मेलम्ची (सिन्धुपाल्चोक) । मेलम्ची खानेपानी आयोजनास्थलमा करोडौंका उपकरण, सवारी साधन र मेसिन थन्किएका छन् । ठेकेदार कम्पनी सीएमसीले काम छाडेपछि उपकरणहरू आयोजनास्थलमा थन्किएका हुन् ।

काम रोकिए पनि सामान फिर्ता लैजान नदिँदा झन्डै ३० करोड बराबरको मेसिन र सामान अलपत्र परेको पीडित र्फमवाला र ठेकेदारले बताएका छन्। ‘पाँच जेसीभी, तीन एक्जाभेटर, एक टिपरसहित बोलेरो तीन महिनादेखि यत्तिकै थन्किएका छन्, हामीलाई छुन पनि दिइएको छैन,’ सीएमसी पीडित संघर्ष समितिका सचिव राजकुमार भट्टराईले भने। समितिका १२ र्फमवालामध्येको ३० करोडका उपकरणसहित सवारी आयोजनास्थलमा खिएर बिग्रने अवस्थामा पुगिसकेको सुनाए।
क्रेनसहित सवारी साधन र सामग्रीको पैसा सबै हड्पेर राखेपछि आफूहरू दोहोरो मारमा परेको व्यवसायी दिनेश श्रेष्ठले बताए। ‘त्यतिखेर सीएमसीले दिएन भने हामी दिन्छौं भनेर मेलम्ची खानेपानी आयोजना बोर्डले ढुक्क बनायो, अहिले न पैसा छ न उपकरण फिर्ता पाइयो,’ उनले भने।
आयोजनाको सुरुङको काममा खटिएका पूर्णबहादुर लामिछानेले सात महिनाको तलब नपाएको बताए। ‘मजस्तै सात सय मजदुरले दुईदेखि आठ महिनाको पारिश्रमिक पाएका छैनन्,’ उनले भने। बहुप्रतीक्षित मेलम्ची खानेपानी आयोजनामा काम गरिरहेका सीएमसीका कर्मचारीले समेत पारिश्रमिक पाएका छैनन्। स्थानीय रूपमा काम गरिरहेका कर्मचारीको झन्डै करोड बराबर तलब नपाइएको गुनासो छ।
अन्तिम फिनिसिङलागयतका पाँच प्रतिशत बाँकी रहँदा ठेकेदार कम्पनी भागेपछि मेलम्ची खानेपानी आयोजना अन्योलमा छ। मेलम्चीमा खनिसकेको साढे २७ किलाेमिटर सुरुङमध्ये दुई किलाेमिटरमा फाइनल फिनिसिङ (पिच गर्ने), तीनमध्ये दुई वटा भेन्टिलेसन साफ्ट निर्माण, हाइड्रो मेकानिकल जडानको काम बीचैमा रोकिएको छ।






