सरकारको व्यवहारले विद्यालय सञ्चालन चुनौतीपूर्ण : महेश पाण्डे

SHARE:

महेश पाण्डे
संस्थापक प्रिन्सिपल, न्यू मालश्री इंलिस स्कुल

बहुआयामिक युवा व्यक्तित्व हुन्, महेश पाण्डे (३०) । नुवाकोट भद्रुटारमा जन्मेका पाण्डे काठमाडौं टोखा नगरपालिका ३ स्टार टाउनस्थित न्यू मालश्री इंलिस स्कुलका संस्थापक प्रिन्सिपल हुन् । शैक्षिक व्यवसायका बाबजुद उनी साहित्य, पत्रकारिता र संगीतमा पनि आक्कलझुल्कल देखा पर्छन् । मानविकी संकायमा स्नातकोत्तर तह अध्ययन गरी ११ जना विद्यार्थीबाट २०६९ सालमा मालश्री विद्यालय सुरु गरेका थिए । जुन विद्यालयमा अहिले चार सय विद्यार्थी अध्ययनरत छन् । प्रिन्सिपल पाण्डेले ६ वर्षअघि विद्यालयमा गरेको ५ लाख लगानी कयौं गुना वृद्धि भएको छ । उनी शिक्षाका संवाहक त हुन् नै रोजगारीका लागि विदेसिने युवा जनशक्तिलाई नेपालमै रोक्न सफल बनेका छन् । मालश्रीमा अहिले शिक्षक/शिक्षिकासहित ३० जना स्टाफ छन् । २०६१ सालमा जन्मगाउँ नुवाकोटबाट काठमाडौं झरेर अध्ययन, २०६४ सालमा आफ्नै लय र शब्दमा ‘झझल्को आइरहनी’ लोकदोहोरी एल्बम निकाले भने केही समय ‘रचना’ साहित्यिक मासिक पत्रिकाको प्रशासक/सम्पादक बनेका थिए उनी । नेपालमै केही व्यवसाय गर्नुपर्छ र गुणस्तरीय शिक्षा प्रदान गर्ने अभियानमा रहेका प्रिन्सिपल महेश पाण्डेसँग एभरेस्ट टाइम्सले गरेको कुराकानी :


विद्यालय सञ्चालनको कन्सेप्ट कसरी बन्यो ?
आफ्नो क्षेत्र र विगतको कार्यानुभवले गर्दा स्कुल खोल्ने योजना बनेको हो । त्यसमा परिवारको सबभन्दा ठूलो हात छ । स्थापनाकालमा बुबा, आमाले निकै सहयोग गर्नु भयो । अहिले श्रीमती पुनम भण्डारी विद्यालयमै प्रत्यक्ष संलग्न भएर सपोर्ट गरिरहेकी छिन् ।
विद्यालय स्थापनाको मूल उद्देश्यचाहिँ ?
अधिकांश भाइबहिनीहरु नेपालमा शिक्षा राम्रो भएन भनेर विदेसिनुपर्ने अवस्था छ । गुणस्तरीय शिक्षा देशमै प्रदान गर्न सकियो भने उनीहरुको भविष्यका साथै देश विकासमा सहयोग पुग्छ भनेर शैक्षिक व्यवसाय सुरुआत गरेको हुँ ।
शिक्षा, स्वास्थ्य क्षेत्र संविधानको मौलिक हकअन्तर्गत रहे पनि यो क्षेत्र व्यापारको रुपमा विकसित हुँदैछ । यस विषयमा के भन्नुहुन्छ ?
शिक्षा सेवामूलक व्यापार पनि हो । तर, आफूले गुणस्तरीय शिक्षा प्रदान गर्न सकेमा अभिभावकले खुसीसाथ शुल्क तिर्ने र सोही शुल्कले विद्यालय सञ्चालन हुने हो ।
तपाईंहरुको विद्यालयले सरकारले तोकेको प्रतिशत बराबर छात्रवृत्ति दिएको छ त ?
सरकारले जम्मा विद्यार्थी संख्याको आधारमा १० प्रतिशत छात्रवृत्ति दिनुपर्ने भनेको छ । तर, हामीले विपन्न वर्ग, जेहेन्दार र पिछडिएका क्षेत्रका विद्यार्थी भाइबहिनीहरुको अवस्था हेरी सरकारी नियमभन्दा बाहिर गएर पनि बढी नै विद्यार्थीलाई सहयोग गरिरहेका छौं । ग्रामीण क्षेत्रका विद्यार्थीको बाहुल्य रहेको मालश्री इंलिस स्कुलले शिक्षा सबैले पाउनुपर्छ भन्ने मान्यता राखेको छ ।
यो विद्यालयका अन्य विशेषता के के छन् ?
अन्य भन्दा फरक धार र ढंगबाट सञ्चालित विद्यालय हो, न्यू मालश्री इंलिस स्कुल । हामी किताबीमात्र नभई संस्कारसहितको व्यवहारिक शिक्षा प्रदान गर्दै आजको सूचना र प्रविधिको भरपुर प्रयोग गरी विद्यार्थी भाइबहिनीहरुलाई शिक्षा दिने प्रतिबद्ध र्छौं ।
विद्यालय सञ्चालन कत्तिको चुनौती छ ?
अहिलेको परिप्रेक्ष्यमा सरकारी उदासिनता र निजी तथा संस्थागत विद्यालयलाई हेर्ने नजर र व्यवहारले गर्दा विद्यालय सञ्चालन चुनौतीपूर्ण बन्दै गइरहेको छ । मुख्य कुरा कानुनी जटिलता हो ।
सरकारद्वारा गठित उच्चस्तरीय शिक्षा आयोगको सुझावअनुसार आगामी सात वर्षमा सबै निजी विद्यालयलाई पनि गुठीमा लैजाने भन्ने छ, यसमा तपाईंहरु राजी हुनुहुन्छ ?
कम्पनी ऐनअन्तर्गत विद्यालय सञ्चालन गर्न सकिने प्रावधान रही आएकोमा अहिले एक्कासी सम्बन्धित पक्षसँग कुनै छलफल र बहसबिनै निश्चित समयसीमा तोकेर विद्यालयलाई शैक्षिक गुठीअन्तर्गत लैजानुपर्ने अथवा मास्नेतर्फ लैजाने जुन बहस चलिराखेको छ, यो असाध्यै असान्दर्भिक छ । यदि सरकारले आफ्नो तर्फबाट सरकारी शिक्षालय गुणस्तरीय बनाउँदै सम्पूर्ण विद्यार्थीको जिम्मा लिन्छ भने हामीलाई केही अप्ठेरो छैन । निजी क्षेत्रको लगानीको सुरक्षा पनि गरिदिनुपर्छ ।
नेपालमा प्राय: व्यवहारिक शिक्षा नभएको गुनासो उठिरहन्छ, किन ?
निजी विद्यालयले व्यवहारिक शिक्षा नदिएको भन्नु नितान्त आरोप हो । विशिष्ट खेलाडी, संगीतकार, लेखकजस्ता व्यक्ति उत्पादन गर्न नियमित रुपमा अतिरिक्त क्रियाकलाप सञ्चालन गर्दै आइरहेको सन्दर्भमा कसरी व्यवहारिक शिक्षासँग जोडिएन ? र, निजी शैक्षिक संस्थाले जीवनोपयोगी शिक्षालाई प्रश्रय दिइरुहेको कुरा यहाँबाट नै प्रस्ट हुन्छ कि अहिलेका चर्चित फुटबल खेलाडी विमल घर्तीमगर लगायत निजी विद्यालयकै प्रोडक्ट हुन् ।
मालश्री स्कुलको आगामी योजना के के छन् ?
कक्षा व्यवस्थापन गर्ने हिसाबले कक्षा नियमित थप गर्दै आइरहेका छौं । नयाँ शैक्षक सत्रदेखि कक्षा ९ सञ्चालन गर्दै सरकारको मापदण्डबमोजिम कक्षा १२ सम्मको यात्रा तय गरिसकेका छौं । त्यस्तै, यही वर्षदेखि विद्यार्थीका शैक्षिक क्रियाकलापका लागि आवश्यक सम्पूर्ण पूर्वाधारहरु समेत पूरा गरी पूर्ण प्रविधिमैत्री कक्षा सञ्चालन गर्दै छौं ।
तपाईं त साहित्य, संगीत क्षेत्रमा हुनुहुन्थ्यो नि ?
२०६४ सालमा आफ्नै लय र शब्दमा ‘झझल्को आइरहनी’ लोकदोहोरी एल्बम निकालेको थिएँ । जुन एल्बममा गायक खुमन अधिकारी र गायिका देवी घर्तीले साथ दिएका थिए । शोखले संगीत सुरु गरियो तर आवश्यकता थप रुचिको विषय भएकोले शैक्षिक व्यवसायमा लागेपछि त्यसमा ब्रेक लाग्न पुग्यो । अब फेरि पुनर्जीवित गर्ने सोच छ ।
नुवाकोटबाट काठमाडौं झरेर आफैं प्रकाशक/सम्पादक भएर ‘रचना’ साहित्यिक मासिक पत्रिका केही समय प्रकाशन पनि गरेँ । अहिले पनि समय मिलेमा साहित्य सिर्जना गर्छु । विशेषत: गीत लेख्ने गर्छु । लेखिसकेका गीतलाई एल्बममा रुपान्तरण गर्ने तयारीमा छु ।
सफल व्यवसाय गर्न नेपाली दाजुभाइ, दिदीबहिनीलाई के सुझाव दिनुहुन्छ ?
नेपाली दाजुभाइ, दिदीबहिनीहरुमा निराशा छाइरहेको छ । कुनै पनि व्यवसाय नेपालमै गर्ने तर निरन्तरता दिन नसक्दा असफल भएका कयौं उदाहरण छन् । तर, धैर्यता र संयमतासहित अघि बढे सफलता प्राप्त हुन्छ । लगाव हुनुपर्छ नत्र कहाँ सफल होइन्छ र !
केही गर्न चाहने युवाशक्ति लगानी नभएर तड्पिरहेका पाइन्छन् नि ?
इच्छाशक्ति महत्वपूर्ण कुरा हो । कुनै पनि कार्यलाई निरन्तरता दिएर सफलताको शिखरमा पुग्न दृढ इच्छा राख्नेहरुका लागि लगानी अभाव हुँदैन भन्ने मेरो छोटो अनुभवले बताउँछ ।
सामाजिक संघसंस्था कत्तिको सक्रिय हुनुहुन्छ ?
लाइन्स अन्तर्राष्ट्रिय डिस्ट्रिक्ट ३२५ बी वानको क्याबिनेट अफिसर, निजी तथा आवासीय विद्यालयहरुको छाता संगठन (प्याब्सन) को टोखा नगर समितिअन्तर्गत परीक्षा संयोजकको रुपमा कार्यरत छु ।
अन्तमा, अबको योजना ?
शिक्षाको सेवामूलक व्यवसायलाई नियमित गर्नेछु । विद्यार्थीको उज्ज्वल भविष्यको रुपरेखा कोर्ने, अहिलेको पुस्ता विदेशमा बिक्ने नभई स्वदेशमा रोक्ने प्रयास गरिरहने अठोट छ । त्यसलाई पूरा गर्न यही क्षेत्रमा लागेको हुँ । र, समय मिलाएर संगीत, साहित्य क्षेत्रमा लाग्ने योजना छ

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!