प्रा.डा. जगमान गुरुङ
विश्वमा चार प्रकारको ल्होछार प्रचलनमा रही आएको छ । यसको नाम तोला ल्होसार, सोनम ल्होसार, ग्याल्बो ल्होसार र तमु ल्होछार हो । तोला ल्होसार पौष शुक्ल प्रतिपदाको दिनमा पर्दछ । अदिम ल्होसार भनेको तोला ल्होसार हो । यो लोपोन्मुख अवस्थामा रहेको छ । पश्चिम तिब्बतको कैशल मानसरोबरको थोरै समुदाय र नेपालको हुम्ला, मनाङ र भुटानको सानो समुदायले अझै तोला ल्होसार मान्ने गर्दछन् ।
सोनाम ल्होसार माघ शुक्ल प्रतिपदाको दिनमा पर्दछ । पश्चिमी तिब्बतका जनता र नेपालका तामाङ समुदायले सोनाम ल्होसार मान्दछन् । तामाङहरूले आफ्नो भाषामा ‘ल्हो–सार’ लाई ल्हो–छार भन्दछन् । गुरुङ भाषा, तामाङ भाषा र थकाली भाषाको बीचमा निकै घनिष्ट सम्बन्ध रहेको छ । सोनाम ल्होसार मानसरोबरदेखि ल्हासासम्मको सम्पूर्ण पश्चिमी तिब्बतको भू–भाग र नेपालको हुम्ला, मनाङ र सोलुखुम्बु बाहेकका सम्पूर्ण हिमाली क्षेत्रका तामाङ समुदायले मान्ने गर्दछन् ।
विश्वमा सोनाम ल्होसार मन्नेहरुको संख्या धेरै छ । जस्तो चीनमा पनि यो पर्व मनाइन्छ । हङकङमा पनि नयाँ वर्षको रुपमा मान्ने गरिन्छ । त्यो चीनमा मनाउने नयाँ वर्ष पनि सोनाम ल्होसार नै हो । मंगोलीयमा पनि यही ल्होसार मनाउने गरिन्छ । उनीहरुले ल्होसार नभने तापनि मान्ने दिन एउटै हो । तिब्बतमा दलाई लामाको शासन सुरु हुनुभन्दा पहिले तिब्बतको शाक्य मठका लामाहरुलाई मंगोलका बादशाहहरु
(चङ्गेज खाँ, कुब्लाई खाँ)ले धर्म गुरु मानेका थिए । शाक्य माठका माठधीशहरुले सोनाम ल्होसार मान्ने भएकाले यो फैलँदै गएको हो ।
फाल्गुन शुक्ल प्रतिपदाको दिन मान्ने ग्याल्पो ल्होसार ल्हासादेखि पूर्वको तिब्बत र नेपालको सोलुखुम्बु र शेर्पा समुदायले मान्ने ल्होसार हो । अहिले दलाई लामाले मान्ने ल्होसार पनि ग्याल्पो ल्होसार हो । तिब्बतमा तोला र सोनाम भन्दा पनि ग्याल्पो ल्होसारले राजकीय संरक्षण पाएको थियो ।
नेपालमा तोला पौष शुक्लमा मान्ने, सोनाम माघ शुक्लमा मान्ने र ग्याल्पो फाल्गुन शुक्लमा मान्ने हुँदा यो तिथी अनुसार मान्ने गरिन्छ तर गुरुङ समुदायले तमु ल्होछार भने पुष १५ मा मनाउँछन् यो भने तिथी अनुसार होईन ।
तमु जातिले मान्ने ल्होछारको सम्बन्ध तोला ल्होसारसँग रहेको छ किनभने मनाङमा बस्ने बसिन्दाले तोला ल्होछार मान्दै आएको छ । गुरुङहरु विश्वभरमा जहीतही बसाई सरेर बसे पनि पहिलो उत्गम थलो क्होला सोप्रे टो हो । त्यो साविक लामजुङमा पर्दथ्यो भने अहिले २०३२ सालबाट लमजुङको ५ वटा गाविस कास्कीमा गावियो अहिले पानी ढालोको आधारमा क्होल सोप्रे टो कास्कीमा पर्दछ ।
मनाङमा तोल ल्होछार मान्ने र लमजुङका गुरुङहरुले पुषे १५ मान्ने भएकोले यसको सम्बन्ध तोला ल्होछारसँग रहेको हो । यसले गर्दा तोला, सोनाम र ग्याल्पोलाई ल्होसार भन्नु पर्दछ भने तुूहरुको चाहीं ल्होछार हो । ल्हो भनेको वर्ष हो । सार भनेको नयाँ हुन्छ । तिब्बती भाषाको ‘लो’ शब्दबाट गुरुङ भाषाको ‘ल्हो’ शब्द बनेको हो । तिब्बती भाषामा ‘लो’ शब्दले वर्ष र उमेर भन्ने अर्थ बुझाउँछ भने ‘सर’ शब्दले नयाँ भन्ने अर्थ बुझाउँदछ ।
‘लो–सर’ तिब्बती भाषाको मूल शब्द हो भने ल्होछार चाहिं त्यस मूल तिब्बती शब्दबाट बनेकोे तत्भव गुरुङ शब्द हो । जसको कारणले गर्दा तामाङ, थकाली र गुरुङहरुले पुष, माघ र फागुन जहिले मनाए पनि यहीं ल्हो फेर्ने अर्थात वर्ग फेरिने भएकाले तमुले मनाउने पुषे १५ ल्होछार हो ।
यसरी बाह्र वर्षमा उही ‘ल्हो’ आउने भए तापनि भाषिक विकास एवं शब्द निर्माणको प्रकृया र चलन चल्तिको आधारमा त्यस ‘ल्होछार’ लाई नयाँ मानिएको हो । अतः ल्होछार शब्द गुरुङ भाषाको परम्परागत शब्द भएकोले ल्होछार शब्दको प्रयोग गर्नु उपयुक्त हुन्छ । सौर्य मास अनुसार पुस १५ गते ल्होछार मान्ने परम्परा केवल गुरुङहरूमा मात्र प्रचलित छ । चन्द्रमास अनुसार ग्याल्द छेचि अर्थात पौष शुक्ल प्रतिपदाको दिनमा तोला ल्होसार पर्दछ । तोला ल्होसारको सम्बन्ध केवल प्रकृति अथवा सूर्य दक्षिणायणबाट उत्तरायणतिर लाग्ने अथवा सूर्यको गतिबाट रात लामो र दिन छोटो हुने क्रमको अन्त भई रात छोटो र दिन लामो हुने क्रम शुरु हुने दिनसँग रहेको छ । पुस १५ गते जन्मेका मानिसहरूको ल्हो अथवा वर्ग हुँदैन, त्यस कारण पुुस १५ गते जन्मेका मानिसहरूको फोबोँ ल्हो अर्थात चमेरो वर्ग हुन्छ भनिन्छ ।
तिब्बती भाषामा सूर्य वा दिनलाई न्हिम भनिन्छ भने तमु ची गुरुङ ज्योतिषशास्त्रमा दिन र तिथिलाई ङ्हिम भनिन्छ । तिब्बती भाषाको न्हिम शब्दबाट गुरुङ भाषाको ङ्हिम शब्द बनेको हो । तिब्बती र गुरुङ दुबै ज्योतिष शास्त्रले सूर्योदय अथवा घाम झुल्केपछि नयाँ दिन र बार शुरु हुन्छ भन्ने मान्यता राखेको छ । त्यसकारण पुस १५ गतेका दिन सूर्योदय अथवा घाम झुल्के पछि ल्हो अथवा वर्ग फेरिन्छ भन्ने परम्परागत मान्यता रहेको छ ।
प्ये क्युई, ल्हो क्युई, च्यो क्युई तमु क्युई हुदै आएकोले यसको विशेष महत्व रहेको छ । गुरूङ समाजमा पाच्यु, क्यब्री र लम तीन वर्गको खेगी (पुरोहित) हरूले पुजा गर्ने प्रचलन रहेको छ । यसै समयमा थासो फाल्ने चलन पनि रहेको छ । थासो फाल्ने काम धेरै जासो मृत अर्थात दुःखको समयमा गरिन्छ भने ल्होछारमा कुन ल्होको कस्तो छ वर्ष भरिको ग्रह भनेर हेर्ने गरिन्छ । यसमा मृतात्मा फाल्ने थासो र ल्होछारमा फाल्ने थासोको तरिका र विधि फरक रहेको छ । क्यब्रीले सुरुमै कैदु ढालेको हुन्छ भने पाच्युले सबै प्येको किताब पढी सकेपछि मात्र कैदु ढाल्ने गरिन्छ । यसमा एकै पटकमा घचेट्ने गरिन्छ । १२ ओट ल्हो अर्थात वर्गको नाममा कोदोको कैदु बनाएको हुन्छ । यसमा एक पाथी कोदो नाग्लोमा राखी कैदु त्यसमा राखी ढाल्ने गरिन्छ । यसरी ढालेको कैदुको आधारमा कुन ल्हो राम्रो र कुन ल्हो नराम्रो छ भनेर छुट्याउने गरिन्छ । नराम्रो ल्हो हुनेहरुले दोष शान्ति गर्ने गरिन्छ । त्यसकारण उपरोक्त तीन वर्गका पुरोहितहरूद्वारा तदनुरुपको कर्म गराएर ल्होछारको दिनमा सबैले आ–आफ्नो ग्रह शान्ति र कुशल–मङ्गल प्राप्तिको लागि म्हार घिउको बत्ति बालेर चोखो पानी, च्यु अर्थात अक्षता र अन्य चोखो खानेकुराहरू धूपिको धुप बालेर सिल्दोँ–नाल्दोँ, खे, मा र फैलुको पूजा आजा गर्ने गर्दछ ।
यसका साथै मान्यजनहरूले पुरुषहरूलाई वेसारमा मलेको नौ सरा, नौ गाँठो र महिलाहरूलाई सात सरा, सात गाँठोको रिपुको डोरो लगाई दिएर स्यााई गरी शुभ–आशिक दिने प्रचलन रहेको छ । यसमा तीन वर्गका पुरोहितहरुको कार्य पनि फरक फरक भएको हुन्छ । जस्तो, पाच्युले थासो फालेको छ भने क्यब्रीले र क्याब्रीले थासो फालेको छ भने पाच्युले रिपु लगाई दिने प्रचलन रहेको छ ।
यसमा रिपु लगाउने तरिका पनि फरक छ । जस्तो कि उत्तर र दक्षिण गरि छुट्याएको हुन्छ । फागुन चैतमा करङकुरुङ चरा माथी जाने गर्दछ त्यो समयमा सबैले देख्दछ । यसलाई प्याडुल्ब तर्सिव भनिन्छ । यो भनेको चरा माथी गयो भन्ने हुन्छ यसलाई छोटकारीमा ओम भन्ने गरिन्छ । साउनको नाग पञ्चमी देखि करङकुरुङ चरा तल फर्किन्छन् । त्यो समयमा बादल हावा हुरीले गर्द देखिदैन । कोईडुल्ब तर्सिव भन्ने गरिन्छ । छोटकरीमा मप्रुम पनि भनिन्छ । श्रीपञ्चमी देखि करङकुरुङ माथी गएको हुनले अगाडीबाट पछाडी लागेर गाँठो गरि स्याई गर्ने र नाग पञ्चमी देखि श्रीपञ्चमीको अघिल्लो दिनसम्म करङकुरुङ तल फर्किने भएकोले पछाडीबाट अगाडी ल्याएर गाँठो बनाएर पछाडी लगेर स्याई गर्ने गरिन्छ । यसमा दुख्ने, विरामी नहोस् अरु रोगहरु नलागोस् सबै शान्त होस भन्ने स्यायी गर्ने चलन रहेको छ ।
ल्होछार मनाउने तरिका पनि समय अनुसार फरक–फरक रहेको देखिन्छ । पहिले ल्होछार मनाउँद तिहारमा देउँसी, भैलो खेलेको भए त्यसबेला जम्मा गरेको धान, चामल र पैसाले स्योकैँ अर्थात सहभोज खाएर पुषे १५ ल्होछार मान्ने गरिन्थ्यो भने तिहारमा देउसी, भैलो नखेलेको समयमा चेलीबेटीले आ–आफ्नो घरबाट चामल र रक्सी उठाउने र माइतीहरूले घिउ, कुखुरा वा बोका ल्याएर रोटी, रक्सी र मासु भात खाई ल्होछार मान्ने चलन थियो ।
स्योकै खाएर र अन्य विभिन्न कार्यक्रम गरेर ल्होछार पर्व मान्ने चलन रहेको थियो ।
अहिले समय र परिस्थिति सबै परिवर्तन हुँदै गएको छ । पहिले र अहिले ल्होछार मान्ने प्रक्रिया फरक फरक हुदै गएको देखिन्छ । पहिले सानो घेरामा थियो भने अहिले बृहत हुँदै गएको देखिन्छ । सबै जातिमा ल्होछार मान्ने बानीको विकास भईसकेको हुनले यसलाई एक रुपतामा ल्याउन गाह्रो भएको छ । यसको अदिम मुल भनेको तोल ल्होछार नै हो । यो लोप हुने अवस्थामा रहेको छ यसमा पहुँचको कमी रहेको छ । ल्होसारहरु संयुक्त रुपमा मनाउद राम्रो हुने कतिको मत रहेको छ ।
तमु राष्ट्रिय समन्वय समितिले ल्होछार र तमु छोंज धिंले ल्होसार लेख्दै आएको थियो । एकताका लागि ५ बुँदामा सहमति भयो । त्यसमा ल्होछार लेख्ने भनिएको छ । पछि ल्होसार र ल्होछार दुवै लेख्ने गरेको र ल्होसार लेख्ने संख्या धेरै भएकोले ल्होछार कम लेख्न थालेको बताइएको छ । गुरुङहरु भोटेबाट तमु भएपछिको असली शब्द ल्होछार हो । यसमा अर्थको अनार्थ लगाउँदै तिब्बतीयन संस्कृति हाबी हुँदै गएकोले तमु जातिको संस्कार र संस्कृतिमा पहिचानको रुपमा रहेको ल्होछार शब्द लोप हुने आवस्थमा पुगेको देखिन्छ । यसबारे समयमै आफ्नो र अरुको के हो केलाएर आफ्नो पहिचान र महत्व रहेको ल्होछारको संरक्षण र जगेर्नको लागि सरोकारवाला पक्षले समयमै ध्यान दिनुपर्ने जरुरी छ ।
यो लेख कुराकानीको आधारमा तयार पारिएको हो ।






