विजय हितान
हामीले हाम्रो संस्कार सर्लक्कै बोकेर आएका छौं नेपालबाट बेलायतमा । विशेष गरेर संघसंस्थाहरु खोल्ने र तिनलाई सञ्चालन गर्ने ढंगहरु । भनिन्छ, बेलायतमा दुई सयभन्दा बढी नेपाली संघसंस्थाहरु स्थापित छन् । मलाई लाग्छ, व्यस्त र कठोर आप्रवासी जीवन बिताइरहेका बेल्पालीका यति धेरै संगठन हुनु समयको माग हो । यी संगठनले जात, धर्म, राजनैतिक पार्टी, गोर्खा पल्टन र निवृत्त लाहुरे, नम्बरी इन्टेक, नेपालका गाउँ, भेग र जिल्लाहरुको प्रतिनिधित्व गर्छन् । प्राय: सबैका छाता र सहायक संगठन पनि विस्तार गरिएका छन् । जहाँ नेपालीको बसोबास छ ती सहरमा नेपाली समाज खोलिएका छन् । नर्स, डाक्टर, इञ्जिनियर, पत्रकार, साहित्यकार, सिनेमाकर्मी, सङ्गीतकारजस्ता पेसागत, व्यावसायिक, प्राविधिक र सिर्जनात्मक ज्ञान भएकाहरुको पनि आआफ्नै संगठन छन् । प्राय: यी सबै संघसंगठनका भातृ वा सहायक संस्थाका रुपमा महिला अर्थात् आमा समूह पनि निर्माण गरिएका छन् ।
तर विडम्बना, मूलधार अर्थात् माउ संगठनहमा महिलाको नेतृत्व नगन्य छ । केही महिलाले मात्रै तिनमा अध्यक्ष पद सम्हालेर काम गरेको पाइन्छ । अधिकांश महिला उपाध्यक्षसम्म उदाएर अस्ताउने गरेका छन् ।
मलाई सधैँ खुलदुली लागेको एउटा प्रश्न हो, सर्वोच शिखर सगरमाथा चढ्न सक्ने महिला किन नेतृत्वको शिखरमा चढ्न सक्दैनन् ? १०९ औं विश्व नारी दिवसको अवसर पारेर यस विषयलाई गहन रुपले सोच्नुपर्ने देखिन्छ ।
आधा आकाश ढाकेका, एक रथका दुई पाङ्ग्रा, पचास प्रतिशतभन्दा बढी जनसङ्ख्या ओगटेका जस्ता नाम र विशेषणले महिलालाई चिनाउने काम गरिन्छ । तर यो एक्काइसौँ शताब्दीमा आएर पनि महिला सधैँ पुरुषको सहायक मात्रै बनेर बस्नुपरेको छ । कस्तो विडम्बना यो महारानीको देशमा पनि ! हो, बेल्पाली महिलाको इतिहास पन्ध्र/बीस वर्षमात्रै लामो छ । तर यस अवधिमा दुई तीन सय संगठन स्थापना हुँदा किन यसको नेतृत्व प्राय: पुरुषहरुले मात्रै गर्ने ?
नारी दिवसजस्ता कार्यक्रममा पुरुषहरु ‘नारीलाई समान हकअधिकार दिइनुपर्छ ।’ भनेर भाषण छाट्छन् । तर संगठनको चुनाव आउँदा महिलालाई पन्छ्याउँदै पुरुष आफैँ नेतृत्वको कुर्चीमा विराजमान हुन्छन् ।
मैले विगतमा दुई संस्थाको नेतृत्व प्रदान गरेँ । पहिलो संस्था छोड्दा, संस्थाभित्र गहन सङ्घर्ष र सरसल्लाहपश्चात् एक नारीलाई नेतृत्व हस्तान्तरण गरेँ । जसमा म अति नै गर्व गर्छु । दोस्रो संस्था छोड्दा पनि मैले महिला उपसमितिको निवर्तमान अध्यक्षलाई मूल संस्थाको अध्यक्ष हुनुहोस् भनेर प्रोत्साहन नगरेको होइन । तर मैले भनेजस्तो हुन सकेन, अन्तत: एक पुरुषले नै मलाई बदला गर्नुभयो । मैले भन्न खोजेको यो हैन कि पुरुषले संगठन हाँक्न हुन्न । मेरो भनाइ के मात्रै हो भने महिलालाई नेतृत्वमा ल्याउन पुरुषले प्रोत्साहन गर्नुपर्छ । अनिमात्रै समाजरुपी रथ भविष्यको गोरेटोमा कतै नअड्किएर सजिलै गुड्न सक्छ ।
केही ठूला र क्रियाशील संस्थाहरुमा अहिले महिलाको नेतृत्व छ । किरात राई यायोक्खामा कल्पना राई, तामाङ सोसाइटीमा अन्जु तामाङ, बाग्लुङ समाजमा छविमाया पुन, जिगेसोमा लीलादेवी गुरुङ, फोनिजमा प्रमिला लाबुङ राईले अध्यक्षको कार्यभार सम्हाल्दै हुनुहुन्छ । यी महिला नेतृहरुलाई निश्चय नै त्यो गरिमामय र जिम्मेवारपूर्ण पदमा पुग्न सजिलो भएन होला । पुरुष प्रतिद्वन्द्वीहरुसँग ठूलै युद्ध गर्नुपरेको थियो होला वा पुरुषले ती महिलालाई ससम्मान आफ्नो स्थान छोडिदिएर नेतृत्वको कुर्चीमा बसालेका पनि हुन सक्छन् । जेहोस्, ती समुदायका पुरुष र महिला दुवैले गर्व महसुस गरेको हुनुपर्छ ।
यिनै उदाहरण बेल्पाली अन्य संगठनहरुमा पनि दोहोरिन पर्यो भन्ने मेरो मूल आशय हो ।
मगर संघ युकेलाई पनि चुनावको रौनकताले छाएको छ । अप्रिल, २०१९ मा छैटौँ अधिवेशनले नयाँ कार्यसमितिको चयन गर्ने छ । यसभन्दा अघि अध्यक्ष पदका लागि एक मगर महिला चुनावको मैदानमा उत्रेकी हुन् । आखिरमा नतिजा पुरुषको पोल्टामा पुग्यो । यसपालि अति नै अनुभवी, क्रियाशील, सशक्त र लामो समय सपरिवार नै आफ्नो समुदायलाई अर्पेकी वर्तमान उपाध्यक्ष अनिता रानामगर अध्यक्ष पदका लागि दावेदार देखिनुहुन्छ । एकै रथका दुई पाङ्ग्रा मान्ने महिलालाई पुरुषले ससम्मान उच्च पदमा आसिन गराउनुपर्छ । यदि मगर संघ युकेले यो सौभाग्य चुकायो भने आधा आकाश नै कालो बादलले बेरिने छ । पुन: यत्तिको सक्षम मगर महिला पाउन दशकौँ कुर्नुपर्ने छ ।
आदिवासी बुुज्रुकहरु विश्व नारी दिवसजस्ता भेलामा ‘हाम्रा महिलालाई हामी धेरै स्वतन्त्रता, हक र अधिकार दिन्छौँ । हिन्दू धर्मावलम्बी महिलाहजस्तो बन्धन छैन ।’ भनेर आश्वासन दिएको सुनिन्छ । घरेलु र स्थानीयस्तरमा यो कुरा साँचो हो । होला, घरमा बुहारी सासुससुरा र लोग्नेको अधिनमा बस्न पर्दैन, घरको तालाचाबी बुहारीको हातमा हुन्छ । तर आदिवासी जनजातिका क्षत्रीय, राष्ट्रिय र अन्तर्राष्ट्रियस्तरका संगठनमा यो कुरो व्यवहारमा लागू भएको विरलै पाइन्छ । कार्यसमितिको माथिल्लो पङ्क्तिमा पुरुषहरुकै हालिमुहाली देखिन्छ । सच्चा आदर र सम्मान गर्ने हो भने उपाध्यक्ष भइसकेका महिलालाई अध्यक्ष पदमा बसेर काम गर्ने वातावरण बनाइदिनुपर्छ । पुरुषजत्तिकै सक्षम नहोलान् तर पुरुषले साथ र सहयोग दिएर संगठन सञ्चालन गरियो भने भविष्यमा महिलाहरुमा स्वत: क्षमता वृद्धि भएर आउने छ ।
महिला हकअधिकार र नेपालमा आदिवासी जनजातिका हकअधिकारका आन्दोलनका स्वरुपहरु एउटै देख्छु म । समावेशीय अनि जनसङ्ख्याको सिद्धान्तलाई आधार मानेर राज्यले आदिवासी जनजातिलाई हकअधिकार दिनैपर्छ भनी माग गरिन्छ । त्यही सिद्धान्त आदिवासी जनजातिका सङ्गठनमा महिला हकअधिकारको विषयमा पनि लागू हुनुपर्यो भन्ने मेरो मान्यता हो । सक्षम महिलामात्रै संगठनको नेतृत्वमा आउनुपर्छ भन्ने मान्यता राख्ने हो भने आदिवासी जनजातिले राज्यसत्तासँग समान हकअधिकारको मुद्दा नउठाए पनि भयो नि !
बेल्पाली महिलालाई सङ्गठनको नेतृत्वमा बसेर काम गर्न न डोको, नाम्लो न उकाली ओरालीले बाधा पुर्याएका छन् । न छाउपडीको कुसंस्कार, न सासुससुराको कचकच र कुटीकोदालीजस्ता दैनिकीले छेकेका छन् । बेल्पाली महिलाहको घरपरिवार सम्हाल्दै पनि पूर्ण रोजगारीमा लागेर पुरुषकै समान आयस्रोत छ । हातमै कलेज, विश्वाविद्यालय अनि सीप र दक्षताका प्रमाणपत्र छन् । साथैमा गाडीको साँचो, स्मार्ट आइफोन र कम्प्युटरका किबोर्ड छन् । बेल्पाली महिलालाई परिवारका एक दर्जन सदस्यलाई अगेनामा ढिँडो र आटो ओडाल्न अगुल्टो ठोस्न परेको छैन । माइक्रो वेभ र ओभनको स्विच घुमाइदिए भइहाल्छ । ग्यासकुकर र राइसकुकरमा तताए र बफाए तीन चार परिवारको खाना एकैछिनमा पाक्छ । यहाँका महिलालाई भालेको डाँको नफुर्दै अँधेरीमा उठेर गाग्री बोकी पँधेरी धाउनु परेको छैन । पानीको धारा खोले किचनमै पिउने पानी झर्छ । बेल्पाली दिदीबहिनीहरुलाई घन्टौँ हिँडेर बिहीबारे बजार भर्न जानु परेको छैन । केही मिनेटको हिँडाइ वा गाडीबाट आस्दा, टेस्कोमा सपिङ गरे एक हप्तालाई पुग्ने खाद्य सामग्री जोरिन्छ ।
यसरी हरतरहले नेपालका महिलाभन्दा बेल्पाली महिला कुशल जिन्दगी बिताइरहेको अवस्थामा किन सङ्गठनहरुमा नेतृत्वको जिम्मा लिन नसक्ने ?
दुई सयभन्दा बढी संघ, संगठनहरु भएको ठाउँमा सीमित महिलाहले मात्रै नेतृत्व सम्हालेको देख्दा यो गणितीय हिसाबले पनि मान्य भएन जस्तो लाग्छ मलाई । ५० प्रतिशतभन्दा बढी महिलाको जनसङ्ख्या छ भने कम्तीमा पनि एक सय संगठनहको नेतृत्व महिलाद्वारा गरिनुपर्ने होइन र ? यस्ता प्रश्न उठ्नु स्वाभाविकै हो । विश्व नारी दिवसजस्तो दिनमा यस्ता विषयमा विमर्श गरेर समाधानका उपाय प्रभावकारी ढंगले कार्यान्वयन गर्नतिर हामी सबै बेल्पाली लाग्नैपर्छ ।






