
लन्डन । बेलायती समकक्षी टेरेजा मेको निमन्त्रणामा नेपालका प्रधानमन्त्री केपी शर्मा ओली बेलायत भ्रमणमा आउने भएका छन् । मेले रक्षा राज्यमन्त्री मार्क ल्यान्कास्टर गत मार्चमा नेपाल भ्रमण जाँदा समकक्षी ओलीलाई बेलायत भ्रमणको औपचारिक निमन्त्रणा पठाएकी थिइन् ।
बेलायती प्रधानमन्त्री मेले जुन ७ तारिख पदबाट राजीनामा दिने घोषणा गरेसँगै बेलायतमा राजनीतिक अस्थिरताबीच ओलीको भ्रमण हुन लागेको हो। प्रधानमन्त्री ओली र मेबीच ११ तारिख बिहान भेटवार्ता तय भएको लन्डनस्थित नेपाली दूतावासले जनाएको छ। ओलीले अन्य बेलायती पदाधिकारीहरुसँग समेत भेटवार्ता गर्नेबारे गृहकार्य भइरहेको लन्डनस्थित नेपाली दूतावासका उपनियोग प्रमुख शरदराज आरणले बताए ।
जेनेभामा आइएलओ सम्मेलन सकेर प्रधानमन्त्री ओली १० जुनमा लन्डन आइपुग्ने कार्यक्रम छ । त्यही साँझ ओलीले अक्सफोर्ड विश्वविद्यालयले साढे ८ बजे अक्सफोर्डमा गर्ने कार्यक्रमलाई सम्वोधन गर्ने छन् । प्रधानमन्त्री ओली १२ जुन बिहान ८.३० बजे दूतावासले गर्ने रिसेप्सनमा समेत सहभागी हुनेछन् भने आन्दोलनरत भूतपूर्व गोर्खाहरु र नेपाली समुदायसँग समेत अन्तरक्रिया गर्ने तयारी छ।
बेलायत नेपाल कूटनीतिक सम्बन्ध स्थापनाको २०३ वर्षे इतिहासमा बेलायती प्रधानमन्त्रीले भने अहिलेसम्म नेपाल भ्रमण गरेका छैनन् ।
१७ वर्षपछि नेपालका प्रधानमन्त्रीको बेलायत भ्रमण तय भएको हो । यसअघि सन् २००२ मा तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवा बेलायत आएका थिए ।






