सिन्डिकेटको पक्षका दर्जनौं यातायात व्यवसायी पक्राउ, सरकारले सम्पत्ति छानबिन गर्ने

SHARE:

यातायातमा सिन्डिकेट जारी राख्नु पर्ने भन्दै गाडी चल्न नदिने नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव सरोज सिटौलासहित दर्जनौं व्यवसायी पक्राउ परेका छन् । रिपोर्टस क्लब, भृकुटीमण्डपको कार्यक्रममा आउने क्रममा सिटौलालाई काठमाडौं प्रहरी परिसरको सादा पोशाकको टोलीले पक्राउ परेको हो ।

सिटौलालाई महानगरीय प्रहरी काठमाडौं प्रहरी परिसर, टेकुमा राखिएको परिसरका प्रहरी नायब उपरीक्षक ९डिएसपी० मोहन थापाले बताए । उनी सिडिन्केट पक्षमा जारी व्यवसायीको आन्दोलन प्रचार–प्रसार समितिका संयोजक हुन् । उनी माओवादी निकट व्यवसायी हुन् ।पक्राउ परेका सिटौलालाई आवश्यक सेवा सञ्चालन ऐन वा सार्वजनिक अपराध ऐन अन्तरगत मुद्दा चलाइने प्रहरीले जनाएको छ । त्यसबारे सरकारी वकिलसँग समन्वय भइरहेको प्रहरीले जनाएको छ ।

रुपन्देही, रौतहट, कास्कीसहित पाँच जिल्लाबाट २० व्यवसायी पक्राउ

रुपन्देही, रौतहट, कास्की, कञ्चनपुरसहित पाँच जिल्लाबाट २० यातायात व्यवसायी पक्राउ परेका छन् ।

सरकारको नियमविपरीत सिन्डिकेटको समर्थनमा गाडी चल्न नदिने यातायात व्यवसायी समितिका अध्यक्षलगायत पदाधिकारीलाई शुक्रबार प्रहरीले पक्राउ गरेको हो । यातायात व्यवसायलाई कम्पनीमा दर्ता गरेर सञ्चालन गर्नुपर्ने व्यवस्थासहितको यातायात कार्यविधि निर्देशिका संशोधन गरेपछि व्यवसायीहरु आन्दोलनमा उत्रिएका हुन् । बन्दका कारण लामो तथा छोटो दूरीका सवारी साधन चल्न सकेको छैन । एम्बुलेन्स, निजी सवारी साधन, दूधका गाडी, मोटरसाइकल, ट्याक्सी तथा टेम्पोहरु चलेका छन् । पूर्व(पश्चिम राजमार्गमा बिहानदेखि छिटफुट रुपमा ट्रक चलेका छन् । यातायात बन्दले जनजीवन प्रभावित भएको छ ।

रौतहटबाट छ जना पक्राउ
जिल्ला प्रहरी प्रमुख एसपी यज्ञविनोद पोख्रेलले रौतहट बस व्यवसायी संघका अध्यक्ष लालबाबु गिरी, ट्रक व्यवसायी संघका अध्यक्ष धु्रव अर्याल र टेम्पो तथा मझ्यौला संघका अध्यक्ष ताराबहादुर बजगार्इंलगायत ६ जनालाई पक्राउ गरिएको बताए । ठूला सवारी साधन बन्द हुदा सानामा पनि चर्को भाडा तिर्नुपरेको यात्रुहरु बताउँछन् ।

पोखरामा ५ व्यवसायी पक्राउ
पृथ्वी राजमार्ग बस व्यवसायी समितिमा आवद्ध रुद्रबहादुर नेपाली र प्रेम गुरुङ, पोखरा बस व्यवसायीमा आवद्ध रमेश सुचिकार र सुनील थापा, बागलुङ भगवती जिप समितिका निर्मल तामाङलाईलाई पोखराको विभिन्न स्थानबाट पक्राउ गरेको प्रहरीले जनाएको छ । पोखरामा क्रियाशील विभिन्न यातायात व्यवसायी समितिका पदाधिकारी भने फरार छन् । प्रमुख जिल्ला अधिकारी तारानाध अधिकारीले उनीहरुलाई पक्राउ गर्न प्रहरी परिचालन गरेको बताए ।

कञ्चनपुरबाट ४ जना
प्रहरीले कञ्चनपुरको महाकाली यातायातका अध्यक्षसहित ४ जना व्यवसायीलाई पक्राउ गरेको छ । यातायात व्यवसायी राष्ट्रिय महासंघका सहकोषाध्यक्ष समेत रहेका अध्यक्ष डम्मरराज पन्त, महामाली टेम्पो तथा टेक्सी व्यवसायी समितिका अध्यक्ष जनकबहादुर चन्द र व्यवसायीहरु दानसिंह धामी तथा सुरेन्द्र अवस्थीलाई महेन्द्रनगर बजार क्षेत्रबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका डिएसपी ज्ञानबहादुर सेठीले जानकारी दिए ।
पाल्पामा दुई

प्रहरीले पश्चिम नेपाल बस व्यवसायी संघका पाल्पा इन्चार्ज बिकास भट्टराई र श्रीनगर यातायात व्यवसायी समिति कोषध्यक्ष किरण चित्रकारलाई नियन्त्रणमा लिएको छ । दिउासो प्रहरीले पश्चिम नेपालका भट्टराई र श्रीनगरका कोषाध्यक्ष चित्रकारलाई प्रहरीले तानसेनबाट नियन्त्रणमा लिएको प्रमुख जिल्ला अधिकारी वष्णिुप्रसाद ढकालले बताए ।

बर्दिया २
कृष्णसार यातायात समितिका दुई पदाधिकारीलाई शुक्रबाार प्रहरीले पक्राउ गरेको छ । समितिका महासचिव भूमिदत्त शर्मा र सचिव कोयल खड्का क्षेत्रीलाई स्थानीय प्रशासनले पक्राउ गरेको हो । अत्यावश्यक ऐन अन्तर्गत यातायात बन्द गरेकोले उनीहरुलाई पक्राउ गरिएको प्रहरी नायव उपरीक्षक युवराज खड्काले जनाए ।

धनगढी १
कर्णाली रिभर यातायात समितिका अध्यक्ष धिरजबहादुर शाहालाई प्रहरीले नियन्त्रणमा लिएको छ । कर्णाली रिभरको धनगढी कार्यालयबाट प्रहरीले अपरान्ह् ३ बजे प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी प्रमुख विनोद शर्माले बताए ।

यातायात समितिका पदाधिकारीहरुको सम्पत्ति छानबिन

सरकारले यातायात समितिका पदाधिकारीहरुको सम्पत्ति छानविन थाल्ने भएको छ । साथै समितिहरुको बैंक खाता रोक्का गर्ने निर्णय भएको छ । गृहमन्त्री रामबहादुर थापा बादलको नेतृत्वमा शुक्रबार बसेको बैठकले यातायात समिति तथा महासंघका पदाधिकारीहरुको सम्पत्ति छानबिन अघि बढाउने निर्णय गरेको हो । यसका लागि यातायात व्यवस्था विभागले देशभरका जिल्ला प्रशासन कार्यालयले समिति पदाधिकारीहरुको विवरण लिएर सम्पत्ति शुद्धीकरण विभागलाई उपलब्ध गराउनेछ ।

बैठकले सार्वजनिक यातायात सञ्चालन नगर्ने यातायात महासंघ र समितिहरुको बैक खाता रोक्का गर्ने निर्णय गरेको छ । खाता रोक्का लागि विभागले अर्थ मन्त्रालयमार्फत राष्ट्र बैंकलाई लेखि पठाउने गृह मन्त्रालय स्रोतले जनाएको छ । बैठकले यातायात सेवा सञ्चालन गर्न व्यवसायीहरुलाई आग्रह गरेको छ । साथै विमा लगायतका केही जायज माग सम्बोधन गर्न सरकार तयार रहेको बताएको छ । तर, सिन्डिकेट अन्त्यको निर्णयबाट पछि नहट्ने गृह र यातायातमन्त्री दुबैले बताएका छन् ।

प्रकाशित मितिः २१ वैशाख २०७४ ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!