिएन तर उनमा विचलन पनि आएन । पार्टी भित्रै पनि उनका बिरोधीहरु थिए । गुट र उपगुटमा विभाजित पार्टीभित्र यस्तो हुनु अनौठो पनि रहेन । तर, उनले तीन पटक कास्कीबाट साँसदको निर्वाचन जिते । यसले पनि उनी कति लोकप्रिय थिए भन्ने कुराको छनक दिन्छ ।
संसदमा उनी भन्दा धेरै बरिष्ठहरु थिए । यद्यपी उनले सार्वजनिक लेखा समिति र विकास समितिमा रहेको बेला आफ्नो भूमिका देखाएर छाडे । विकास समितिको अध्यक्ष भएर काम गर्दा उनले धेरै ठाउँहरुको भ्रमण गरे । मुलुकको विकासको निम्ति निर्देशनहरु दिए । मुलुकको समृद्धिको आफ्नो खाका समेटेर कितावै प्रकाशन गरे ।
पर्यटन मन्त्री भएपछि पनि उनको रफ्तार उस्तै थियो । उनले आफ्नो ठाउँबाट सक्ने गरे । त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थललाई २२ घण्टा खोल्नेदेखि सफा गर्नेसम्मको काममा उनको सक्रियता उल्लेख्य रह्यो । पोखरा विमानस्थल र भैरहवा विमानस्थलको निर्माणको प्रगतिमा पनि उनको योगदान छ । विकास समितिकै अध्यक्ष हुँदादेखि चीनसंगको केरुङ मार्ग खोल्न उनले प्रयास गरेका थिए । त्यसमा पनि प्रगति हुँदै गएको थियो ।
पछिल्लो समय उनी दुई वटा विवादमा भने मुछिए । पहिलो, विकास समितिको अध्यक्षको हैसियतमा कर छलीको अरोप लागेको एनसेललाई फोरजी प्रविधिको अनुमति दिन निर्देशन दिएको र अर्को नेपाल वायु सेवा निगमको वाइडबडी विमान खरिदमा अनियमितता भएको र त्यसमा रवीन्द्र्रको संलग्नताको सम्बन्धमा छ ।
यसमा उनले स्पष्ट जवाफ दिंदै आएका थिए । एनसेलको सम्बन्धमा उनको स्पष्ट जवाफ थियो, कर असुल्ने काम करसंग सम्बन्धित निकायहरुको हो । उनीहरुले आफ्नो जिम्मेवारी इमान्दारिताका साथ पुरा गर्नु पर्छ । तर त्यसको अर्थ नेपाली जनताले पाउनु पर्ने फोरजी प्रविधिको सेवा रोक्नु हुन्न । वाइडवडी विमान खरिदामा पनि उनले अन्तिम् किस्ता भुक्तानीको अनुमति दिएका थिए । त्यसैमा लेखा समितिले उनको संलग्नताको आशंका गरेको थियो । यसमा पनि उनको स्पष्ट जवाफ थियो, जहाज खरिदको सबै प्रकृया पुरा भएर आउने बेला भइसकेको थियो । यस्तो अवस्थामा अन्तिम् किस्ता रोक्नु भनेको जहाज नेपाल ल्याउन रोक्नु थियो । मैले रकम भुक्तानी गरेर जहाज नेपाल ल्याउने बाटो खोलिदिएँ । जहाज आएको छ, कहाँ के अनिमितता भयो भन्ने कुरा छानविन गरेर दोषीलाई कारवाही गर्दा हुन्छ ।
यि दुवै प्रकरणमा उनी माथि बिभिन्न निकायले प्रश्न उठाएका छन् । यद्यपी ति प्रश्नहरुको उनले उत्तर स्पष्ट दिएका छन् । आशा गर्न सकिन्छ, ति प्रश्नहरुबाट पनि उनले मरनोपरान्तै सहि मुक्ति पाउने छन् । राजनीति गर्ने मान्छेको जीवनमा आरोपहरु आउँछन् । उनको यसको सामना गर्न सक्ने क्षमता थियो । तर्कसंगत ढंगले प्रतिवादन गर्ने क्षमता थियो । यसले उनी धेरै अघि बढ्ने संभावना बोकेका युवा नेता थिए ।
पाकाहरुका अभिभावक
भरतमोहन अधिकारी नेपालको पहिलो कम्युनिष्ट सरकारका पहिलो अर्थमन्त्री थिए । २०५१ सालमा मनमोहन अधिकारीको प्रधानमन्त्रीत्वमा नेपालमा पहिलो पटक एमालेको अल्पमतको सरकार बनेको थियो । २०४७ सालको निर्वाचनमा मात्र होइन, २०५१ सालको निर्वाचनमा पनि नेपाली कांग्रेसका कार्यकर्ताहरुले कम्युनिष्ट सरकार आयो भने ६० वर्षमा गोली ठोकेर मारिदिन्छ, भारतीय र वेलायती सेनाबाट पाउने पेन्सन खोस्छ, निजी सम्पति भन्ने हुँदैन जस्ता प्रचारप्रसार व्यापक बनाएका थिए । त्यसैले धेरै बृद्धबृद्धा र पेन्सनरहरु कम्युनिष्टलाई मन पराउँदैनथे ।
यि अवफाहलाई चिर्नु पहिलो कम्युनिष्ट सरकारको दायित्व थियो । त्यसमा अर्थमन्त्रीका रुपमा भरतमोहनलाई थप चुनौती थियो । यि सबै कुराहरु मनन गर्दै उनले पहिलो पटक बृद्धभत्ताको व्यवस्था गरे, बजेट भाषण मार्फत । पहिलो पटक ७५ वर्ष पुगेका सबै बृद्धबृद्धा र ६५ वर्ष पुगेका विधवाहरुलाई मासिक एक सय रुपैयाँ भत्ताको व्यवस्था गरियो । यसले नेपाली जनमतलाई उल्ट्याइ दियो । कांग्रेस नेताहरुले यसको विरोध गरे । आम मानिसमा ६० वर्ष पुग्दा मार्छन् भन्ने कम्युनिष्ट भत्ताको व्यवस्था गर्छ र त्यसको प्रचार गर्ने कांग्रेस नेता भत्ताको विरोध गर्छन् भन्ने छाप पर्यो । पछि बनेका कांग्रेसका सरकारहरुले पनि त्यसलाई निरन्तरता दिए । बढाउँदै लगे । अहिले मासिक २ हजार रुपैयाँ पुगेको छ । उमेरको हद पनि घटाउँदै लगेको छ ।
उनले त्यही बजेटमार्फत ‘आफ्नो गाउँ आफै बनाउँ’ भन्ने लोकप्रिय कार्यक्रम अघि सारे । हरेक गाविसलाई तीन लाख रुपैयाँ अनुदान दिए । समुदायहरुलाई आफ्नो गाउँ ठाउँको विकास गर्न उत्प्रेरित गरे । यसले रकम गाउँ गाउँसम्म पुग्यो । केही ठाउँमा दुरुपयोग भयो होला । धेरै ठाउँमा थोरै अनुदान र धेरै श्रमदानमा कामहरु भए । बाटो बने, पानी ल्याइए, इनार खनिए ।
कम्युनिष्टहरु निजी क्षेत्रको विरोधी हुन्छन् भन्ने कुराको पनि उनले अन्त्य गरिदिए । अर्थमन्त्री रहेका बेला उनले उद्योगी व्यवसायीको कुरा सुने र उनीहरुको समस्या समाधानको कोशिस गरे । त्यसैले धेरै उद्योगी व्यवसायी सम्झन्छन्, उनी हाम्रा लागि अभिभावक थिए ।
अन्त्यमा, गएका साता नेपालले दुई नेतालाई गुमाए । एक जना अल्पयुमै गुमाए, उनमा संभावना प्रचुर थियो । अर्का उमेर पुगेरै गए, उनले आफ्नो जीवनमा सम्झनालायका काम गरे । त्यसैले गएका दुवै जनालाई नेपाली जनताले सम्झे र श्रद्धाञ्जली दिए ।






