इङ्ल्यान्डमा भूमिगत जलभण्डार व्यवस्थापन र वातावरणीय प्रदूषण

SHARE:

विजय हितान


पृष्ठभूमि
इङ्ल्यान्डको दक्षिण पूर्वीय क्षेत्रमा ७५ प्रतिशतभन्दा बढी पिउने पानीको वितरण भूमिगत जलभण्डारबाट हुन्छ । यहाँ इनार खनी पानी तानेर पिउने चलन परापूर्वकालदेखिको हो । तर मेशिनको प्रयोगले जमिनमुनिको पानी तानेर घरघरमा वितरण गर्न थालिएको भिक्टोरियन युग अर्थात् अठारौँ शताब्दीको उत्तरार्धमा भएको पाइन्छ । जसै जनसंख्या बढ्यो बस्तीहरू बसालिन थालिए र उद्योगधन्दा खोलिन थालिए । यसले स्वच्छ पानीको मागलाई बढायो । उन्नाइसौँ शताब्दीको सुरुमा पानीको सतह घट्न र प्रदूषणको मात्रा बढ्न थाल्यो । फलस्वरूप मेशिनको प्रयोग गरेर गहिरागहिरा ट्युबवेलहरू धसाइन थालिए । शक्तिशाली पम्पको प्रयोग गरेर पानी तान्न सुरु गरियो । अहिले यहाँ जमिनको सतहदेखि असी नब्बे मिटर तलबाट पानी तान्ने गरेको पाइन्छ । ट्युबवेल धसाइएको बिन्दुबाट दायाँबायाँ एक किलोमिटरसम्म फैलिएका सुरुङ खनिएका हुन्छन् । यस्ता सुरुङले पानी जम्मा गर्नमा मद्दत पु¥याउँछन् । ठाउँठाउँमा अत्याधुनिक प्रशोधन केन्द्रहरू र रिजर्भर निर्माण गरिएका छन् । यिनै प्रविधि र संरचनाको सहायताले करिब नब्बे लाख जनसंख्यालाई अनवरत रूपले शुद्ध पानी आपूर्ति भैराखेको छ ।

भूमिगत जलभण्डार जस्तो अति नै दुर्लभ प्राकृतिक स्रोतको सदुपयोग कसरी गरिएको छ ? यसको मानवीय प्रयोग र पर्यावरणीय महत्वलाई कसरी सन्तुलित राखिएको छ ? प्रदूषणका के कस्ता चाप छन् ? भन्ने विषयमा यो लेख केन्द्रित हुनेछ ।

भूमिगत पानीको प्रयोग
यहाँ जमिनमुनिको पानी सबैभन्दा बढी घरेलु पिउने पानीको रूपमा प्रयोग गरिन्छ । बियर उत्पादन गर्ने जस्ता उद्योगधन्दाहरूले जमिनको पानी प्रयोग गर्छन् । यस क्षेत्रमा एक आणविक भट्टी छ । रियाक्टरलाई चिस्याउन ठूलो मात्रामा जमिन मुनिको पानी प्रयोग गरिन्छ । प्रायः खोलानालाबाट खेतीपाती सिँचाइ गरिए पनि कतैकतै जमिन मुनिको पानी पनि प्रयोग गरेका हुन्छन् । जमिन मुनिको पानीलाई तानेर घरहरूलाई न्यानो राख्न प्रयोग गरिन्छ । यो प्रणालीमा पानीलाई हिट पम्पले तानिन्छ र पछि जमिनमै मिसाइन्छ । १९६० र ७० को दशकसम्म घरमा पिउनका लागि पानी इनारबाट सिधै प्रयोग गरिन्थ्यो । तर आजकल इनारको पानी पिउने गरिएको पाइँदैन ।

भूमिगत पानीको वितरण र व्यवस्थापन
माथि उल्लेख गरिएजस्तै जमिन मुनिको पानीको यति धेरै प्रयोग छ । यो सिमित तर महत्वपूर्ण प्राकृतिक स्रोत हो । पानी जथाभावी तानेर प्रयोग गर्नाले कुनै दिन जलभण्डार नै रित्तिन सक्छ । यसको प्रभाव जमिनमाथि बग्ने नदीनालामा पनि पर्न सक्छ । फलस्वरूप नदीको पर्यावरणमा नकारात्मक असर पर्न सक्छ । यिनै कुरालाई ध्यानमा राख्दै एन्भाएरोमेन्ट एजेन्सीले यसको सन्तुलित र दिगो प्रयोगको व्यवस्थापनमा प्रमुख भूमिका खेल्छ । एन्भाएरोमेन्ट एजेन्सी इङ्ल्यान्डको वातावरण मन्त्रालयअन्तर्गत एक विभाग हो । पानीको दिगो प्रयोगलाई व्यवस्थित गर्न इङ्ल्यान्डमा वाटर रेसोर्सेस एक्ट पास गरिएको छ । एक दिनमा २० क्युविक मिटरभन्दा थोरै पानी लाइसन्सविना तान्न सकिन्छ । योभन्दा बढी तान्न लाइसन्स चाहिन्छ । लाइसन्समा कुन मौसममा कति मात्रामा पानी तान्न पाउने भनेर शर्त तोकिएको हुन्छ । ती शर्तहरू जलभण्डारका आकार, पानीको उपलब्धता, वरिपरिको पर्यावरण र अन्य प्रयोगकर्तामा भर पर्छ । पिउने पानी वितरण कम्पनीले खोला सुक्ने गरेर वा कृषकलाई सिँचाइमा मार पर्ने गरी पानी तान्न पाउँदैन । लाइसन्स होल्डरले, उदाहरणका लागि, बर्खायाममा ६० क्युविक मिटर प्रतिदिन पानी तान्न पाउन सक्छ भने सुक्खा याममा ३० क्युविक मिटर मात्रै तान्न सक्छ ।

लाइसन्स होल्डरहरूले महिनैपिच्छे मिटर रिडिङ पठाउनुपर्छ । उक्त डाटालाई निरन्तर निगरानीमा राखिएको हुन्छ । कृषकले पानी पाएनन् भनेको सुन्नेवित्तिकै एन्भाएरोमेन्ट एजेन्सीले पानी तान्ने कम्पनीलाई अनुगमन गरिहाल्छ कतै आफ्नो दैनिक कोटा नाघेर पानी तानिएको छ कि भनेर । लाइसन्सका नियम उलङ्घन गरिएको वा विना लाइसन्स पानी तानिएको भेटिएमा आवश्यक कानुनी कारबाही गरिन्छ ।

पानीको दिगो व्यवस्थापनका अन्य उपायहरू पनि छन् । जस्तै खडेरीले पानीको सतह घट्न गएमा ‘ह्यान्ड अफ’ अर्थात् ‘हात नहाल्नू’ नीति लागू गरिन्छ । जसअन्तर्गत धाराको पानीले बगैँचा वा करेसाबारी सिञ्चित नगर्ने, कार नधुने, कृषक साथै अन्य प्रयोगकर्ताले पानी तान्न नपाउने नीति लागू गरिन्छ ।

भूमिगत पानीमा वातावरणीय समस्या
जसरी पृथ्वीको वायुमण्डल, नदीनाला र सागर प्रदूषित छन् त्यसरी नै जमिनमुनिको पानी पनि प्रदूषणको प्रभावबाट अछुतो रहन सकेको छैन । यहाँको भूमिगत जलभण्डारमा प्रदूषणका तत्वहरू नाइट्रेट, फोस्फेट, पेस्टिसाइड, हाइड्रो कार्बन, व्याक्टेरिया इत्यादि भेटिएका छन् । पहिलो तीन प्रदूषणका स्रोत कृषिजन्य गतिविधि गाईगोरु, भेडाबाख्रा, घोडा आदि पालन र तिनका लागि घाँसे मैदान अनि अन्न, सागसब्जी र फलफूल उत्पादन हुन् । यस क्षेत्रमा ठूल्ठूला सहरबजारले ढाकेर जनसंख्याको घना आवादी भए तापनि खेतीपाती पनि त्यत्तिकै गरिन्छ । मुख्यतः गहुँ, जौँ, तोरी, आलुको खेती गरिन्छ । स्याउ, स्ट्रोबेरीजस्ता फलफूल र ब्रोकोली र गोपीजस्ता तरकारी खेती पनि गरिन्छ । यी खेतीहरू अत्याधुनिक प्रविधिद्वारा गरिन्छ र रसायनिक मलको अधिकतम मात्रामा प्रयोग हुन्छ । किराफट्याङ्ग्रा र नचाहिने झारबाट बचाउन विषादी छरिन्छ । उचित बालीका लागि उचित समयमा अनि उचित मात्रामा यी रासायनिक मल र विषादीको प्रयोग भएनन् भने यिनका अवशेषहरू जलभण्डारमा चुहिएर जानसक्छ । त्यसैगरी ठाउँठाउँमा गल्फ खेल्ने चौरहरू छन् । तिनलाई हरियो राखिराख्न फन्जिसाइड र पेस्टिसाइडजस्ता रसायनको प्रयोग गरिन्छ । यस्ता रसायनका अवशेष चुहिएर जलभण्डारमा मिसिएको पनि हुनसक्छ ।

हाइड्रो कार्बनको स्रोत पेट्रोल, डिजेल, मट्टितेलका भण्डारण हुनसक्छन् । प्राय भूमिगत ट्याङ्कीभित्र पेट्रोल र डिजल सङ्कलन गरेर राखिन्छ अनि यातायातका साधनमा पम्पले भरेर विक्री वितरण गरिन्छ । यहाँ प्रायजसो ग्यासद्वारा घरलाई जाडो महिनामा तातो राखिन्छ । तर कति गाउँमा ग्यासको पाइप पुगेका छैनन् अनि त मट्टितेलले ब्वाइलर जलाएर घरलाई तातो राखिन्छ । मट्टितेल प्लाष्टिकका ट्याङ्कीमा जम्मा गरेर राखिएको हुन्छ । यस्ता ट्याङ्की कहिलेकाहीँ चुहिन गई तेल जमिनमुनि विस्तारै सिँचित भइरहेको हुनसक्छ । कलकारखानाहरूमा पनि विभिन्न किसिमका तेलहरू प्रयोग हुन्छन् । यस्ता संरचनामा आगलागीजस्ता दुर्घटना हुँदा पनि तेलले जमिनलाई प्रदूषित पार्न सक्छ ।

वर्षातपश्चात् हाइवेमा बग्ने मैला पानीले तेल, ग्रिज, हाइड्रो कार्बन, सूक्ष्म प्लाष्टिकका मात्रा बोकेको हुन्छ । यस्तो पानी ढलद्वारा जमिनको सोकवेमा विसर्जन गरिएको हुन्छ । ती सोकवे भूमिगत जलभण्डारसँग मिसिएका भए पानी दूषित हुने धेरै सम्भावना हुन्छ । कहिलेकाहीँ हाइवेमा सवारी दुर्घटना हुन्छन् । तेल तथा केमिकल बोकेका ट्याङ्कर, ट्रकहरूमा आगो लाग्छ । अन्तत्वगत्वा जमिनमुनिको पानीलाई प्रभाव पार्ने गरी प्रदूषणका तत्वहरू भुइँभरी पोखिन सक्छन् ।

ब्याक्टेरियाका स्रोत चुहिने दिसापिसाबको ढल, गाउँघरका सेप्टिक ट्याङ्की हुन सक्छन् । सहर बजारमा आधुनिक ढलका सञ्जाल विछाइएका भएपनि ती कहिलेकाहीँ ब्लक हुने या टुट्नेफुट्ने हुन्छन् । परिणामस्वरूप फोहोर पानी जमिनमुनि चुहिरहेको हुन्छ । कतिपय गाउँमा ढल विस्तार हुन सकेको छैन । त्यस्ता स्थानमा सेप्टिक ट्याङ्कीमा दिसापिसाब जम्मा गरिन्छ । जहाँ ब्याक्टेरियाले दिसापिसाबलाई प्राथमिक स्तरको प्रशोधन दिलाउँछ र तरलपदार्थ सोकावेमा सिँचित हुन्छ । तर ती ट्याङ्कीहरू समयसमयमा पम्प गरिएन र तिनको मर्मतसम्हार भएन भने प्राथमिक प्रशोधन प्रक्रिया पूर्ण हुन पाउँदैन । जसले गर्दा अप्रशोधित तरलपदार्थ जमिनमा मिसिन गई जलभण्डारलाई नै प्रदूषित तुल्याउन सक्छ ।
उपसंहार
जनसंख्याको चापले पृथ्वीको सिमित प्राकृतिक स्रोत जता पनि दोहोनमा परेको छ । इङ्ल्यान्डमा यतिका कानुनगत नियन्त्रण र दिगो व्यवस्थापनले पनि जलभण्डार शङ्कटमा पर्दै आएको छ । जलवायु परिवर्तनले यसलाई झनै खतरामा पार्दै गरेको तथ्य त लुकाएर लुक्न सक्दैन । जनसंख्या वृद्धि र विकास निर्माणले प्रदूषण त निम्त्याइ हाल्छन् । प्रदूषणबाट पर्न सक्ने जोखिम जसरी आर्थिक विकास बढ्दै छ त्यसरी नै बढिरहेको छ । यद्यपी इङ्ल्यान्ड गुणस्तरीय व्यवस्थापनमा संसारमै उदाहरणीय छ । यसैले जलभण्डारको सुरक्षार्थ आफ्ना स्रोत र साधनलाई जोखिमको अनुपातमा बढाउँदै लगेको र प्रभावकारी रूपमा सञ्चालन गरेको देखिन्छ तापनि वास्तविक रूपमा हामीले वातावरणीय जोखिमको सामना गर्नैपर्छ ।
(लेखक एन्भाइरोमेन्ट एजेन्सिमा बातावरण निरिक्षकको रुपमा काम गर्नुहुन्छ)

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!