अवसर पाएर पनि गर्न नसकेको वर्षको रुपमा २०७५ लाई लिँदै हामीले बिदाई गरेका छौं । सरकारको नेतृत्व गर्ने दल नेकपाभित्रको भद्रगोल, अन्यौलका बीचमा नै बित्यो । त्यस्तै प्रमुख प्रतिपक्षी दल कांग्रेसभित्रको आन्तरिक तनाव चुलिँदै २०७५लाई बिदा गरिएको छ । आशैआशाको वर्ष थियो २०७५ । तर, ती आशा परिणाममुखी बन्न सकेन । आशामै सीमित बन्न पुग्यो ।
समृद्धिको नारा घन्काउँदै सत्ताको बागडोर सम्हाल्न पुगेका नेकपाका अध्यक्ष केपी शर्मा ओली सरकारको उपलव्धी पनि आशालाग्दो हुन सकेन् । परिणाम नदेखिँदा सरकारको काम कारवाही पनि त्यति सन्तोषजनक भएन । भाषणमा मात्र सीमित बन्न पुग्दा आमसर्वसाधारणमा खुशियाली छाउन सकेन । सरकारले आफ्नो पहिलो वर्ष योजना बनाउनमै बिताएको बतारहे । फलतः पहिलो वर्ष आधार वर्षको रुपमा लिन सकिन्छ ।
अहिले राजनीतिक स्थायित्व छ । दुई तिहाईको सरकार छ । समृद्धिको सपना छ । अब चाहिन्छ त केवल इच्छाशक्ति र स्रोत साधन । यी सवाल योजनामा सम्भव छ । जनताको पर्याप्त मत छ । जनचाहना पूरा गर्नका लागि दिएको अभिमतको सम्मान गर्न सत्तारुढ दल नेकपाको काँधमा जिम्मेवारी पनि आइपरेको छ । त्यसैले यो अवसरलाई सदुपयोग गर्न सक्नु पर्दछ । होइन भने इतिहासमा नालायक सावित हुनेछ ।
देशको विकासका लागि अबको दिन साँच्चै अवसर बनेर आएको छ । सबैतिर सम्भावनै सम्भावना छ । यो स्थितिमा यो वा त्यो भनेर अल्मलिने अवस्था छैन । अब पनि केही गर्न नसक्ने हो भने नैतिकतामाथि नै प्रश्न उठ्नेछ । विगतमा जस्तो सस्तो लोकप्रियताका लागि गफ दिएर जनता भुल्याउन सकिएला भन्ने नसोचे पनि हुन्छ । अहिलेका जनता सचेत छन् । निर्णय लिनसक्ने क्षमता राख्छन् । त्यसैले जनताको बीचमा देखिएका तमाम समस्याको समाधान गर्दै सरकारले अघि सारेको समृद्ध नेपाल सुखी नेपालीको परिकल्पना सार्थक बनाउनतिर लाग्नुपर्छ ।
समृद्धि भाषणबाट आउँदैन । जनचाहना र भावनाअनुरुपका कार्ययोजना अघि सारेर परिणाममुखी काम गर्न सक्नुपर्दछ । नेपालमा भोषण धेरै भए । धेरैको आश्वासन पाए । जनताले वास्तविक विकासको अनुभूति गर्न सकेको छैन । यो स्थितिमा इतिहासमा विरलै पाइने दुई तिहाईको मतको सम्मान गर्दै वर्तमान सरकारका लागि स्वर्णिम अवसर प्राप्त भएको छ । यो अवसरलाई ओंठे बोलीमा मात्र नभएर जनजीविकासँग जोडेर विकासपथमा लम्कँदा मात्र नेपालीले समृद्धिको अनुभूति गर्नेछ । त्यसैले यो २०७६ साल समृद्ध नेपाल बनाउने दिशामा अघि बढोस् शुभकामना ।






