
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले युवाहरुमा देश बनाउने भावना र अठोट नभएसम्म देश नबन्ने बताएका छन् । काठमाडौँ महानगरपालिकाले बुधबार राजधानीमा गरेको स्मार्ट सहरी प्रविधि प्रतिस्पर्धा कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले आफ्नो देश आफैँले बनाउनुपर्नेमा जोड दिएका हुन् ।
२०७२ साल फागुन ४ गते भत्किएको धरहराको फेदमा गएर मै बनाउँछु मेरो धरहरा भनेको स्मरण गर्दे उनले मेरो देश मै बनाउँछु भन्ने अठोट नलिएका कारण अहिले सम्म देश नबनेको बताए । प्रधानमन्त्री ओलीले काठमाडौँबासीले काठमाडौँ म बनाउँछु भन्ने बुझेर व्यवहारमा कार्यान्वयन गरेमा काठमाडौँ बन्ने विश्वास व्यक्त गरे । महानगरले आयोजना गरेको स्मार्ट सहरी प्रविधि प्रतिस्पर्धामा सहभागी भएका युवाहरुलाई बधाई तथा शुभकामना दिँदै प्रधानमन्त्री ओलीले हिम्मत र अठोट भए काम र अवसरका लागि विदेश जानु नपर्ने बताए ।
अन्य देशको तुलनामा नेपालमा प्रसस्त सम्भावना रहेकाले हिम्मत, इच्छाशक्ति र नविन सोचका साथ देश बनाउने अभियानमा लाग्न उनले सुझाव दिए ।






