
काठमाडौं । २५६२ औं बौद्ध जयन्ती भव्यताका साथ मनाइयो । एउटा राजनीतिक प्रचारवाजी गर्ने गरी मनाइएको बुद्ध जयन्तीले बुद्धप्रतिकै अपमान भइरहेको छ । बुद्ध जन्मेको देश भनेर विश्वमा प्रचार गर्न सकेको छैन । विश्व शान्तिको तपोभूमि । आस्थाको प्रतिक, पवित्रताको अनुपम नमुना । विश्वका बौद्धमार्गी समुदायको बन्नैपर्ने गन्तव्य । लुम्बिनी । गौतमबुद्धको जन्मस्थल । कसैले भगवान मान्लान, कसैले दार्शनिक मान्लान् । कुनै विवाद छैन । बुद्ध जन्मस्थल लुम्बिनी शान्तिको प्रतिक भएकोमा दुई मत छैन । तर, नेपाललाई विश्वमा चिनाउने सगरमाथा भएजस्तै लुम्बिनी पनि हुनुपर्ने हो । तर, आजसम्म पनि लुम्बिनीका विषयमा हिनताबोध पालेर नेपालीलाई बस्न बाध्य बनाइएको छ । सम्पदा संरक्षणमा रहेको राज्यको कमजोरीको फाइदा पराईले उठाइरहेको छ । दर्शकवृन्द । यही पवित्र लुम्बिनीमा अन्तराष्ट्रिय बौद्ध सम्मेलन हुंदैछ, बुद्ध जयन्तीको अवसर पारेर । लुम्बिनीमा थप के के हुंदैछ ? प्रोफेसर केन्जो टांगेले परिकल्पना गरेको लुम्बिनी गुरुयोजना कहा“ पुग्यो ? समृद्ध लुम्बिनी बनेर विश्वरभबाट लाखौं पर्यटक भित्र्याउन नेपालले सक्ला कि नसक्ला ? यी यक्षप्रश्नहरु बारम्बार उठिरहन्छन् ।
एउटा विकास आयोजना सम्पन्न हुन कति समय लाग्ला ? २ वर्ष, ४ वर्ष, ५ वर्ष, १० वा २० वर्ष । तर, नेपाललाई विश्वमै चिनाउने शान्तिको अग्रदूत भगवान गौतम बुद्धको जन्मस्थल लुम्विनीको गुरुयोजना ४० वर्षदेखि अधुरै छ ।
लुम्विनी क्षेत्रको संरक्षण र योजनावद्ध विकास गर्न भन्दै सन १९८७ मा लुम्विनी विकास गुरुयोजना बनाउन सुरु भएको हो । १४ वर्ष भित्र सम्पन्न गर्ने गरि गुरुयोजना कार्यान्वयन गर्ने भनिएपनि गुरुयोजनाको प्रगति कछुवा गतिमा पनि छैन । लुम्बिनीको विकासको लागि भन्दा पनि राम्रालाई भन्दा हाम्रालाई जिम्मेवारी दिने गलत प्रवृत्तिका कारण गुरुयोजनाको यस्तो हविगत भएको हो । गुरुयोजना सम्बन्धी विज्ञता भन्दा पनि अयोग्यहरुको प्रवेशले गुरुयोजना अलपत्र परेको सत्य कुरा हो । दक्ष र योग्यहरुको प्रवेश भन्दा पनि अयोग्यहरुले लुम्बिनीको विकासको जिम्मा लिदा लुम्बिनी विकास गुरुयोजना अघि बढ्न नसकेको हो । राजनीतिक स्वार्थबाट प्रेरित प्रवृत्तिले ४० वर्षदेखि गुरुयोजना अधुरो हुदै आएको छ । विश्व मानव जगतको आस्थाको धरोहर भएर पनि जिम्मेवारहरुको खेला“चीका कारण अन्तराष्ट्रिय समुदायको अगाडि लज्जाकै विषय बनेको छ ।
गुरुयोजना निर्माणका लागि हालसम्म करिव ८ अर्व ६९ लाख ३० हजार रुपैया खर्च भईसकेको तथ्यांक छ । जग्गा अधिग्रहण र भौतिक संरचना निर्माणमा नेपाल सरकारको साढे २ अर्व र विदेशी दाताहरुले बनाएका बौद्ध गुम्बाहरुको निर्माणमा साढे ५ र्अव खर्च भैसकेको छ । ४० वर्षदेखिको गुरुयोजना अझै पूर्णता पाउन सकेको छैन । ४० वर्षमा पनि नसकिएको गुरुयोजना कार्यान्वयनको काम अझै २५ प्रतिशत ब“ँकि छ अधुरो लुम्बिनी विकास गुरुयोजना पूर्णरुपमा कार्यान्वयन गर्न अझै ६ अर्व रुपैया लाग्ने अनुमान गरिएको छ । गुरुयोजना निर्माणको कामलाई युद्धस्तरमा गरेपनि अझै ४ वर्ष पुरा गर्न लाग्नेछ ।
धार्मिक पर्यटनको अब्बल गन्तव्य , विश्व शान्तिको पूण्यभूमि, विश्व मानव जगतको आस्थाको धरोहर लुम्बिनीको प्रवद्र्धन गर्न भईरहेका ढिलालाई दुनियांमा नेपाललाई लज्जित बनाएको छ । जिम्मेवारहरुको लापरवाहीका कारण १४ वर्षमा सम्पन्न हुने गुरुयोजना कार्यान्वयन ४ दशकसम्म थन्किनु चानचुने कुरो होईन । यसर्थ अबको अन्तराष्ट्रिय बौद्ध सम्मेलनबाट अधुरा लुम्बिनी विकासका कार्य युद्धस्तरमा पुरा गर्ने अठोटसहित बाचा पुरा गर्न जिम्मेवारहरु नचुकून् ।
पर्यटन प्रवर्द्धनमा बेवास्ता
१४ वर्षभित्र सम्पन्न गर्ने भन्दै आजभन्दा ४० वर्ष पहिले लुम्बिनी विकास गु्रुयोजना कार्यान्वयनमा गएको थियो । गुरुयोजना कार्यान्वयनमा गएपनि योजनाहरु पुरा हुन सकेका छैनन् । इतिहासकै सर्वाधिक लामो योजना बनेको छ, लुम्बिनी गुरुयोजना । गुरुयोजना पुरा नहुंदा लुम्बिनीको पर्यटन प्रवद्र्धन सोचेजति हुनसकेको छैन ।
चार दशकमा गुरुयोजना अनुसार पवित्र उद्यान क्षेत्रमा पोखरीहरुको निर्माण कार्य भएको छ । लुम्बिनी गुरुयोजना वरिपरि १६ मि.मि. सुरक्षा पर्खाल निर्माण भएको छ । तीर्थयात्री एवम् पर्यटकलाई उत्तरतर्फबाट बुद्ध जन्मस्थलसम्म जान र आउन केन्द्रीय नहरमा डुंगा संचालन, प्रो. केन्जो टांगेले तयार गरेको शैलीमा प्रशासकीय भवन तथा पर्यटक सूचना केन्द्रहरु निर्माण भएका छन् । लुम्बिनी सर्किटमै पर्ने कपिलवस्तुस्थित प्राचीन कपिलवस्तु दरबार, तिलौराकोट क्षेत्रमा पुरातात्विक उत्खनन् जारी छ ।
प्रोफेसर केन्जो टांगेले बनाएको गुरुयोजना बाहेक यूनेस्कोले लुम्बिनी क्षेत्रको (Integrated Management Plan – IMP) तयार गरी स्वीकृतिको लागि अन्तिम चरणमा पुर्याएको छ । यस्तै, कोरियन संस्था कोइकाद्वारा लुम्बिनी विश्व शान्ति सहरको विस्तृत गुरुयोजना तयार गरी स्वीकृतिको अन्तिम चरणमा पुगेको छ ।
गुरुयोजना अनुसार हालसम्म करिव ७५% कार्य सम्पन्न भएको छ । ४० वर्षसम्म लुम्बिनी गुरुयोजना चलिरहे पनि अझै २५ प्रतिशत काम अधुरै छ । लुम्बिनी विकासकोषमा हुने चरम राजनीतिकरण, नेतृत्वको कार्यक्षमता अभाव आदिका कारण गुरुयोजनाको काम कछुवा गतिमा हु“दा लुम्बिनीको महिमा जति नै उच्च भएपनि अझै अधुरो छ । पूर्वाधारको विषय दुनिया“का अगाडि लज्जाको विषय बनेको छ । अझै पनि मुख्य १६ ओटा आयोजना पुरा हुन सकेका छैनन् ।
लुम्बिनी सांस्कृतिक केन्द्रका ६ वटा भवन, पार्किङ्ग, उ थान्त अडिटोरियम हल, वाटर टावर, वाटर सप्लाई सिस्टम, विहार क्षेत्रभित्रको पदमार्ग, कर्मचारी आवास बन्न बांकी छ । यस्तै, Campaign Plaza एबिशब, कालोपत्रे सडक, सर्भिस रोड, ढल निकास, Landscaping, Entrance Court हरहवा, तेलार खोला डाभर्सन, उत्तरी र दक्षिणी तलाउ मर्मत, ढल प्रशोधन, ६ जोडी सिम्बोलिक पेभेलियन, हाइस्कूल कम्प्लेक्स, विद्युत वितरण प्रणाली, दूरसंचार योजना अझै अधुरा छन् ।
गुरुयोजना विपरीतका काम
त्यसो त, बुद्ध जन्मस्थल लुम्बिनीमा गुरुयोजनाको माफदण्ड बिपरीत केही काम भैरहेको छ । गुरुयोजना अन्तरगत रहेको एक सय ५५ विघा क्षेत्रफलमध्ये मोनास्ट्रीक जोनमा नियम बिपरीत काम भएका छ । इच्छुक राष्ट्र तथा संस्थाले प्रस्ताव गरेपछि नक्सा अनुसार वर्गिकरण गरिएका तीन प्रकारका प्लट मध्ये एउटा दिने व्यवस्था छ । तर लुम्बिनी विकास कोषका कर्मचारीहरुले भने आफुखुसी निर्णय गरि दुईदेखि तीन वटासम्म प्लट दिएको पाइएको छ । कोषमा हुने राजनीतिक नियुक्तिबाट आएका पदाधीकारीहरुले थाइल्याड, बर्मा, चीन, कोरिया, कम्बोडिया देशका विहार बनाउन दुई देखि तीनवटा प्लट दिएका छन् । ९५ प्रतिशत काम सम्पन्न भएको मोनास्ट्रीक जोनमा अब ६ वटा मात्र प्लट बांकी छन् । मोनास्ट्रीक जोनमा १७ राष्ट्रले बौद्ध परम्परा झल्कने गुम्बा, बिहार र ध्यान केन्द्रहरु बनाएका छन् । जोनमा दुई सय, एक सय बीस र ८० वर्ग मिटरका ४२ वटा प्लट छन् ।
गुम्बाको नाममा होटल ः लुम्बिनी विकास गुरुयोजना लुम्बिनी परिसरमा गुम्बाहरुमा होटल संञ्चालन भैरहेका छन् । होटल व्यवसायीहरुको आम्दानीको मुख्य श्रोत भनेको पर्यटन ब्यावसाय हो । तर लुम्बिनी भित्र रहेका बौद्ध गुम्बाहरुले भने होटल संञ्चालन समेत गरेका छन् । गुम्बामा एक जना भिक्षु र तिनका लागि आवस्यक खाना पकाउने भान्से र केही सहयोगी राख्न पाउने व्यवस्थालाई समेत उल्टाइएको छ ।






