हिजो साँझ लण्डनमा लामो समयसम्म मैले लगावपूर्ण ढँगबाट काम गरेको परोपकारी संस्था हेल्प नेपाल नेटवर्कको बीसौँ वर्षगाँठ मनाइएछ।
“नेपालको लागि नेपालीले गरौँ” भन्ने नाराका साथ शुरू गरिएको हेल्प नेपालले सन्सारभरी फैलिएका नेपाली-नेपालीहरूको सहयोगमा नेपालमा सयौँ परोपकारी काम गरेको छ जसका झलकहरू www.helpnepal.net मा हेर्न सक्नुहुन्छ।
जुन दिन मैले राजनीति शुरू गरेँ त्यही दिन मैले हेल्प नेपालको सदस्यताबाट पनि राजीनामा दिएँ। दुबैलाई सँगै लैजान खोज्दा त्यसले जटिलता निम्त्याउन सक्छ भन्ने मेरो धारणा थियो।
हेल्प नेपालबाट अलग्गिनु ठिकअघि म रू १० करोडको परोपकारी अक्षय कोष अभियानमा संलग्न थिएँ। म अलग हुँदा लगभग रू ६ करोड जम्मा भइसकेको थियो र त्यो अहिले हेल्प नेपाल नेटवर्कको खातामा छ, जसको व्याजबाट अनेकौँ परोपकारी कामहरू भइरहेको छ।
हेल्प नेपाल आफ्नो वेबसाइटमा अडिट गरेको रिपोर्ट राख्ने नेपालका थोरै परोपकारी संस्थामध्येको एक हो। हेल्प नेपालमा सामान्यदेखि समाजका प्रतिश्ठित व्यक्तित्वहरू संलग्न हुनुहुन्छ। र, नेपाललाई मायाँ गर्ने नेपालीहरूले त्यसलाई सहयोग गरिरहनुभएको छ।
समाजमा इमानदारी र प्रतिवद्धताका लागि चिनिएका दर्जनौँ व्यक्तिहरू संलग्न हुँदाहुँदै ममाथि बारम्बार उनीहरूलाई समेत छलेर १० करोड रूपैयाँ खायो भन्ने आरोप लगाइन्छ। ती आरोप लगाउने नेपालीहरूलाई म विनम्रतापूर्वक भन्न चाहन्छु, त्यो तपाईंहरूले लगाएको आरोप ममाथि मात्र होइन, हेल्प नेपाल नेटवर्कमा संलग्न सबै असल नेपालीमाथिको आरोप हो। म खराब भइदिएको भए ती सबै असल व्यक्तित्वहरूले मलाई कुनै हालतमा सहन गर्ने थिएनन्।
एक पटक हेल्प नेपाल नेटवर्कको वेबसाइट र फेसबुक पेज हेरिदिनोस्। सो संस्थामा संलग्न भएका र सहयोग गर्नेहरूले एक पैसा तलब नलिइकन नेपालका विपन्नहरूका लागि कति काम गरेका रहेछन् भन्ने देख्नुहुनेछ। तपाईंको आरोप र गालीले मलाई त केही नहोला तर ती सहयोग पाउने संभावना रहेका विपन्नहरूको जीवनमा चाहिँ प्रतिकूल असर पार्नेछ।
जीवनमा एकजना व्यक्तिलाई सहयोग गर्दा त खुशी हुने ठाउँ हुन्छ भने हेल्प नेपालबाट त्यति धेरै संख्यामा नेपालीहरूले सहयोग पाउँदा यो मन खुशी नहुने कुरै भएन। लण्डनको कार्यक्रमका फोटोहरू हेरेर भावुक भएको यो साँझ यति नलेखि रहन सकिन।
तपाईंहरू सबैको जय होस्, व्यावहारीक परोपकारको जय होस्!






