लिम्बू समुदायको ‘धान नाच’को आकर्षण

SHARE:

ताप्लेजुङ । देशका हिमाल, पहाड र तराईमा बसोवास गर्ने विभिन्न जातजाती र समुदाय सम्वद्ध मौलिक संस्कृति स्वदेशी तथा विदेशी पर्यटकलाई आकर्षित गर्ने आधार बनेको छ । विभिन्न जातजाती र समुदायको पहिचानसँग जोडिएका भाषा, कला र संस्कृतिले नेपालको पहिचानलाई फराकिलो र विशेष बनाएको छ ।

हाम्रो मुलुकको सन्दर्भमा पर्यटन प्रवर्द्धनमा मौलिक संस्कृतिको गतिलो योगदान छ । मुलुकका विभिन्न भूगोलमा बसोवास गर्ने जातजाती र समुदायको मौलिक संस्कार, संस्कृति फरक–फरक छन् । विभिन्न भाषा, कला, संस्कृतिले भरिपूर्ण लिम्बू समुदायमा पनि छुट्टै मौलिक संस्कृति रहेको पाइन्छ ।
लिम्बू समुदायको बाक्लो बसोवास रहेको पूर्वी नेपालको पर्यटन प्रवर्द्धनमा उनीहरुको समेत भाषा, वेषभूषा र कला संस्कृतिले योगदान र्पुयाएको पाइन्छ । उनीहरुले आफ्नै भाषामा बोलेको सुन्दा, आफ्नै वेषभूषा पहिरिएर हिँडेको देख्दा अनि आफ्नै कला संस्कृतिमा रमाएको देख्दा जो कोहीलाई पनि आनन्द लाग्छ । विशेष गरी आफ्नो वेषभूषासहित आफ्नै भाषामा ‘पालाम’ गाउँदै एक आपसमा हात समाई नाचिने ‘धान नाच’ले सबैलाई आकर्षित गरेको पाइन्छ ।

धान नाच र पालाम लिम्बू समुदायको लोकप्रिय मौलिक कला संस्कृति हो । विभिन्न चाडपर्व, मेला महोत्सव, विवाह, सुद्धाईजस्ता कर्मकार्यमा धान नाच्ने गरिन्छ । केही वर्ष अघिसम्म विरलै रुपमा देखिने धान नाच अहिले पूर्वका हरेक मेला, महोत्सव र विवाहजस्ता कार्यमा देख्न पाइन्छ । पछिल्लो समयमा धान नाचप्रति युवा पुस्ताको आकर्षण समेत बढ्दै गएको छ । कहिलेकाहीँ विदेशी पर्यटकसमेत आकर्षित हुँदै हात समाइ धान नाच्ने गरेको देख्न पाइन्छ ।

धान नाच्दा पालाम अनिवार्य गाउने गरिन्छ । केटा र केटी पक्षबीच सवालजबाफ गर्दै पालाम गाउने गरिन्छ । धान नाच्नु अघि एक–आपसमा परिचय गरी साइनो सम्बन्ध केलाइन्छ । साइनो नलाग्ने भए धान नाच्ने निधो गरिन्छ । पालाम गाउँदै धान नाच्दा कतै गल्ती कमजोरी भइहाले माफ पाउँ भनेर अग्रिम रुपमा दुवै पक्षले हात जोडेर बिन्ती गर्ने चलन रहेको किराँत समुदायका अगुवा विविहाङ वनेमले बताए।

पालाम अति भावुक हात समाई पालाम गाउनु अघि गाउँदै, नाच्दै जाँदा हुने गल्ती कमजोरीप्रति अग्रिम हात जोडेर विन्ती गरी सुरु गरिन्छ । विरहका भाका मिसाउँदै पालाम गाइन्छ । पालाम गाउँदा जीवनमा आउने सुख, दु:खका अनुभूति र मिलन बिछोडका पक्षलाई भावुक ढङ्गले समेटिन्छ । पहिले पहिले पालाम गाउँदै धान नाचेर माया पिरती लगाई उसैबेला जोडी बाँधिने निधो हुन्थ्यो ।

धान नाच्दानाच्दै पालामकै भाकामा कुरा गरेर वैवाहिक बन्धनमा बाँधिएका उदारण प्रसस्तै भेटिन्छन् । तर, पछिल्लो समयमा धान नाच्ने शैली फेरिँदै गएकाले यसको ऐतिहासिक महत्व र पहिचान मेटिने खतरा बढ्दै गएको स्थानीयवासी बताउँछन् । जसरी पश्चिम नेपालमा देउडाको गीत र नाचको लोकप्रियता छ उसै गरी लिम्बू समुदायको बाक्लो बसोवास रहेको पूर्वी नेपालमा धान नाच र पालामको । धान नाच र पालामको शुरुवातबारे एउटा रोचक किंम्बदन्ती छ ।

धान नाचको किंम्बदन्ती
स्थानीयवासी गजेन्द्र तुम्याहाङका अनुसार परापूर्वकालमा सबैतिर खाने कुराको अभाव (अनिकाल) सिर्जना भयो । अन्नपात उत्पादनका लागि बीउसम्म रहेन । कसरी अन्नपात उत्पादन गर्ने भनेर अनेकौ उपाय खोजियो । तर, कुनै अन्नपातको बीउ नै नभेटिएपछि केही सीप लागेन । अन्तिममा उडेर जताततै पुग्ने चरालाई बीउ खोज्न पठाउने निधो भयो र उक्त चराले बीउ खोजेर ल्याए उत्पादन भएको अन्न बराबर उपभोग गर्ने सहमति भयो । त्यसपछि उक्त चरा बीउ खोज्न निस्कियो । धेरै ठाउँ पुग्यो तर कतै पाएन । एकदिन अचानक त्यो चरा तागेरा निङ्वाभुमाङकोमा पुगेछ र तागेरा निङवाभुमाङले धानको बीउ दिएर पठाएछन् ।

उक्त बीउ लिएर चरा मानिस भएको ठाउँमा फर्कियो । चराले ल्याएको बीउबाट उनीहरुले धानखेती गरे । त्यसपछि धान पाक्यो र थन्क्याउने सिजन आयो । धान काटेर खलोमा जम्मा गरे । तर, चरालाई भने नदिने निधो गरे । खलोमा धान जम्मा गरिएपछि चरा उडेर आउन थाले । तिनै चरालाई छेक्न र धपाउन सबैले एक आपसमा हात समाई गोलाकार भएर खुट्टाले धान माड्दै छुई हा हा हा भन्न थाले । छुई हा हा हा भन्न थालेपछि चराहरु पर पर भाग्न थाले । यो क्रम हरेक वर्ष निरन्तर चल्यो र कालान्तरमा आएर धान नाचमा परिणत भयो । यसरी विकसित भएको परम्परागत धान नाचलाई संरक्षण गर्न लिम्बू समुदायले मात्रै नभइ सबै पक्षले आ–आफ्नो क्षेत्रबाट सक्दो पहल र प्रयास गर्नुपर्नेमा स्थानीयवासीको जोड छ ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!