वीरगञ्ज । चैत १७ गते ठूलो आँधी आउँदा बाराको फेटा गाउँपालिका ६ पुरैनियाकी अमिरुल नेसा तीन दिनको सुत्केरी थिइन् ।

तीनवटा छोराछोरी सहितकी सुत्केरी उनलाई घरले थिच्यो । जसो तसो बाहिर निस्किइन् । घर हावाले उडाएपछि हाल उनी राहतमा पाएको टेन्टमा बस्दै आएकी छन् । सिलाइको काम गर्ने श्रीमान भारतमै छन् ।
पोषिलो खानेकुराको अभावमा घरमै जन्मिएकी छोरी ‘तेतरी’ लाई हुर्काउन उनलाई निकै सास्ती भइरहेको छ । ‘घर छैन, केही छैन, दुःखले पाल्दैछु । आँधी आउँदा भाग्छु, नआउँदा टेन्टमै सुत्छु । घाममा बच्चालाई धेरै गर्मी हुन्छ । बेना चलाएर बस्छु । के गर्ने दशा लागेको छ’ अमिरुलले भनिन् ।
हावाहुरी गएको भोलिपल्टैदेखि गाउँमा राहतको ओइरो लागेको थियो । तर सुत्केरीका लागि आवश्यक खानेकुरा केही थिएन । सुत्केरी अमिरुलले पनि अरुले जस्तै एक सातासम्म गाउँमा चलेको मेस कै दालभात तरकारी खाएर बसिन् । ‘राहतमा बच्चाको लागि दुई डिब्बा दुध मिलेको छ अन्य कुरा केहि पाएको छैन । अब त्यसै बस्नुपरेको छ । राहतमा अरुलाई जे मिलेको त्यही खानेकुरा खाएर बसेको छु’ उनले भनिन् ।
राहतमा उनको परिवारले पनि अरुले जस्तै दाल, आलु, चामल पाएको छ । पोषिलो खानाको अभावमा अमिरुलले दुधे शिशुलाई आफ्नो दुधसमेत पेटभरी खुवाउन सकेकी छैनन् । ‘यसअघिका तीन छोरालाई आफ्नै दुध खुवाएर हुर्काएकी थिएँ । अहिले त दूध राम्रोसँग आउँदैन । बच्चालाई कहाँ पुग्छ र ?’ उनले भनिन् ‘पहिले सुत्केरी हुँदा दुई तीन दिन बिराएर मासु खाने गरेको थिएँ, हावाहुरी आएपछि घरमा मासु आएको छैन ।’
उनको ११ जनाको परिवार राम्रोसँग चलिरहेको थियो । घरमा भैंसी थियो, आँधी आएपछि घरमा किचियो, घाइते भैंसी गाउँलेले लिएर गए । आँगनमा ससुराले पसल चलाउँदै आएका थिए, त्यसैबाट आएको आम्दानीले नुन तेलको गर्जो टर्ने गरेको थियो । त्यो पनि हावाहुरीले उडाएर लग्यो । ससुरा अहिले कामविहीन भएका छन् ।






