समृद्धिको वर्ष २०७६

SHARE:

काठमाडौं । आशा, उमंग र अपेक्षासहित नयाँ वर्ष २०७६ लाई स्वागत गरिएको छ । विगतको समीक्षा गर्दै आगामी दिन स्वर्णिम बनाउने संकल्पका साथ नयाँ वर्षको सुरुवात भएको छ । यो नयाँ वर्षलाई विगतभन्दा बढी आशा गरिएको छ । त्यसैले पनि विगतभन्दा यो वर्ष नयाँ वर्षलाई थप हर्षोल्लासपूर्ण रुपमा मनाइएको छ । देशभर नयाँ वर्षका रुपमा विक्रम संवत् दुई हजार छयहत्तर (२०७६) हर्षोल्लासका साथ मनाइएको हो ।

सूर्य मीन राशिबाट मेष राशिमा प्रवेश गरेको वैशाख सङ्क्रान्तिका दिन नयाँ वर्षको पहिलो दिन मनाइएको हो । राजा विक्रमादित्यले चलाएको संवत् भएकाले यो संवत्लाई विक्रम संवत् भनिएको भनी केही व्यक्तिले दाबी गरे पनि राजा विक्रमादित्यको शासनकालभन्दा २०० वर्षअघि नै यो संवत् चलेको अनुसन्धानदाता डा निर्मलमणि अधिकारीले बताए ।

एकथरी संस्कृतिविद् काठमाडौँको हाँडीगाउँमा राजधानी बनाई राज्य गरेका राजा विक्रमादित्यले नै विसं चलाएको मत राख्छन् । ती विक्रमादित्यले साँखुको बज्रयोगिनीमा तपस्या गरेको इतिहासकार बताउँछन् । उनको टाउको अहिले पनि बज्रयोगिनीमा भएको विश्वास गरिन्छ । नयाँ वर्ष प्रवेशका दिन उपत्यकालगायत देशभरका मठ मन्दिरमा भक्तजनको भीड देखिन्थ्यो ।

पशुपतिनाथ मन्दिर, बौद्धनाथ, स्वयम्भूनाथहरुमा भक्तजनको विशेष घुइँचो लागेको थियो । धेरै दर्शनार्थी गाडी रिजर्भ गरेर नयाँ स्थानमा घुम्न गएका थिए । नयाँ वर्षको पहिलो दिन बिहानै स्नान गरेर घर, कोठा–आँगन सफा गरी मीठोमसिनो खाई साथीभाइ तथा इष्टमित्रसँग भेटघाट सर्वसाधारण व्यस्त थिए ।

पर्यटकीय गन्तव्य भरिभराउ
नयाँ वर्षको आरम्भसँगै मुलुकका प्रमुख पर्यटकीय गन्तव्यमा आन्तरिक तथा विदेशी पर्यटकको भीड लागेको छ । पर्यटनका हिसावले चिनिएका पोखरा, चितवनका अलावा अन्य लामो दूरीका साहसिक गन्तव्यमा पनि पर्यटकको चहलपहल बाक्लिएको छ । यतिखेर पदयात्रा तथा धार्मिक पर्यटनका लागि उल्लेख्य सङ्ख्यामा आन्तरिक पर्यटक देशका विभिन्न गन्तव्यमा पुगेका छन् । वसन्त ऋतुको यो सिजन खासगरी पदयात्रा र पर्वतारोहणका लागि उपयुक्त मानिन्छ । मुख्य पर्यटकीय मौसम भएकाले साहसिक पर्यटनका साथै हिमाल र पहाडी डाँडापाखाको दृश्यावलोकनको मज्जा लिन यतिबेला उल्लेख्य सङ्ख्यामा विदेशी पर्यटक आएका छन् । नयाँ वर्षमा परिवारसहित घुमफिर गर्ने नेपाली प्रचलन पनि बढेको छ ।

राजधानी नजिकका नगरकोट धुलिखेल, चन्द्रागिरीलगायत पर्यटकीय गन्तव्यमा आन्तरिक पर्यटक बाक्लिएका छन् । राजधानी बाहिरका प्रमुख पर्यटकीय गन्तव्य पोखरा, चितवन, लुम्बिनी, पवित्र धार्मिक तथा पर्यटकीयस्थल ताप्लेजुङको पाथिभरा, धनकुटाको भेडेटार दोलखाको कालीञ्चोक, मनाङको मुक्तिनाथलगायत क्षेत्रमा आन्तरिक पर्यटकको भीडभाड बढेको छ । मुगुको रारा, सुदूरपश्चिमको खप्तड आदि क्षेत्रमा पर्यटक उल्लेख्य सङ्ख्यामा गएका छन् । ती गन्तव्यका होटल तथा रेस्टुराँ पाहुनाले भरिएका छन् ।

खासगरी राजधानी नजिकका पोखरा र चितवनका होटल पर्यटकले खचाखच भरिएका छन् । नयाँ वर्षको सन्दर्भमा पोखरामा फेवा महोत्सव चलिरहेको छ । पोखरामा अहिले आन्तरिक पर्यटकको भीड लागेको छ । पोखराका होटल व्यवसायी भरत पराजुलीले पर्यटनको मुख्य सिजन, नयाँ वर्षको सन्दर्भ तथा बिदा मनाउन आउने आन्तरिक पर्यटकको चाप बढेको बताए ।

होटल पिस प्लाजाका सञ्चालक पराजुलीले यो सिजनमा ८० देखि ९० को हाराहारीमा पोखराका होटल भरिभराउ छन् । क्षेत्रीय होटल सङ्घ पोखराका अनुसार स्वदेशी तथा विदेशी गरी वार्षिक १० लाख पर्यटक पोखरा पुग्ने गरेका छन् । गण्डकी प्रदेशले ‘आन्तरिक भ्रमण वर्ष–२०१९’ को घोषणा गरी वार्षिक १५ लाख पर्यटक भित्र्याउने लक्ष्य लिएको छ । यो लक्ष्य भेटन गाह्रो नहुने व्यवसायी बताउँछन् । यता अर्को प्रमुख पर्यटकीय गन्तव्य चितवनको सौराहासँगै पटिहानी, जगतपुर र मेघौलिका होटल पनि आन्तरिक पर्यटकले भरिएका छन् । क्षेत्रीय होटल सङ्घ चितवनका अध्यक्ष सुमन घिमिरेकाअनुसार अहिले आएका पर्यटकमध्ये ६० प्रतिशत स्वदेशी रहेका छन् भने ४० प्रतिशत हाराहारी विदेशी रहेका छन् ।

सौराहाको कूल क्षमताको ६० प्रतिशत पर्यटकले भरिएको घिमिरेले बताए । चरिकोट (दोलखा) को कुरीस्थित होटल सुनापतिका सञ्चालक हरि ओलीका अनुसार कालीञ्चोक भ्रमण जाने पर्यटकको घुइँचो लागेको छ । अहिले दैनिक दुई हजार भन्दा बढी पर्यटक पुग्ने गरेका छन् । यो क्षेत्रमा ४५ वटा होटल छन् । होटल एशोसिएशन अफ नेपाल (हान) का अनुसार अहिले ७० प्रतिशतको हाराहारीमा होटल बुकिङ भएका छन् । हानका महासचिव विनायक शाहका अनुसार अहिले पदयात्रा र हिमाल आरोहणका लागि उल्लेख्य सङ्ख्यामा पर्यटक आएका छन् । खासगरी पाँचतारे र पर्यटकस्तरीय होटलमा पर्यटकको चाप बढ्दो छ । हानको विवरणमा मुलुकभर सरकारी मापदण्ड पूरा गरेका करीब एक हजार पर्यटकस्तरीय होटल छन् । पछिल्लो समय थपिएका तीनसहित अहिले १३ पाँचतारे होटल सञ्चालनमा छन् । पर्वतारोहणका लागि पनि वसन्त ऋतु उपयुक्त मानिन्छ । पर्यटन विभागका अनुसार यो सिजनमा शुक्रबारसम्म सर्वोच्च शिखर सगरमाथा, अन्नपूर्ण, मनास्लुलगायतका उच्च हिमशृङ्खला आरोहणका लागि ७५ आरोहण समूहका ६६७ आरोही गन्तव्यतिर लागेका छन् ।

शान्ति र विकासप्रति प्रधानमन्त्री प्रतिबद्ध
प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली जनताको चाहना शान्ति, एकता र विकास भएको बताउँदै आफू त्यसनिम्ति प्रतिबद्ध रहेको बताएको छ । नववर्ष २०७६ का अवसरमा वैशाख १ गते बिहान प्रधानमन्त्री निवासबाट राष्ट्रका नाममा सम्बोधन गर्दै उनले सुशासन र समृद्धिको बाधक भ्रष्टाचार र बेथितिविरुद्ध निरन्तर लडिरहने सङ्कल्प गरे ।

समृद्धि सुखको आधार भएको, उच्च र दिगो उत्पादन/उत्पादकत्व वृद्धिप्रति वर्तमान सरकारको एक मात्र उद्देश्य भएको बताउँदै प्रधानमन्त्रीले सामजिक न्याय सहितको समुन्नति आफूले चाहेको उल्लेख गरे । उनले सबैखाले अतिवाद, अशान्ति, आतङ्क र गडबडीबाट मुलुकलाई शीघ्र मुक्त गराइने, लामो द्वन्द्व र सङ्क्रमणकाल अन्त्य गरेर बल्ल स्थायित्वको बाटोमा हिँड्न लागेको मुलुकमा अर्को हिंसाको दुष्चक्र किमार्थ स्वीकार्य नहुने दोहोर्‍याउँ ।

उनले शान्तिपूर्ण रूपमा गरिने विरोध र असहमतिलाई हाम्रो संविधानले नै प्रत्याभूत गरेको यथार्थ सुनाए । उनले भने, “अवाञ्छित प्रतिगामी प्रयासहरू र संविधान विरोधी गतिविधिहरू कडाइका साथ नियन्त्रण गरिनेछ ।”

पुरानो वर्षलाई बिदाइ र नयाँ वर्षको स्वागत गरिरहँदा समयलाई हेक्का राख्न सबै नेपालीलाई आग्रह गर्दै प्रधानमन्त्री ओलीले आफ्नो नेतृत्वको सरकारले यसै कार्यकालमा देशलाई ‘अतिकम विकसित मुलुक’को टिठलाग्दो हैसियतबाट उकास्ने, सन् २०३० मा तोकिएको दिगो विकास लक्ष्य भेट्टाउने लक्ष्यका साथ काम गरिरहेको बताए ।

सुशासन कायम गर्न वर्तमान सरकार गम्भीर भएर लागेको तथा गत साल आफूले बेथिति र भ्रष्टाचारविरुद्धको अभियान नै सञ्चालन गरेको जानकारी दिँदै यो वर्ष पनि सुशासनलाई पहिलो प्राथमिकतामा राखेर काम गर्न आफू दृढ रहेको बताए ।
प्रधानमन्त्रीले भने, “सुशासन, परिष्कृत तथा मर्यादित जीवन, सभ्य र न्यायपूर्ण समाज, स्वस्थ्य र सन्तुलित पर्यावरणीय पद्धति, सवल लोकतन्त्र, राष्ट्रिय एकता र सम्मान’ ‘सुखीपन’का सूचक हुन् । हामीले थालेको रोजगारी र लगानीका विभिन्न कार्यक्रमहरू समृद्धिका हिस्सा हुन् । सुशासन समृद्धिको लागि पूर्वशर्त हो ।”

वृद्धभत्ता बढाउने घोषणा
अबको सम्पूर्ण काम आधुनिक नेपाल निर्माणतर्फको यात्रामा केन्द्रित हुने भन्दै कृषि, ऊर्जा, शिक्षा, स्वास्थ्यका क्षेत्रमा अत्यन्त गतिका साथ काम भइरहेको जनाउँदै उनले भने, “यो सरकार यतिमा वा उतिमा ढालिन्छ भन्नेहरूले बुढाबुढीका नजिकमा गएर त्यसो नभन्न र भनिएमा लौरो खानुपर्ला ।” सरकारको वृद्धभत्ताले मानिसलाई श्वाश जगाएकाले यसले मनोवैज्ञानिकरूपमा बा, आमाको आयु बढाएको उल्लेख गर्दै आगामी आर्थिक वर्षमा वृद्धभत्ता बढ्ने घोषणा गरे ।
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले चुनावी घोषणापत्रमा मासिक रू. पाँच हजारसम्म वृद्धभत्ता दिने सङ्कल्प गरेको थियो । उनले नेपालीको मूर्छित सपनालाई ब्युँझाइने उल्लेख गर्दै केही गर्न नसक्नेलाई सरकारले बचाउने र मागेर खान नपर्ने बताए ।
प्रधानमन्त्री ओलीले भर्ना अभियान र साक्षरता अभियानलाई सफल बनाएर दुनियाँलाई नेपाल पठित र विद्वानहरूको देश रहेको बनाउन आफू लागिरहेको उल्लेख गर्दै नेपालीका स्रोत र साधनको गरीबी नभएकाले मुलुकमा तीव्र विकास हुने जनाउनुभयो ।

उनले भने,“राष्ट्रलाई सामाजिक न्यायसहितको शान्तिपूर्ण, लोकतान्त्रिक, समृद्ध र सुसंस्कृत समाज बनाइनेछ । यसबाट नेपाली जनताले सुखी हुनेछन् । नयाँ वर्षमा म सबै ज्येष्ठ नागरिक र सबै नेपालीलाई सु–स्वास्थ्यको कामना गर्दर्छु । हामी सबै राष्ट्र निर्माणको अभियानमा अगाडि बढौँ ।”

प्रधानमन्त्री ओलीले आफ्ना पिता मोहनप्रसाद ओली र धर्मपत्नी राधिका शाक्यका माता धनमाया शाक्यलाई बैंक खाता खोलिएको प्रमाणपत्र र निःशुल्क स्वास्थ्य बीमाको कार्ड वितरण गर्नुभएको थियो । सोही अवसरमा प्रधानमन्त्री ओलीले सय वर्षका जमुना गुरुङ, ९४ वर्षीय डा. गौरीशङ्करलाल दास, ९२ वर्षीय टेकबहादुर बस्नेत, ८७ वर्षीय भैरव रिसाल, ८६ वर्षीय शोभावती तिमल्सिना ५५ जना ज्येष्ठ नागरिकलाई निःशुल्क स्वास्थ्य बीमा कार्ड वितरण गरे ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!