काठमाडौं । सरकारले नेत्रविक्रम चन्द नेतृत्वको विप्लव समूहमाथि प्रतिबन्ध लगाएसँगै सुरक्षा संयन्त्र कडारुपमा उत्रिएको छ । नेपाल प्रहरीको विशेष ब्युरोले विभिन्न युनिटको सहयोगमा १७ जनालाई पक्राउ गरेर हिरासतमा लिएको हो ।
नेपाल प्रहरीका एक उच्च अधिकारीका अनुसार पक्राउ पर्नेमध्ये अधिकांशलाई हाल काठमाडौं प्रहरी परिसर, टेकुको हिरासतमा राखिएको छ । ती अधिकारीका अनुसार पक्राउ पर्ने सबैभन्दा उच्च तहका नेता विप्लव समूहका पोलिब्युरो सदस्य जीवन्त भनिने मोहन कार्की छन् ।

विप्लव समूहले प्रधानमन्त्री केपी शर्मा ओली, नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा लगायतको नाम नै किटेर ‘ध्वस्त’ बनाउने योजना तयार पारेको दस्तावेज भेटेपछि सरकार झस्किएको थियो । गत २३ साउनमा पक्राउ परेका विप्लव समूहका दोस्रो वरियताका नेता खड्गबहादुर विश्वकर्मा प्रकाण्डको साथबाट बरामद डायरीमा ती विषय भेटिएका थिए ।
तर, ती विषयलाई सरकारले नजरअन्दाज गरेको थियो । जब २४ फागुनमा वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष रोहन गुरुङको बसुन्धारास्थित घरमा राखिएको कारमा विष्फोट भयो, कपिलवस्तुस्थित सिम्बरी डाँडामा रहेको विप्लवको गाउँमा सर्च अपरेशन चलाउने क्रममा ठूलो परिणाममा हतियार र गोली बरामद भयो र धरानमा समेत त्यहीअनुरुप अत्याधुनिक हतियार बरामद यो तब, सुरक्षा निकाय र सरकारले झड्का लागेको थियो ।
हाल समूहमाथि प्रतिबन्ध लागेसँगै नेपाल प्रहरीले विप्लव समूहका नेता, कार्यकर्तालाई जहाँ भेट्यो, त्यहीँ पक्राउ पर्ने नीति लिएको छ । पछिल्लो समय नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभागले संयुक्त टोली खटाएर विप्लव समूहमाथि निगरानी गरिरहेको छ ।
त्यसमा फ्रन्टलाइनमा भने नेपाल प्रहरी नै छ । नेपाली सेनाको टोली पनि विप्लव समूहको सूक्ष्म निगरानीमा खटिइरहेको छ ।






