हुम तमु
पोखरा । पोखरेली तमुहरुले धुमधामका साथ परम्परागत साँस्कृतिक पर्व ट्होटें मनाएका छन्। तमु जातिको सभ्यता, ऐतिहासिकता, साँस्कृतिक, एकता र राज्य सुरक्षित राख्नेको पर्वको रुपमा मनाउने ट्होटें सामुहिक रुपमा तमु धिं नेपालको आयोजनामा २०५२ सालदेखि पोखरामा मनाउँदै आएको छ। साउन महिनाको तीनवटा र चैत्र महिनाको तीनवटा मंगलवार तमु गाँउ वस्तीमा ट्होटें पर्व मनाउदथे। तर पोखरामा झरेका तमुहरुले तमु धिं नेपालको अगुवाईमा २०५२ सालदेखि वर्षमा दुईपटक साउनको अन्तिम मंगलवार र चैत्रको अन्तिम मंगलवार सामुहिक रुपमा बृहत रुपमा मनाउदै आएको हो।
पोखरा १७, बिरौटास्थित तमु ह्युलचोकमा विशेष अतिथि पोखरा महानगरपालिकाका मेयर मानबहादुर जिसी, उपमेयर मञ्जुदेवी गुरुङ, तमु धिं नेपालकी अध्यक्ष कर्म तमुले तमु ह्युल, प्रकृति र पितृको नाउँमा धुप बाल्दै तमुहरुको मौलिक हतियार धनुष प्रहारबाट शुरुभएको ट्होटे र्याली मुस्ताङचोक, एयरपोर्ट, नागढुंगा, लखनचोक, नयाँबजार हुँदै तमु धिं नेपालमा समारोहमा परिणत भएको थियो। टहोटें समारोहको उद्घाटन गर्नुहुदै प्रदेश नं. ४ का मुख्य मन्त्री पृथ्वीसुब्बा गुरुङले मुलुकमा भएका परिवर्तनहरुसँगै गुरुङहरुले आफुलाई पनि बदल्न सक्नुपर्ने बताए।देशको राजनीतिक परिवर्तनमा तमुहरुले महत्वपुर्ण भुमिका निर्वाह गरे पनि परिवर्तन पश्चात उपलब्धि उपभोग गर्न नसक्नु कमजोरी रहेको उनको भनाई थियो। तमुहरु विदेश मात्रै जाने, बन्दुक मात्रै बोक्ने मानसिकताबाट माथि उठ्नुपर्ने आग्रह गर्नुहुदै खान र लाउनमा सबै भन्दा छिटो नक्कलहरुको तमुहरुले चेतना अभिवृद्धि र राजनितीमा पनि नक्कल किन नगरेको भनेर प्रश्न गरे।राजनीतिमा आफु हाँसको विचमा बकुल्ला जस्तो बनेको बताउँदै प्रदेश नामाकरणमा आदिवासी जनजातिको पहिचानको सम्मान हुन नसक्दा दुखेसो रहेको मैले बुझेको छु भन्नुहुदै समय आए पछि बिकल्प आउन सक्छ भन्ने उनले बुझाउने प्रयास गरे।
निजामती क्षेत्रमा तमु लगायत आदिवासी जनजातिको उपस्थिती न्युन रहेकाले आफु टाउको भए पनि हात खुट्टा नभए जस्तो पिडा भइरहेको बताए।
तमु लगायत आदिवासी जनजातिहरुमाथि अझै पनि विभेदको महसुस गरे पनि उपलब्धिहरुलाई आत्मसात गर्दै अघि बढ्न फेरी पनि उनको सुझाव थियो। ट्होटें, ल्होछार लगायतको चाडपर्व सँस्कृतिको संरक्षण र विकासका लागि प्रदेश सरकार जुटिरहेको भन्दै चाडपर्वमा विदा संघीय सरकारको निर्णयबाटै प्राप्त भएको बताए।
मुख्यमन्त्री गुरुङले विभेदको अन्त्य गर्ने जिम्मा राज्यको हो, कम्युनिष्टको सिद्धान्त नै भएकाले समान अधिकारका लागि आफु लागिरहने बताए। समाज इन्द्रधनुष तर राज्य सत्ता एकात्मक भएकाले धेरै समस्या भएको बताउँदै जाति, भाषा, धर्म, सँस्कृति, भुगोल, लिंगका आधारमा अब कसैको अपमान सहन नसकिने बताउँदै राज्यको धर्म नहुने बताए। धर्मको नाउमा जनमत संग्रह मुलुकमा जातिय र धार्मिक युद्ध निम्त्याउन खोजिएको आरोप लगाउनुहुदै मुख्यमन्त्री गुरुङले राजा फर्काउन धर्मको नाउमा जनमतको माग गरेको बताए।
पहिचान, भाषा, धर्मनिरपेक्षता, विभेदको अन्त्यका लागि विगतका आन्दोलनमा आफ्नो सहभागीताको बारेमा चर्चा गर्नुहुदै आदिवासी जनजाति आन्दोलनमा अहिले पनि सहानुभूति रहेको उनको भनाई थियो।
उनले प्रदेश सरकारले ठुलो अस्पता, प्राविधीक विश्वविद्यालय, रिङरोड, मेट्र बसपार्क, राजमार्गहरु, फिल्मी सिटी, पर्यटन विकास लगायतका क्षेत्रमा विकास गर्दै यस प्रदेशलाई सर्वोत्कृष्ठ प्रदेश बनाउने आफ्नो पाँचवर्षे लक्ष्यमा साथ सहयोग समेत मुख्य मन्त्रीको आग्रह थियो। प्रदेश सरकारले तमु धिं नेपाल लगायतका विगतदेखि राज्यबाट कुनै स्रोत प्राप्त नगरेका सामुदायिक संस्थाहरुलाई सक्दो सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरे।
आदिवासी जनजाति महासंघ कास्कीका अध्यक्ष धर्म गुरुङले शुभकामना व्यक्त गर्नुहुदै यस प्रदेशको समृद्धिको लागि ट्होटें जस्तो सँस्कृति र प्रकृतिको संरक्षण तथा विकासका लागि सरकार लाग्नुपर्ने बताए।
आदिवासी जनजाति पत्रकार महासंघ फोनिज कास्कीका अध्यक्ष एम बी आस्था मगरले शुभकामना व्यक्त गर्नुहुदै आदिवासी जनजातिले मिडिया बुझ्नुपर्ने र मिडियाकर्मीले पनि आदिवासी जनजातिका विषयलाई प्राथमिकता दिनुपर्नेमा जोड दिनुभयो। समृद्धिका लागि आदिवासी जनजातिसँगै जोडिएको पर्यटन प्रवद्र्धनलाई राज्यले ध्यान दिनुपर्ने बताए।
तमु धिं नेपालका उपाध्यक्ष हुमबहादुर गुरुङले ट्होटेंको बारेमा चर्चा गर्नुहुदै तमु लगायत आदिवासी जनजातिहरु समान अधिकारका लागि, पहिचान प्राप्तिका लागि सचेत एवं एकतावद्ध रुपमा अघि बढ्नुपर्नेमा जोड दिनुहुदै बुझ्नका लागि बुझेकाहरुका कुरा सुन्नु पर्ने बताए। यस प्रदेशकै मुख्यमन्त्री गुरुङ भएकाले तमुहरुले अभिभावक, सहयोगी प्राप्त गरेको र मुख्यमन्त्रीलाई सघाउनुपर्ने अवस्थामा सबै तमुहरुले सघाउन एकजुट हुनुपर्नेमा उनको भनाई थियो।
तमु धिं नेपालकी अध्यक्ष कर्म तमुको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत साँस्कृतिक संयोजक मेनकाजी गुरुङ सञ्चालन महासचिव गिरीप्रसाद गुरुङले गरेका थिए
ट्होटेंमा आयोजित र्याली प्रतियोगिताको मुल्यांकन समितिकी संयोजक, तमु धिं नेपालकी सचिव अधिवक्ता जुनाकुमारी गुरुङले घोषणा गरेका थियो। र्यालीमा ताङतिङ दुधपोखरी तमु समाज प्रथम, चिउली पार्चे तमु समाज दोश्रो, फूलवारी तमु समाज तेश्रो हुदै नगद, ट्रफीसहित पुरस्कृत भए भने बाँझापाटन तमु समाज, सिमपानी र तनहुँ सान्त्वना हुदै पुरस्कृत बने। यसरी नै आँधीखोला तमु समाजलाई घाँटु र कोल्माबहाकोटलाई झोरा संरक्षणका लागि पुरस्कृत गरिएको थियो।
ट्होटेका लागि तमु धिं नेपालका सदस्य युवा व्यवसायी नारायण गुरुङ, युवा समाजसेवी बिग्नेस थापाले खानेपानी र युवा व्यवसायी राजेश गुरुङले ट्रफी प्रायोजन गरेका महासचिव गिरीप्रसाद गुरुङले जानकारी दिए ।






