यी हुन् २०७५ सालका चर्चित नेपाली घटनाक्रम

SHARE:


काठमाडौँ । २०७५ साल समग्रमा मिश्रित वर्ष रह्यो । राजनीतिक, आर्थिक, सामाजिक, प्रशासनिक क्षेत्रमा केही राम्रा काम भए पनि ती विवादरहित भने हुन सकेनन् । खासगरी लामो समयपछि नेपालमा बनेको स्थायी सरकारबाट जनताले राखेका आशा र अपेक्षा केही हदसम्म पूरा हुनेतर्फ गए पनि यतिमै सन्तोष मान्न सक्ने अवस्था भने छैन । २०७५ मा हाम्रो नजरमा परेका घटना, परिघटना, दुर्घटना, भ्रष्टाचार, विकासलगायतका विषयवस्तुलाई समेटेर पुनः स्मरण गराउने प्रयास गरेका छौँ ।

सीके मूलधारमा, विप्लव प्रतिबन्ध
२०७५ साल फागुन २४ गते सरकारले स्वतन्त्र मधेस गठबन्धनका सीके संयोजक राउतसँग ११ बुँदे सहमति गर्यो । स्वतन्त्र मधेसको मागसहित देश नै टुक्र्याउने अभियानमा लागेका राउतसँग भएको सो सहमतिसँगै उनको समूह मूलधारमा आएको घोषणा गरियो । राउतसँगको सहमति भएको चार दिनपछि सरकारले फागुन २८ गते नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपालाई प्रतिबन्ध लगायो ।

दुई कम्युनिस्ट पार्टीको एकता घोषणा
२०७५ को सुरुवातमै नेपालका दुई ठूला कम्युनिस्ट घटक नेकपा एमाले र माओवादी केन्द्रबीच एकता घोषणा भयो । जेठ ३ गते पार्टी एकता घोषणासँगै एकीकृत पार्टीको नाम ‘नेपाल कम्युनिस्ट पार्टी’ राखियो । पुनर्गठित पार्टी दक्षिण एसियाकै ठूलो कम्युनिस्ट पार्टी बन्यो ।

विवादमा तानिएपछि मन्त्री तामाङको राजीनामा
२०७५ सालमा केन्द्र सरकारका एक मन्त्री विवादमा तानिए । जसका कारण उनले पद नै छाड्नुपर्यो । कानुन, न्याय तथा संसदीय मामिला मन्त्री शेरबहादुर तामाङले बङ्गलादेशमा एमबीबीएस पढ्न जाने छात्राले सर्टिफिकेट पाउन आफ्नो शरीर अरुलाई सुम्पनुपर्ने अभिव्यक्ति दिएपछि तामाङको चौतर्फी आलोचना भयो । मन्त्री तामाङको सर्वत्र आलोचनापछि उनले साउन ८ गते पत्रकार सम्मेलन गरेर राजीनामा दिए ।

हेलिकप्टर दुर्घटना
२०७५ साल फागुन महिनामा नेपालले एक होनहार युवा नेता तथा मन्त्री गुमायो । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीसहित ७ जनाले १५ फागुनमा ताप्लेजुङमा भएको हेलिकप्टर दुर्घटनामा ज्यान गुमाए । तेह्रथुमको चुहानडाँडामा विमानस्थल क्षेत्र अवलोकन गर्न पुगेको यो टोली बीचमै पाथिभरा ओर्लिएर उड्ने क्रममा यो दुखद् घटना हुन पुग्यो । भ्रमण वर्ष मनाइरहेको नेपालमा विभागीय मन्त्री नै हवाई दुर्घटनामा परेपछि अन्तर्राष्ट्रिय जगतमा त्यसको गलत सन्देश प्रवाह भयो ।

दीपकराज जोशी प्रधानन्यायाधीशमा अस्वीकृत
न्यायाधीश दीपकराज जोशी न्यायालयको इतिहासमा संवैधानिक परिषद्बाट सिफारिस भएर पनि प्रधानन्यायाधीश हुन पाएनन् । संसदीय सुनुवाइ समितिले १८ साउनमा उनको प्रधानन्यायाधीश हुन अस्वीकृत गर्यो । जोशीलाई प्रधानन्यायाधीश जस्तो गरिमामय पदको जिम्मेवारी दिन उपयुक्त हुने कुनै पनि आधार नपाएको भन्दै समितिले जोशीको नाम अस्वीकृत गरेको हो ।

वाइडबडी प्रकरण : सत्तारुढदेखि प्रतिपक्षसम्म भूकम्प
नेपाल वायुसेवा निगमले किनेका दुईवटा वाइडबडी जहाज खरिद र त्यसमा भएको भ्रष्टाचार प्रकरण २०७५ मा निकै चर्चा पायो । सार्वजनिक लेखा समितिअन्तर्गतको उपसमितिले नेपाल वायुसेवा निगमले खरिद गरेका २ वटा वाइडबडी जहाजमा ४ अर्ब ३५ करोड ५६ लाख रुपैयाँ अनियमितता भएकोे निष्कर्षसहितको प्रतिवेदन पुस १८ मा आएपछि यसको चर्चा र आलोचना भएको हो । वाइडबडी जहाज खरिदमा बहालबाला संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीसहित पूर्वमन्त्री जीवनबहादुर शाही र जितेन्द्रनारायण देवलाई समेत दोषी ठहर गर्दै कारबाहीको सिफारिस गर्यो । तर यो घटनामा संलग्नलाई कारबाही भने अझै भएको छैन । यद्यपि अख्तियारले यसबारे अनुसन्धान जारी रहेको जनाएको छ ।

कर्मचारी समायोजन औपचारिकता
सङ्घीयताको कार्यान्वयन गर्न आवाश्यक कर्मचारी खटाउन सरकारलाई निकै सकस भयो । अन्ततः विवादै विवादका बीच सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले कर्मचारी समायोजन प्रक्रिया औपचारिकरुपमा टुङ्गिएको घोषणा गर्यो । मन्त्रालयले चैत १४ गते पत्रकार सम्मेलन गरेर एक लाख ३१ हजार कर्मचारी समायोजन गरेको घोषणा गरेको हो । मन्त्रालयले १३ महिना लगाएर कर्मचारी समायोजन सकेको जनाए पनि तीनवटै सरकारमा ठूलो सङ्ख्यामा कर्मचारीहरू खालि छन् । सरकारको घोषणा अनुसार केन्द्र सरकारमा ४८ हजार ४०९ दरबन्दी रहे पनि ४० हजार ७६९ जना मात्रै समायोजन भएका छन् । केन्द्रमै ७ हजार ६४० जना कर्मचारी नियुक्त गर्न बाँकी छ ।

मोदीको नेपाल भ्रमण
धार्मिक भ्रमणका क्रममा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेपाल आए । वैशाख २८ गते शुक्रबार बिहान एयर इन्डियाको विमानमार्फत उनी सीधै जनकपुर आएका थिए । जनकपुर विमानस्थलमा भारतीय प्रधानमन्त्री मोदीलाई रक्षामन्त्री ईश्वर पोखरेलले स्वागत गरेका थिए । त्यसपछि मोदीले जानकी मन्दिरमा पूजा गरेका थिए । उनलाई जानकी मन्दिरमा प्रधानमन्त्री केपी शर्मा ओलीले स्वागत गरेका थिए भने काठमाडौँ विमानस्थलमा परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले ।

लुट्नसके लुट कान्छा…
सामाजिक विसङ्गति, संस्कार र राजनीतिक जालझेलप्रति कटाक्ष गर्दै लोकगायक पशुपति शर्माले फागुन पहिलो साता ‘लुट्न सके लुट…’ गीत सार्वजनिक गरे । जुन गीतले वर्तमान शासकलाई प्रहार गरेको थियो । जुन तन्त्र आए पनि देश विकास नभएको नियतिप्रति रोष पोख्दै सार्वजनिक भएको उक्त गीतप्रति सरकारको असन्तुष्टि बढ्यो र औपचारिक अनौपचारिक दबबा बढेपछि गायक शर्माले युट्युबबाट हटाए ।

अख्तियारकै आयुक्त घुष प्रकरणमा मुछिए
भ्रष्टाचारीमाथि निगरानी गर्ने संस्था अख्तियार दुरुपयोग अनुसन्धान आयोगका एक आयुक्त नै घुस लिएको भिडियो सार्वजनिक भयो । आयुक्त राजनारायण पाठकले आफूले २ किस्ता गरेर ७८ लाख र भाइमार्फत १५ लाख गरी ९३ लाख रुपैयाँ घुस लिएको तथ्य सार्वजनिक भयो । यो घटनापछि पाठकले राजीनामा दिए ।

लगानी सम्मेलन
चैत १५ र १६ मा नेपालमा दास्रो लगानी सम्मेलन सम्पन्न भयो । जसमा सरकार र निजी क्षेत्रले प्रस्तुत गरेका ७७ मध्ये १६ परियोजनाका लागि आवेदन परेको छ । सम्मेलनमा १५ वटा परियोजनामा समझदारीसमेत भएको छ । सम्मेलनमा सरकारको तर्फबाट ५० र निजी क्षेत्रका २७ वटा गरी ७७ परियोजना ‘सोकेस’मा राखिएको थियो ।

विवादमा एसिया प्यासिफिक सम्मेलन
मङ्सिर दोस्रो साता नेपालमा भएको ‘एसिया प्यासिफिक समिट, २०१८’ सम्पन्न नहुँदै विवादमा तानियो । प्रधानमन्त्री केपी ओलीले उद्घाटन गरेको समिटलाई ‘धर्म प्रचार’ गर्ने माध्यम भन्दै चर्को आलोचना भयो ।

प्रधानमन्त्री स्वरोजगार कार्यक्रम
सरकारले फागुन १ गते ‘प्रधानमन्त्री रोजगार कार्यक्रम’ घोषणा गरेको छ । रोजगारीको खोजीमा विदेश जानुपर्ने बाध्यताको अन्त्य गर्ने प्रयासस्वरुप सरकारले प्रधानमन्त्री स्वरोजगार कार्यक्रम ल्याएको हो । सरकारले ‘हाम्रो भविष्य, हाम्रो सरकार’ नारा दिएर बेरोजगारी सरकारको मुख्य चुनौती रहेको र यसविरुद्धको एक ऐतिहासिक घोषणा प्रधानमन्त्री रोजगार कार्यक्रम रहेको जनाएको छ ।

रहस्यकै गर्भमा २ चर्चित प्रसङ्ग
वर्ष २०७५ भर अत्यधिक चर्चामा रहेका घटना हुन्– निर्मला पन्त हत्या प्रकरण र ३३ किलो सुन तस्करी प्रकरण । तर यी दुवै घटनाको चुरो अझै पनि पत्ता लागेको छैन ।

चर्चित व्यक्ति जो २०७५ मा रहेनन्
वर्ष २०७५ मा केही प्रतिष्ठित व्यक्तिहरूको मृत्यु भयो । जसमा बहालवाला मन्त्रीदेखि पूर्वमन्त्री, वरिष्ठ सर्जन, पञ्चायतका सूत्रधारसमेत रहेका छन् । फागुन १५ गते ताप्लेजुङमा भएको हेलिकप्टर दुर्घटनामा बहालवाला मन्त्री रविन्द्र अधिकारीसहित ७ जनाको ज्यान गयो । त्यसैगरी वृद्धभत्ताका सूत्राधार मानिने नेकपाका नेता तथा पूर्वउपप्रधानमन्त्री समेत रहेका भरतमोहन अधिकारीको फागुन १८ गते निधन भयो । २०५१ सालको कम्युनिस्ट सरकारका अर्थमन्त्री रहेका अधिकारी आफ्नो गाउँ आफै बनाउँ लगायत लोकप्रिय कार्यक्रमका योजनाकार थिए ।

नेपालमै पहिलो स्याटेलाइट
भूउपग्रह वैज्ञानिकद्वय आभास मास्के र हरिराम श्रेष्ठले नेपालमा पहिलो स्याटेलाइट बनाए । जापानमा नेपाली आर्थिक स्रोत र जनशक्ति परिचालन गरी उनीहरुले नेपाललाई पहिलो भूउपग्रह नेपालीस्याट १ दिएपछि मास्के र श्रेष्ठको चर्चा चुलियो ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!