अमानवीय हड्ताल

SHARE:

खिम घले
केही दिनअघि कान्तिपुर दैनिकका नवलपरासी संवाददाता नारायण शर्माले सरकारी डाक्टरको हड्तालका कारण आफूले भोग्नु परेको समस्याका बारेमा लामो लेख लेखे । उनले आफ्नो लेखमा लामो समयदेखि वीर अस्पतालका डाक्टरले दिएको अप्रेसनको समय हड्तालका कारण कसरी रोकिए भन्ने लेखेका छन् ।

उनको समस्या पटक पटक अप्रेसन गर्नुपर्ने थियो । यो उनको अन्तिम् अप्रेसन थियो । अप्रेसनको अघिल्लो दिन नै उनी अस्पतालमा भर्ना भए । सबै चेकजाँच गरियो । मलद्वारबाट साबुन पानी हालेर पेट पुरै खाली गराइयो । अनि अप्रेसनको लागि भनेर खाली पेट राखियो, साँझदेखि नै । घण्टौंसम्म खाली पेट बसे तयार भएर । हो, अप्रेसन विहान गर्ने भनेपछि राती निद्रा लाग्ने कुरै थिएन, लागेन नै । आवश्यक समाग्री र औषधी सबै किनेर तयार राखिएको थियो ।

तर, अप्रेसन गर्ने भनिएको विहान डाक्टरहरु देखा परेनन् । कुरेर बेडमै बसिरहे, तर आएनन् । आधा दिन बित्दा पनि बिहानै अप्रेसन गर्ने भनेका डाक्टरहरु नआएपछि उनले त्यहीका नर्सलाई सोधे । नर्सले सम्बन्धित विभागमा गएर सोध्न भने । त्यहाँ पुगेर सोध्दा थाहा भयो । डाक्टरहरु हड्तालमा रहेछन् । अप्रेसन नहुने रहेछ । अन्त्यमा केही भएमा कसैलाई कुनै दोष नलगाउने कागजमा सही गराएर उनलाई फर्काइयो ।

यो एक जना विरामीको पीडा थियो भने सरकारी चिकित्सक संघ (गोदान) का अध्यक्ष डा. दीेपेन्द्र पाण्डेको भनाई भने ठिक उल्टो । उनको भनाई उदृत गर्दै आइतवार पत्रपत्रिकाहरुले हड्तालबाट एक लाख बिरामी प्रभावित भएको उल्लेख गरेका छन् । यतिका विरामी आफ्नो हड्तालले प्रभावित भएको कुरा भन्न उनलाई कुनै अप्ठ्यारो वा नराम्रो अनुभूति भएको भान हुँदैन । बरु यतिका मान्छेलाई दुख दिन सकेको गर्व झल्किन्छ उनको अभिव्यक्तिमा ।
उनले न पछुतो मानेका छन् न त बिरामीले भाग्नु परेको यो भुक्तमानप्रति कुनै क्षमा याचना नै गरेका छन् । उल्टै धेरैभन्दा धेरैलाई दुख दिन सकेकोमा गर्वको अनुभूति उनको अभिव्यक्तिमा झल्किएको छ । यो भन्दा पनि अमानवीय पक्ष के हुन सक्छ? यसले डाक्टरहरुप्रतिको मान सम्मान घट्ने कुरामा दुई मत हुन सकिंदैन ।

हो, राज्यसंग नागरिकका केही गुनासा र मागहरु हुन्छन् । विकसित देशहरुमा पनि सरकारले लिएका नीतिहरुमा अहसमति जनाएर विरोध र अलोचना गर्ने गरिन्छ । पक्ष र विपक्षबीचको जुहारीलाई लोकतान्त्रिक समाज र व्यवस्थामा अन्यथा मान्न मिल्दैन । साथै सामुहीक रुपमा आफ्ना पेशागत स्वार्थहरुको रक्षाका लागि लाग्नुलाई प्रजातान्त्रिक विधि नै मानिन्छ । तर, जव आफ्नो पेशागत नैतिक मुल्य र मान्यतालाई तिलाञ्जली दिइन्छ आफ्नो स्वार्थको लागि यसले त्यस पेशा र पेशाकर्मीप्रतिको आममानिसको धारणा नकरात्मक बन्दछ । सरकारी डाक्टरहरुले उठाएका विषयहरु उनीहरुको बृत्ति विकासको लागि नजायज नहोला तर आफ्नो बृत्ति विकास रोकिन्छ भन्ने अनुमानको आधारमा लाखौं मानिसको ज्यानसंग खेलावड गर्ने अधिकार उनीहरुलाई छैन । कि त पेशा छाड्नु पर्छ नत्र भने त्यस पेशाको मर्यदालाई ख्याल राख्नु पर्ने हुन्छ ।

चिकित्सा पेशा अन्य पेशा जस्तो होइन, अरु पेशाहरुको आ–आफ्नो ठाउँमा महत्व रहेपनि चिकित्सा पेशाको छुट्टै मर्यदा छ । त्यही मर्यदाले गर्दा मानिसहरु डाक्टरलाई सम्मान गर्छन् । तर, नेपाली सन्दर्भमा चिकित्सकहरुले आफ्नो मर्यदा राख्न सकेको पाइदैन । त्यसैले डाक्टरप्रति मानिसको सम्मान पनि खासै छैन । अगाडी परेको बेला डाक्टर साव भनेर नमस्ते गरेपनि पछाडी कुरा काट्ने प्रशस्त छन् । डाक्टरप्रति आम मान्छेको कति विश्वास हुन्छ भने आफ्ना स्वास्थ्यसम्बन्धी सबै कुराहरु उनैलाई खोलिन्छ, उपचारको आशामा । त्यसैले आफ्नो मृत्यु पत्रमा आफैले सही गरेर डाक्टरलाई ज्यान जिम्मा लगाइन्छ । के कुनै अरु पेशामा आफ्नो प्राणलाई हस्ताक्षर गरेर अरुको जिम्मा लगाइन्छ र ? यतिको विश्वास गरिएको डाक्टर र त्यो पेशाप्रति मानिसको जुन सम्मान हुनु पर्ने हो, त्यो यस्तै गतिविधिका कारण आर्जन हुन नसकेको स्पष्ट छ ।

नेपाली डाक्टरहरुले आफ्नो पक्ष वा स्वार्थको रक्षाका लागि विरामीहरुलाई बिचल्लिमा पारेको इतिहास पुरानै छ । डा. गोविन्द केसीको अनसन सुरुभएसंगै यसले पनि तिब्रता पायो । आम मानिसले स्वास्थ्य क्षेत्रको सुधारको आशामा डा. केसीका मागहरुको सामर्थन गरे । उनको पक्षमा नारा जुलुस गरे र सरकारलाई दवाव दिए । तर, तिनै डा. केसीको प्राण रक्षाको लागि भन्दै डाक्टरहरुले पटक पटक विरामीलाई बिचल्लीमा पारे । दिनु सास्ती दिए ।
अहिले फेरी आफ्नो बृत्ति विकास रोकिने अनुमानका आधारमा सबै सरकारी अस्पतालहरु ठप्प बनाइएका छन् । विरामीलाई फर्काइएको छ । आकस्मिक सेवा बाहेक सबै बन्द गरिएको छ । यसले नेपालमा डाक्टरहरु सबै भन्दा अमानवीय पेशाकर्मीको रुपमा देखिएको गुनासो बढेको छ । हुन पनि गतिविधि त्यस्तै देखिएको छ ।

अक्सर गरेर डाक्टरहरुलाई आम सर्वसाधारणले लगाउने गरेको आरोप द्रव्य पिपासु हो । सरकारी डाक्टरहरुलाई सरकारी अस्पतालमा राम्ररी नजाच्ने, उपकरणहरु बिग्रिएको बहाना बनाएर आफ्नो निजी क्लिनिकहरुमा विरामीलाई धाउन बाध्य बनाउने र रकम असुल्ने गरेको आरोप लाग्दै आएको छ । निजी अस्पतालहरुको झनै विकराल रुप रहेको छ । निजी अस्पतालहरुले अनावश्यक परीक्षण गराउने मात्र होइन, विश्वकै सबैभन्दा महंगो शुल्क लिने गरेको पाइन्छ । मरिसकेको मानिसलाई पनि भन्टिलेटरमा राखेर पैसा असुल्ने, रोग नै पत्ता नलागेपनि उपचारको नाममा अस्पतालमा राखिराख्ने लगायतका बिकृतिहरु नरहेको होइन । यस्ता कार्यहरुले गर्दा खस्केको डाक्टरको मान यस्ता पटकपटकको हड्तालले झनै खस्काएको छ ।

त्यसै त सरकारी अस्पतालमा आउने नेपाली विरामीहरु मध्ये अधिकांश आफ्नो उपचारको खर्चको जोहो गर्न कठिन परिस्थितीमा रहेकाहरु हुन्छन् । उनीहरुले वर्षौंसम्म चाजो पाँजो मिलाएर, ऋण गरेर अस्पतालसम्म उपचारका लागि आउँछन् । अधिकांश अस्पताल राजधानीमा केन्द्रित छन्, दुरदरजाबाट सरकारी अस्पतालमा उपचारका लागि आउने ती विरामीहरुको लागि अस्पतालसम्म आउने बाटो खर्च महत्वपूर्ण छ । तर, त्यही विरामीलाई अहिले हड्ताल छ अर्को हप्ता आउनु भन्ने जवाफले कस्तो अवस्थामा पुर्‍याउछ होला ? के उनी फेरी उपचारको लागि अर्को साता अस्पताल आउन चाहलान्, फेरी आउन संभव होला? हाम्रा डाक्टरहरुले वास्ता गर्नुपर्ने ति विरामीहरुको वास्ता छैन, आफुलाई राम्रो भए भयो ती दुखियाहरुको के मतलव ।

असन्तुष्टीहरु राख्ने धेरै तरिकाहरु हुन्छन् । लोकतन्त्रमा सरकारले पनि त्यस्ता असहमतिहरुलाई सुन्नु पर्छ । तर, यो वा त्यो नाममा डाक्टरहरुले गर्ने यस प्रकारको हड्ताललाई भने क्षम्य मान्न सकिन्न । यसले प्रकारान्तरमा पेशाप्रति नै अविश्वास पैदा गर्छ । सरकारी अस्पतालहरुमा गरिने यस्ता हड्तालहरु विरामीलाई निजी अस्पतालमा पुर्‍याउने चालबाजी हो भने त्यो अर्को पाटो हो ।

सन् २०१२ मा पेन्सनको विषयलाई लिएर ब्रिटिस मेडिकल एसोसिएसनले हड्तालको आयोजना गर्यो । त्यस हड्तालको ख्यातिप्राप्त डाक्टरहरुले नै विरोध गरे । कतिले एसोसिएसनबाटै राजीनामा पनि दिए । उनीहरुको भनाई थियो, कुनै पनि हालतमा डाक्टरहरुद्वारा गरिने हड्ताल न्यायसंगत छैन । तिनै मध्येका डान पाल्टरले दी गार्जियनमा एउटा खुला पत्र लेखेरै बीएमएबाट राजीनामाको घोषणा गरेका थिए । उनले भनेका थिए, ‘हामीलाई पेन्सन कम हुन्छ भन्ने नाममा म कुनै पनि हालतमा हड्तालको पक्षमा उभिन सक्दिन, जसले विरामीको सेवा गर्ने हाम्रो धर्मबाट विमुख गराउँछ ।’

तर, नेपाली सन्दर्भमा भने यस्ता नैतिकता भएका डाक्टरहरु अझै देखिएका छैनन् । यसैले सरकारसंगको माग पुरा गर्ने नाममा सर्वसाधारण विरामीलाई सास्ती दिने यो कामको कसैले विरोध गरेको वा काम गरेको देखिएको सुनिएको छैन । यसले डाक्टरप्रतिको विरामीको संसयमा बल पुगेको छ । आफ्ना अप्ठ्याराहरु आम मानिसलाई बुझाउन सकेको भए, आम मानिसको विश्वास जित्न सकेको भए मानिसहरु सरकारलाई दवाव सिर्जना गराउन सहयोगी बन्थे होलान् । तर, अहिले डाक्टरहरलाई धारे हात लगाए बस्ने वातावरण बनेको छ । त्यसैले साधारण विरामीलाई सास्ती दिने भन्दा पनि सरकारलाई दवाव दिने अरु नै उपाय खोज्नु डाक्टरहरुका लागि सान्दर्भिक हुने देखिएको छ ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!