काठमाडौं उपत्यकाका विभिन्न स्थानमा भएका विस्फोटमा मृत्यु हुने चार पुगे, ‘पहिलेदेखि नै शङ्कास्पद गतिविधि थियो’

SHARE:

काठमाडौँ । सुकेधारामा आइतबार भएको विस्फोटमा परेकामध्ये थप एकको मृत्यु भएको प्रहरीले पुष्टि गरेको छ । यसअघि सुकेधाराको विस्फोटमा दुई जनाको मृत्यु भएको थियो । दुवै स्थानमा भएको विस्फोटमा अहिलेसम्म चार जनाले ज्यान गुमाएको महानगरीय प्रहरी कार्यालय काठमाडौँका प्रवक्ता श्यामलाल ज्ञवालीले जानकारी दिए । घट्टेकुलोको सङ्गम गल्लीमा भएको विस्फोटमा एक जनाको मृत्यु भएको हो । घाइते पाँचमध्ये चार जनाको परिचय खुलेको छ । घट्टेकुलोमा भएको विस्फोटमा परी रुकुम घर भई त्रिचन्द्र कलेज पढ्ने चन्द समूहका विद्यार्थी नेता रविन केसी घाइते भएका छन् । उनको अहिले काठमाडौँस्थित ट्रमा सेन्टरमा उपचार भइरहेको छ ।

सुकेधाराको ढलाने पुल नजीक भएको विस्फोटमा परी काठमाडौँ कपनका हरि खड्का, बूढानीलकण्ठका सुरेन्द्र महर्जन, महोत्तरी घर भएका छोटु ठाकुर घाइते भएको प्रहरीले जनाएको छ । उनीहरुको ओम अस्पतालमा उपचार भइरहेको छ । एक जनाको परिचय खुलेको छैन ।

‘पहिलेदेखि नै शङ्कास्पद गतिविधि थियो’
काठमाडौँ घट्टेकुलोको सङ्गम टोल शान्त थियो । यहाँ यस्ता घटना यसअघि भएको थिएन तर आज एक्कासि घटना हुँदा भने स्थानीयवासी चकित भए । पढ्न बसेका शौरभ भट्टराई ठूलो आवाज आउँदा अच्चममा परे । कहाँ के भयो भनेर हत्तनपत्त बाहिर निस्के ।

“म पढ्दै थिएँ एक्कासि ठूलो आवाज आयो, बाहिर हेर्दा परको घरमा धुवाँ जस्तो देखेँ, हेर्न जाँदा क्षतविक्षत अवस्थामा शव देखियो, एक जना घाइते थिए, घरभित्रको कोठा चर्केको देखेँ”, शौरभले भने । उनका अनुसार मृतकको टाउको एकापट्टि, हात अर्कोपट्टि उछिट्टिएको थियो । खाटलगायत कोठाका सामग्रीमा क्षति पुगेको थियो । भित्तो नै चर्किएको थियो । “एकै छिनपछि प्रहरी आयो र हामी बाहिर निस्कियौँ”, घटनाबारे शौरभले भने । उनले पछिसम्म पनि भित्र बारुद गन्हाइरहेको बताए ।

कोठाभित्रको ग्यास सिलिण्डरमा कुनै क्षति भएको थिएन । विस्फोटपछि घटनामा पुगेका अर्का स्थानीय सागर दाहालले घटनास्थलमा दयनीय अवस्था देखेको बताए । उनीहरुले आफैँ बम बनाउँदै गर्दा पड्केको स्थानीयवासी दाबी गर्छन् । अर्का स्थानीयवासीले भने, “हरेक दिन जसो नै पाँच–सात जना कोठामा आउने–जाने गरेका थिए, उनीहरुका गतिविधि पनि शङ्कास्पद थियो, उनीहरु दुई महिनाअघि मात्रै उक्त घरमा कोठा सरेका हुन् ।”

नेपाली सेनाले पनि दुवै घटनामा सिलिण्डर विस्फोट नभएको देखिएकाले बम डिस्पोजल टोलीले घटनाको अनुसन्धान गरिरहेको बताएको छ । काठमाडौँको सुकेधारा र घट्टेकुलो विस्फोटका घटनामा चन्द समूहको संलग्नता रहेको प्रहरीले जनाएको छ । महानगरीय प्रहरी कार्यालय काठमाडौंका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक उत्तमराज सुवेदीले दुवै ठाउँमा विप्लव समूहले नै विस्फोट गराएको उल्लेख गरे । काठमाडौँको नागढुङ्गा र ललितपुरको लगनखेललगायत विभिन्न क्षेत्रमाा समेत शङ्कास्पद वस्तु फेला परेको प्रहरीले जनाएको छ ।

मानवीय क्षति भएको दुवै ठाउँमा अनुसन्धानका लागि नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको संयुक्त टोली खटिएको छ । सो घटनापछि प्रहरीले काठमाडौं उपत्यकालगायत देशभर सुरक्षा व्यवस्था कडा पारेको छ । गृह मन्त्रालयमा साँझ बसेको आकस्मिक बैठकमा गृहमन्त्री रामबहादुर थापाले सुरक्षा व्यवस्था कडा पार्न सुरक्षा निकायलाई निर्देशन दिएका छन् ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!