धादिङ । काँकडभिट्टाबाट काठमाडौं आउँदै गरेको बस धादिङको गजुरी ६ बन्छेटारस्थित त्रिशूली नदीमा खस्दा पाँच जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा एक महिला र ४ जना पुरुष रहेका उद्धारमा संलग्न प्रहरी उपरीक्षक राजकुमार वैदवारले बताए । आइतबार बिहान ना ७ ख ४३८७ नम्बरको बस सडकबाट ६० मिटर तल त्रिशूली नदीमा खसेको हो । मृतकहरुको सनाखत हुन नसकेको गजुरीस्थित प्रहरी निरिक्षक नवराज ढुंगेलले बताए ।

दुर्घटनामा २८ जना घाइते छन् । घाइतेमध्ये १४ जनालाई उपचारका लागि काठमाडौं पठाइएको छ । अन्यको गजुरी, आदमघाट, मलेखु लगायतका स्थानीय अस्पतालहरुमा उपचार भइरहेको छ ।
दुर्घटनाको कारण खुल्न सकेको छैन । यद्यपि तीव्र गतिका कारण दुर्घटना भएको हुनसक्ने अनुमान छ ।






