सामाजिक अभियन्ता एवं साहित्यकार राधा पौडेल एक दशकदेखि स्वयम्सेवाको रुपमा कार्यरत छिन् । स्वास्थ्यकर्मका सिलसिलामा जुम्ला पुग्दा सिर्जना गरेको ‘खलंगाको हमला–एउटी नर्सको डायरी’ कृतिबाट मदन पुरस्कार पाएकी थिइन् उनले । कविता लेखनमा निक्कै रुची राख्ने चितवनकी लेखक तथा स्वास्थ्यकर्मी पौडेलले ‘शान्तिका पाइलाहरु’, ‘मर्यादित महिनावारी हामी सबैको जिम्मेवारी’, ‘अपवित्र रगत’ जस्ता चार पुस्तक लेखीसकिन् । एक्सन वोर्कस नेपाल, राधा पौडेल फाउन्डेशनजस्ता संस्था खोलेर नेपालमा जरा गाडेको छाउपडी प्रथाविरोधी र मानवअधिकार अभियानमा लागेकी पौडेल अहिले तीन हप्ते बेलायत भ्रमणमा छिन् । भ्रमणको उद्देश्य, महिला अधिकारबारे एभरेस्ट टाइम्सका लागि पूर्ण गुरुङले गरेको भलाकुसारीको सम्पादित अंश ।
कहिले बेलायत आउनुभयो ?
यही मार्चको ३ तारिख लन्डन आइपुगेँ । त्यसपछि ब्रिटिस एकेडेमी, लिभरपुल युनिभर्सिटीमा प्रस्तुतिकरण गर्नुपर्ने र केही मिटिङहरु थियो । ती कार्यक्रम र बैठक भ्याइसकेपछि बेजिङस्टोकमा आइयो । त्यस बीचमा लन्डनस्थित नेपाली राजदूतावासमा पनि कार्यक्रम थियो, अन्तर्राष्ट्रिय महिला दिवसको । मलाई वक्ताको रुपमा बोलाइएको थियो, सहभागी भएँ ।
कति दिने भ्रमण हो ?
मार्च २२ तारिखमा नेपाल फर्किन्छु । तीन हप्ताको बसाइ हुन्छ ।
कसको निमन्त्रणामा आउनु भएको हो ?
रिसर्च प्रोजेक्ट हो, डिग्निटी विथदाउट डेन्जर । नेपालमा महिलाहरुले महिनावारी हुँदा कस्ता खालका समस्या भोग्नुपर्छ, अभ्यास, संस्कृतिहरु कस्ता छन् भन्ने लिभरपुल युनिभर्सिटी, स्वास युनिभर्सिटीसँगै मिलेर अनुसन्धान गर्ने । दुई वर्षे यो प्रोजेकको साझेदार संस्था राधा पौडेल फाउन्डेशन हो । उहाँहरुले राधा पौडेल फाउन्डेशनलाई वक्ताको हिसाबमा अन्तर्राष्ट्रिय महिला दिवसको अवसर पारेर बोलाउनु भएको हो । नेपालको मात्रै नभई संसारभरि महिनावारीका बेला हरेक छोरी वा महिलाहरुले मर्यादित जीवन जिउनुपर्छ भन्ने मेरो सिद्धान्त हो । त्यो सिद्धान्तको वकालत गर्ने पहिलो व्यक्ति भएको नाताले पनि उहाँहरुले मलाई बेलायत बोलाउनु भएको हो । मलाई डाक्नेमा डा. शेरा पार्कर हुनुहुन्छ । उहाँले मेरो किताब पढेर तीन वर्ष अगाडि खलंगाको हमला अंग्रेजी ट्रान्सलेसन अमेरिकाको एक कार्यक्रममा भेट्नुभयो । त्यो किताब पछिसकेपछि मलाई उहाँले फलो गर्न थाल्नुभयो । र, अन्तत्वगत्वा डिग्निफाइड मिन्सुरेसनमा उहाँ धेरै प्रभावित हुनुभएर प्रेरणा पाउनु भयो अरे ! त्यसैले तिमीले साझेदार संस्थाको रुपमा काम गर न । बेलायतले धेरै कुरा सिक्नु छ भन्ने सन्दर्भमा म यहाँ आएकी हुँ ।
तपाईंको पहिलो पुस्तक खलंगाको हमलामा के विषय समेट्नु भएको छ ?
सन् २००२ मा जुम्लामा तत्कालीन नेकपा (माओवादी) र नेपाल आर्मीबीच १३ घण्टा भिडन्त भएको थियो । त्यो भिडन्तको समयमा मैले कसरी रात गुजारेँ । कसरी बाँचे । सँगै बैठकमा बसेका मेरा साथीहरु कसरी मरे, किन मरे । किन इनोसेन्ट नेपालीहरुले बन्दुक उचालेर आफ्नै दाजुभाइलाई मारे भन्ने प्रश्नको उत्तर खोज्दै जाँदा जवाफ पनि आफैंले पाएँ । नेपालमा जात, लिंग, भाषा र क्षेत्रका आधारमा विभेद छ, त्यो विभेदबाट मुक्तिका लागि मानिसहरुले बन्दुक उठाए । आफ्नै दाजुभाइ मारे । यो शान्तिको परिभाषा, सामाजिक न्यायको परिभाषा हामीले विश्वविद्यालयमा पढ्ने गर्छौं । यसलाई नेताहरुले, राज्यले डिफाइन गर्ने गर्छ । त्यो परिभाषा वास्तविक परिभाषा होइन । गरिब, पछाडि परेका दलित, जनजाति महिलाका लागि शान्ति, सामाजिक न्याय फरक कुरा हुन् । कसैले पनि बुझेनन् भनेर त्यसको परिभाषा बुझाउन अथवा रिडिफाइन गर्नका लागि यो किताब लेखेको हुँ ।
२०५९ साल कार्तिक २८ गते राति १३ घण्टा खलंगामा भएको भीषण आक्रमण कस्तो रह्यो । त्यसलाई मैले कसरी अनुभूति गरेँ । कसरी मरेर बाँचे । मेरा सँगैका साथीहरु कसरी मारिए भन्ने कुराको सारांश मात्रै हो । पुस्तकमा खलंगा आक्रमणपछिका केही घटना पनि समेटेकी छु ।
यो पुस्तक लेख्न केले प्रेरित गर्यो ?
खलंगा हमला भएको दिउँसो एउटा कार्यक्रम थियो । जहाँ प्रमुख जिल्ला अधिकारी, जिल्ला प्रहरी कार्यालयका डिएसपी, स्थानीय विकास अधिकारी सबै हुनुहुन्थ्यो । कार्यक्रममा हामीले अस्पताललाई कसरी राम्रो बनाउने, गुणस्तरीय सेवा कसरी पुर्याउने भन्ने सन्दर्भमा कुरा गर्दा उहाँहरुले भन्नुभएको थियो, ‘हामीलाई काम गर्न असिलो छैन, सुरक्षा नै राम्रो छैन । हरेक दिन मरेर बाँचिरहेका छौं ।’ दिउँसो करिब ४ बजेतिर त्यस्तो छलफल भएकोमा त्यसै रात करिब साढे नौ बजे क्रस फायर भयो । बम ब्लास्ट त सधैं नै भइरहन्थ्यो । भिडन्तको भोलिपल्ट मरेका मान्छेहरुका लास कलेक्सन गर्दै जाँदा डिएसपी विजेश्वर घिमिरेको लास भेटिएन । पुलिसहरुले लाउने वेल्ट र जुत्ताको टुक्राको आधारमा उहाँकै शव होला भनेर सतगद गरियो । त्यो डढेको टुक्रो टिप्दै गरेको मेरै आँखाले देखेको थिएँ । म त्यहाँ उभिरहँदा बेहोस् भएँ कि आइ लस माइ कन्सियनेस फर अ ह्वाइल । त्यसक्रममा तर्क, वितर्क, प्रश्न उत्तर आफैंमा आयो । कसरी सोलुसन निकाल्ने, शान्ति कसरी रिस्टोर गर्न सकिन्छ त ? काठमाडौंका मान्छेहरुलाई थाहा छैन, मन्त्रीहरुलाई थाहा छैन । राजनीतिक दलहरुलाई थाहा छैन । डोनरहरुलाई थाहा छैन । सबै मान्छेहरुले कर्णालीमा समस्या छ, जुम्लामा समस्या छ भन्ने तर के खालका काम गर्यौ भने शान्ति ल्याउन सकिन्छ भन्ने कुराचाहिँ थाहा छैन ।
तर, एउटा सामान्य महिला । जो नेपाल आर्मीसँग अथवा द्वन्द्वरत पक्षसँग पनि सम्बन्धित छैन । सामान्य एउटा नर्स । जसले त्यस्तो स्थान र अवस्थामा काम गर्दाको कुरा कसैलाई पनि थाहा छैन । कसैले पनि सुन्दैन । यदि यो मैले लेखिनँ भने मान्छेहरुले वास्तविकता र यथार्थता थाहा पाउँदैनन् । खलंगा हमलाको राति बाँचेका २/३ हजार मान्छे थिए । उनीहरुले लेख्न सक्दैनन् । लेखीहाले पनि उनीहरुको कुरा सुन्दैनन् । तर, मैले लेखिनँ भने मलाई पाप लाग्छ । मैले धर्म गर्ने हो, साँच्चिकै शान्तिका लागि कन्ट्रिव्यूसन गर्ने हो भने आइ ह्याब राइट इट, फर द डकुमेन्टेसन । फर द रिडिफाइनिङ वर्ड अफ पिस एन्ड जस्टिस भन्ने खालको फिलिङ आयो ।
मैले आफैंले लेख्नुपर्छ भन्ने प्रमिस गरेँ । त्यसपछि म सरासर डेरामा गएँ । त्यहाँको बरन्डामा बसेर जहाँ जे अनुभूति गरेको थिएँ, त्यहाँ लेखेकी हुँ । यो घटना हुँदा मेरी आमा जीवितै हुनुहुन्थ्यो । आमाको मृत्यु भएको विषय पछि सम्पादकहरुसँग छलफल गरेर थपिएको हौं । खलंगाको हमला पुस्तकको चुरो कथा छ त्यो साढे दुई दिनको लेखाइ हो ।
त्यसपछि अरु कुन कुन पुस्तक लेख्नु भयो ?
पुस्तक त त्यो भन्दा पहिले पनि लेखेकी थिएँ । खलंगाको हमलापछि पनि पुस्तकहरु प्रकाशन भएका छन् । सबभन्दा पहिलो मैले लेखेको कवितासंग्रह छ । सानोमा कक्षा ४ बाटै कविता लेख्थें । अनि स्कुलमा, स्टाफनर्स पढ्दाखेरी पोखरा नर्सिङ क्याम्पस, बीएड पढ्दा सप्तगण्डकी बहुमुखीमा प्रतियोगिता हुँदा मेरा कविता पहिलो भएको छ । पारिवारिक परिवेश, मेरो कमजोरी, हेलचेक्र्याइँ पनि होला, धेरैजसो गाउँ डुलिरहने, हिँडिरहने हुँदा थुप्रै कविताहरु हराएँ ।
२००९ को अन्तिमतिर फिलिपिन्स बसेर पढ्दै गर्दा ब्लग स्टाट गरेँ । त्यो ब्लगमा इन्टरनेट भएको बेला सिर्जनाहरु राख्न थालँे । कविताहरु डकुमेन्टेसन गर्न थालेँ । डेढ वर्षअघि म एक्सिडेन्टमा परेँ । जुम्लाको सनिगाउँ, जुन नेपाली भाषा उत्पत्ति भएको ठाउँ हो । त्यहाँ यूकेका नर्सहरुको संस्था र एनआरएनए युकेको च्याप्टरको साझेदारीबाट बनेको बर्थिङ सेन्टर छ । त्यो हस्तान्तरण गर्न जाने सन्दर्भमा घोडाबाट लडेर पाँच ठाउँमा हड्डी भाँचियो । पाँच महिना नै ओछ्यान परेँ । बिरामी परे पनि अझै केही गर्नु छ । एउटा हातमात्रै चल्थ्यो । मोबाइलबाट तान्दैतान्दै गरेर ‘शान्तिका पाइलाहरु’ भन्ने किताब तयार भयो । मेरा कविताले विशेषगरी पछाडि परेका, पारिएका जात, वर्ग, क्षेत्रका प्रतिनिधित्व गरी सामाजिक रुपान्तरण कसरी गर्न सकिन्छ भन्ने सन्देश दिन्छ जस्तो लाग्छ । बेडरेस्ट भइराखेको बेला ‘मर्यादित महिनावारी हामी सबैको जिम्मेवारी’ पुस्तक लेखेँ । म झन्डै ६१ वटा जिल्ला घुमेकी छु । १७/१८ वटा देश घुम्दा टिचर, हेल्थ वर्कर अथवा प्रोफेसर, रिसर्चरहरुलाई भेटेँ । विदेशमा बस्ने नेपालीहरुलाई भेटेँ । विदेशमा बसेर डाक्टर, प्रोफेसर भएर काम गरेकाहरुलाई भेटेँ । तर सबैतिर महिनावारीको विषय हाउगुजी रहेछ । महिनावारी भनेको धर्म हो, संस्कार हो । फोहोरी रगत हो । महिनावारी भएको बेला भान्छामा गयो, पुरुषहरुलाई छोयो । पूजाकोठामा गयो भने देउता रिसाउँछ । रोग लाग्छ । रुखबिरुवाहरु कुहिन्छ, डड्छन् जस्ता हाउगुजीहरु छन्, संसारैभरी । तर नेपालमा विशेषगरी डोमेस्टिक भ्वाइलेन्स भइरहेका छन् । यी सबैको मूल जरो मिन्स एन्ड रेस्टे«क्सन रहेछ । महिनावारी भएको होस/नहोस् । केटाकेटीले ५/६ वर्षमा महिनावारी बार्ने चलनका कारण म शक्तिशाली कि शक्तिविहीन भन्ने विचार निर्माण गर्दोरहेछ । यसको सम्बन्ध सबै खालको भ्वाइलेन्ससँग, सबैखाले पिससँग, इम्पावरमेन्टसँग सम्बन्धित रहेछ । तर, नेपालमा यसबारे कसैले पनि कुरा नगर्ने, दिनभरि मानवअधिकार, शान्ति, गोठमा नबस, स्वास्थ्य भनेको हामी सबैले राम्रो गर्नुपर्छ भनेर आउँछ । बेलुका घर गएर आफैंले महिनावारी बार्छन् ।
अफिसमा बस्दाखेरी पनि नजानिँदो किसिमले महिनावारी बारिरहेको हुन्छ । यो हाउगुजी, डरलाई जसरी नि ब्रेक गर्नुपर्छ । अपवित्र रगत निकाल्नुभन्दा पहिला मैले अंग्रेजीमा किताब लेखेकी थिएँ । महिनावारीबारे बोल्न मान्छेमा आत्मविश्वास छैन । महिनावारी हुँदा खाना, छुन हुने/नहुने र हिँडडुल गर्न हुने/नहुने झन्डै ५० भन्दा बढी बार्नुपर्ने कुरा छन् । ती कुराहरुलाई जबसम्म तोडिँदैन, तबसम्म मान्छेको हाउगुजी भाग्दैन ।
महिलाहरु इम्पावर हुँदैनन् र पुरुषहरुलाई पनि एकप्रकारको भित्र डर लाग्ने । अध्ययन अनुसन्धानबाट देखिएका झन्डै ५० भन्दा बढी बार्नुपर्ने विषयहरुलाई समेटेर तेस्रो सानो हाते पुस्तक निकालेँ । त्यसपछि पनि मेरो भोक मेटिएन । संसारभरि नै घुमेर हेर्दा महिनावारीलाई सानो घेरामा लगेर हेर्ने गरिएको देखेँ ।
हजारौं वर्षअघि पानी, कपडा हुन्थेन । यस्ता बहस हुन्थेन । त्यसैले गोठमा गएर बस्नुपर्छ भन्ने होलान् । यो ठीकै होला ।
अहिलेचाहिँ चर्पी बनाइदिउँ, सेनेटरी प्याड दिउँ । पानी दिउँ भन्ने छ । ती कुरा पनि महत्वपूर्ण हो । यी सामान प्रयोग गरेर पूजा गर्न नपाउने, पानी खाना नपाउने, घरमा भान्छा छुन नपाउने हो भने मलाई हेपिएको महसुस भयो, विभेद भयो । त्यसैगरी हिंसाका धेरै घटना भए । यी विषय पोलिसीमेकरले पनि जानेनन् । युरोप, अमेरिकाका जसले पैसा दिन्छन्, उसले पनि जानेनन् । विज्ञहरुले पनि प्याडका मात्रै कुरा गरे, शान्ति र मानवअधिकारका कुरा गर्ने संस्था र व्यक्तिहरुले पनि यसका बारेमा कुरा गरेनन् । धेरै जसो मान्छेहरुलाई यस्तो जानकारी पनि भएन ।
अहिले नेपाल सगरमाथाको देश भनेर चिनिएको छैन, बुद्धको जन्मस्थलको रुपमा चिनिएको छैन । गोठमा गएर महिला मर्ने, महिलाहरु महिनावारी भएको बेला भान्सामा जान नपाउने भनेर चिनिएको छ । बेलायतवासीसँग पनि महिनावारी बार्ने चलन रहेको मैले पाएकी छु । सिँगान आउँदा हुने, खकार आउँदा हुने, दिसा आउँदा हुने, रगत आउँदा चाहिँ किन नहुने ? त्यो रगत बगेर नै यत्रो संसार अगाडि बढेको छ । जतिखेर पृथ्वीमा महिला र पुरुष बने त्यतिखेर नै यो समाज अगाडि बढाउनु पर्छ भनेर सिर्जना गरेको महिनावारी । तपाईं/हामी सबै बन्ने शुभ रगतलाई चाहिँ फोहोर, जमेको, अशुद्ध भनेर गुमनाम राखेर यो वा त्यो तरहले कुरा नगरी आफ्नै छोरीहरुलाई जनावर जस्तो गरेर हुर्काउने/बचाउने ? छोराभन्दा तिमी फरक हो भन्ने । पढेको, बढेको छोरीले महिनावारी भएका बेला बाउलाई छुन नपाउने, भान्सा जान नपाउने, ५/६ वर्षका छोराचाहिँ जिन्दगीभर जहाँ पनि जान पाउने, जे खाना पनि पाउने ? छोरीलाई कमजोर भनेर मरिचजस्तो बनाउने र छोरालाई महिनावारी बार्नु पर्दैन, जेगर्दा नि हुन्छ भनेर हुर्काइका कारण समाजमा असमानता आएको छ । यो कुरा चिर्न साना साना विषयमा ख्याल गर्नु पर्छ । नत्र सरकारले ल्याएको समृद्ध नेपाल, सुखी नेपालीको अभियान पूरा गर्न सकिँदैन ।
नेपालको जनसंख्याअनुसार ५१ प्रतिशत रहेको महिलाहरु हरेक दिन तीन भागमा एक भाग जनसंख्या महिनावारी भइरहेका हुन्छन् । उनीहरुलाई हरेक दिन डिमोरलाइज गरेर, हेपेर, हिंसा गरेर कसरी समृद्ध नेपाल हुन्छ ? कसरी सुखी नेपाली हुन्छन् ? २१ औं शताब्दीमा विकसित देशहरुको अवस्थामा जान चाहने हो भने हामीले यस्ता विकृति, विसंगति, कुरीति, कुप्रथा, मानवअधिकार हननका घटनाहरुलाई हटाउँदै जानुपर्छ भन्ने मेरो ध्येय हो ।
कानुनी अवरोध कस्तो छ ?
कानुनले बन्देज लगाएको छ । सिभिल कोर्ट नयाँ बनेको छ । अगस्ट १, २०१७ बाट महिनावारीसम्बन्धी कुनै विभेद वा छाउपडी प्रथा अवलम्बन गरेको अवस्थामा तीन महिना जेल, तीन हजार रुपैयाँ जरिवाना अथवा दुवै हुन सक्नेछ भनेको छ । त्यो एक वर्षको समय राखेर अगस्ट १, २०१८ बाट प्रभावकारी हुने भनेर कानुन त आयो । तर, दुर्भाग्य त्यसको कार्यान्वयन भएको छैन ।
कानुनकै कुरा गर्ने हो भने २००५ सालमा सर्वोच्च अदालतले यो हानिकारक प्रथा हो, यसलाई हटाउ गाइडलाइन बनाउन भनेर आदेश गरेको थियो । २००८ सालमा महिला मन्त्रालयले छाउपडी गाइडलाइन भनेर डेढपेज जति बनाएर काम सुरु गर्यो । तर, त्यसमा कसैले रिपोर्ट गरेनन् । २०१७ सम्म आउँदा पनि कुनै केसको रिपोर्ट भएन ।
मर्यो, बलात्कारका केस भयो अथवा पुलिससम्बन्धी केस भयो भने रिपोर्ट भयो नत्र छुवाछूत, विभेद भएमा रिपोर्ट भएन । मलाई गाह्रो भयो भनेर कुनै पनि रिपोर्ट भएको छैन । २०१७ को अगस्टमा मलगायत साथीहरुले एउटा केस फाइल गर्यौं, जुम्लामा लगातार सर्पले टोकेपछि महिलाको मृत्यु । त्यो मुद्दा फाइल गरेँ तर दर्ता नै भएन । अहिलेसम्म त्यस्ता कुनै पनि केस रजिस्टर भएको छैन । कानुन त छ तर एकदमै अधुरो ।
मलाई बुवाले महिनावारी हुँदा छुन दिएन । अन्यत्रै लगेर राखे भन्न सक्ने छोरीहरु जन्माएका छैनौं हामीले । बेलायतका नेपाली छोरीहरुसमेत आमा, बुवाको खुसीका लागि बार्ने चलन रहेछ भने गाउँगाउँका छोरी, बुहारीहरुले कसरी भन्न सक्छन् ?
यो समस्या निराकरण गर्न के कस्तो गर्नुपर्छ ?
एकदमै सजिलो छ, पैसै चाहिँदैन ।
१, जुन मौनता छ, कुरै नगर्ने । महिनावारी महिलाहरुको व्यक्तिगत कुरो हो भन्ने छ । यसलाई तोड्नुपर्छ । तोड्नलाई घर, छिमेकीमा कुरा गर्ने ।
२, नेपालमा ५० प्रकारका बार्नु पर्ने कुराहरु छन् । यो बाहुन, क्षेत्रीको मात्रै कुरा होइन । सबै जातजातिमा, पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म । कुनै घरमा नहोला । बार्नुपर्ने मिथ्या हो, अवैज्ञानिक कुरा हो । यसलाई घटाउँदै जानुपर्छ ।
३ छोरी, महिलाहरुलाई महिनावारी भएका बेला डिग्निफाइडलाई कसरी व्यतित गर्न सक्छन् । कसरी इनेवल इन्भाइरोमेन्ट बनाउन सक्छन् भन्ने अकाउबिलिटी होल्ड गर्नुपर्यो । सबैको जिम्मेवारी हो, सबैले प्रयास गर्नुपर्छ ।
तपाईंको अभियान संस्थामार्फत् कि व्यक्तिगत तवरबाट ?
झन्डै एकदर्जनभन्दा बढी संस्थाहरु स्थापना गर्ने, समितिहरुमा बसेर काम गर्ने, मेन्टेरिङ, कोचिङ गरिसकेपछि नेतृत्व हस्तान्तरण गर्ने काम गर्दै आएकी हुँ । एक्सन वोर्कस सुरु गर्ने बेलामा फिलिपिन्सको पढाइसकेपछि अफ्रिकातिर जाने कि भन्ने सोचिरहेकी थिएँ । गरिब परिवारबाट आएकीले हेपिएको, लैंगिक विभेद, हिंसाबाट पीडित भएको कारण त्यसमै काम गर्ने मन थियो । मैले साथीहरु नपाइरहेको अवस्थाले अफ्रिकातिर गएर पढुँ भन्ने मुड आएको थियो । तर, पछि साथीहरुले बाहिर नजा, नेपालमा केही गर्न सकिन्छ, गरौं भनेर सुरु गरिएको एक्सन वोर्कस् नेपाल । ६ वर्ष फाउन्डर प्रेसिडेन्ट भएर काम गरेँ । थुप्रै जेनेरेसन, नयाँ लिडरहरु तयार भइसकेपछि जिम्मा लगाएँ ।
राधा पाडेल फाउन्डेसनचाहिँ मलाई विश्वास, माया गर्नेहरुका लागि प्लेटफर्म हो । मेरा घरपरिवारका मात्रै मान्छे नभएर संसारमै मलाई विश्वास गर्नेका लागि । कम्पनी रजिस्टारको कार्यालयमा दर्ता गरेको छु । यो विशुद्ध एनजीओ नभएर विजनेस फन्डमा काम गर्छ । यसले विशेष गरेर महिलाहरुको राजनीति, शान्तिमा सहभागिता, लैगिंक विभेदमा टे«निङ, रिसर्च, एडभोकेसीको लोकल, नेसनल र ग्लोबल लेभलमा काम गर्छ । यो संस्थाले चितवनमा कुहिने खालको प्याड उत्पादन गर्न थालेको छ । रोलमोडलको काम गर्ने ढंगले राधा पौडेल फाउन्डेशन सुरु गरिएको हो । मसँग संसारभरिका साथीहरुले भोलिन्टेयरको रुपमा काम गरिरहनुभएको छ । म पनि सन् २००९ देखि इन्टायरली भोलिटेयरको रुपमा २४ सैं घण्टा काम गरिरहेकी छु ।
प्याड उत्पादन थालिसक्यो ?
२०१४ सालमा कटनको कपडा प्रयोग गर्ने, त्यसलाई धोएर पुन: प्रयोग गर्न मिल्ने बनायौं । पहिला पहिला हामीले त टालै प्रयोग गर्यौं, थाहा नपाउँदाखेरी । टालो साइकल चलाउँदा, भारी बोक्दा, उकालो–ओरालो गर्दा अथवा हिँड्दाखेरी नै अप्ठेरो फिल हुने । सरेको फिल हुने । खस्ला खस्ला जस्तो हुने । अहिले बनाउँदै गरेको प्याड अड्काउन मिल्ने छ । अहिले १५/१६ जिल्लाहरुमा विद्यार्थी, शिक्षकहरु, केटाकेटी, बुढाबूढी सबैलाई राखेर तालिम दिएर गरिएको छ । कुहिने खालको प्याड सुरु गरेको चितवनमा ३ महिना भयो ।
दिनमा कति पिस निकाल्नुहुन्छ ?
मेसिनले निकाल्नुपर्ने दिनमा २ हजार हो । तर, हामीसँग सबैजना महिला हुनुभएकोले मेसिनसँग प्राक्टिस नभएको कारण छ सयको हाराहारीमा निकाल्नु भा छ । यो संख्या बढाउनु हुन्छ भन्ने विश्वासमा छु ।
माग कत्तिको छ ?
डिमान्ड एकदमै हाई छ । सस्तो पनि । एउटा प्याडलाई १० रुपैयाँमात्रै पर्छ । अहिले चितवनको माडी नगरपालिकासँग कुरा भइरहेको छ । नगरपालिकाले साझेदारी गर्छु भनेको छ । यसले स्थानीय तह र सरकारलाई पनि म्यासेज दिएको छ, नेपालमै गर्न सकिँदोरहेछ भन्ने । महिलाहरुले रोजगार पाउने । आफैंले उत्पादन गरेको सामानमा बढी माया हुन्छ । थुप्रै सांसदहरु पनि आएर हेर्नुभएको छ । बेलायत, अमेरिकाबाट समूह समूहमा विद्यार्थीहरु, संघसंस्थाका साथीहरु आएर हेर्नुहुँदा हामीलाई एकदमै खुसी लाग्छ । यसलाई बिजनेस मोडलमा लानका लागि हामीले धेरै मिहिनेत गर्नुपर्ने छ । सबैको साथ सहयोग चाहिन्छ ।
अन्त्यमा केही भन्नुहुन्छ कि ?
मर्यादित महिनावारीका फाइदाबारे अथवा डिग्नीफाइड मिन्सुरेसनका बारेमा घरमा कुरा गर्नुस् । आफ्ना छोरीहरु, श्रीमतीहरु र आमाहरुलाई साँच्चै नै सृष्टिकर्ता हुन् । यो शुद्ध रगत हो । बार्नुपर्ने, डराउनु पर्ने, हाउगुजी मान्नुपर्ने केही पनि कुरा छैन भनेर छलफल गर्न अपिल गर्छु ।