सरकार–सिके सहमति : प्रधानमन्त्रीद्वारा हिंसाको बर्को फाल्न आग्रह

SHARE:

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले सुशासन र समृद्धिको यात्रा शुरु गरेका बेला ‘स्वतन्त्र मधेस गठबन्धन’सँगको राजनीतिक सहमतिसँगै अब मुलुकमा हिंसाको बाटो अन्त्य भएको बताएका छन् ।

नेपाल सरकार र सो गठबन्धनबीचको राजनीतिक सहमति घोषणा कार्यक्रमलाई सम्बोधन गर्दै उनले सुशासन र विकास लहर चलिरहेका बेला उक्त सहमतिले देश टुक्र्याउने नाममा स्वार्थको रोटी सेक्नेहरुको रोटी काँचो पल्टिएर जाने उल्लेख गरे । उनले भने, “नेपाल एउटा सार्वभौम राष्ट्र हो । यसको जमीन एक इञ्च पनि कसैलाई छुट्याउन, टुक्र्याउन वा दिन मिल्दैन । त्यसका नाममा कुनै सहमति हुन सक्दैन ।”

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओलीले संविधानले सार्वभौमसत्ता सुनिश्चित गरेकाले जनताका सबै समस्याको समाधान शान्तिपूर्ण र लोकतान्त्रिक विधिबाट जनताको अभिमत लिएर संसद् बनाउन, सरकार गठन गर्न र संविधान संशोधन गर्न सकिने पनि स्पष्ट पारे । सरकारले सबै पक्ष र देशवासीका समस्यालाई आफ्नो समस्या ठानेर फराकिलो दायराका साथ राष्ट्र निर्माण गर्न चाहेकाले यसमा सहयोग पुर्‍याउनसमेत उनले सबैमा आह्वान गरे ।

गठबन्धनका संयोजक डा चन्द्रकान्त (सिके) राउतलाई असाधारण निर्णय गर्न सक्ने अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग तुलना गर्दै प्रधानमन्त्री ओलीले ‘शान्तिको पक्षपोषण गर्ने’ राउतमा पनि त्यस्तै छाँटकाँट देखिएको भनी प्रशंसा गरे । इञ्जिनीयर र वैज्ञानिक (टेक्नोक्र्याट) राउत गलत बाटामा गएर बिग्रने हो कि भन्ने चिन्ता आफूमा पनि रहेको उल्लेख गर्दै प्रधामन्त्री ओलीले राउत प्राविधिक मात्र नभएर विचारक (थिङ्कर) समेत भएको पाइएको बताए ।सरकार र गठबन्धनबीच आज ११ बुँदे सहमति भएको थियो ।

प्रधानमन्त्री ओलीले सरकारले पानीजहाज र रेलका कार्यक्रम ल्याउँदा गलत भयो भनेर भ्रम फिँजाइएको जिकिर गर्दै सबै बजेट र जनशक्ति पानीजहाजका लागि नभई जम्मा १६ कर्मचारी मात्र खटाइएको उल्लेख गरे । उनले प्रश्न गर्दै भने, “हो मानिसलाई पनि खाना चाहिन्छ तर यसो भन्दैमा शिक्षा, सडक, पूर्वाधार विकास चाहिँदैन ? त्यसो हो भने हामीले कहिले समृद्धि हासिल गर्ने ?”

मुलुकमा सुशासन कायम गर्नका लागि भ्रष्टाचारका घटनामा कारवाही हुन थालेको उल्लेख गर्दै उहाँले विगतमा भ्रष्टाचार हुने गरेको र वर्तमान सरकारले कारवाही थालेको जिकिर गरे ।

सरकार र अदालतलाई एकै रुपमा नहेर्न आग्रह

सांसद रेशम चौधरीका सम्बन्धमा अदालतले गरेको फैसलाका सम्बन्धमा राष्ट्रिय जनता पार्टीले सरकारलाई दिएको समर्थनसँग जोडेर आएको प्रतिक्रियाबारे प्रधानमन्त्री ओलीले भने, “अदालत राज्यको अङ्ग भए पनि सरकारको अङ्ग होइन । अदालत र सरकारको काम अलग अलग हो ।” उनले आवेश र उत्तेजनामा आएर राष्ट्रको एकतामा फाटो ल्याउने राजनीति नगर्न आग्रह गर्दै विगतमा फरक ढङ्गले राजनीतिमा लागेका कार्यकर्ताले अब कुनै अलमलमा पर्न नपर्ने स्पष्ट गरे । उनले भने, “अनेकतामा एकता नेपालीको विशेषता हो । ”

‘कम्युनिष्टका नाममा लुट सहन्न’

नेत्रविक्रम चन्द नेतृत्वको नेकपाका गतिविधिलाई लक्ष्य गर्दै प्रधानमन्त्री ओलीले कम्युनिष्टको बर्को ओढेर जनतामा लुट नगर्न चेतावनी दिँदै त्यस्ता कामले कम्युनिष्ट पार्टीको बदनाम हुने भएकाले सो पार्टीलाई नाम परिवर्तन गर्न सुझाव दिए । उनले भने, “शान्ति सुरक्षा कायम राख्ने जिम्मेवारी पूरा गर्न बम पड्काउने, टुट्ने र घरमा बन्दुक राख्नेहरुलाई सरकारले खानतलासी गरी कारवाही गर्छ ।”

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!