समाजसेवा फेसन कि बिज्ञापन

SHARE:

दिपिका भुसाल

हाल ईजरायल

भनिन्छ, स्वार्थ नभएको मानिस नै हुँदैन। नि:स्वार्थ भनेको स्वार्थ रहित यानेकी लोभ र पाप रहित हो। मानिसले राष्ट्रिय स्वार्थ, सामूहिक स्वार्थ र आफुमा निहित स्वार्थ, व्यक्तिगत स्वार्थहरु राखेर काम गर्ने गर्दछन्। राष्ट्रिय स्वार्थ र सामुहिक स्वार्थ, स्वार्थहरुको मध्यको उत्तम स्वार्थ हो। आफुमा निहित स्वार्थ र व्यक्तिगत स्वार्थ तुच्छ र निच खालको स्वार्थ हो । आत्मालाई साक्षी राखी तन, मन, धन, बचन र कर्मले सेवा गर्नु मानिसको पहिलो कर्तव्य, धर्म र दायित्व हो। धर्मले मानिसलाई नि:स्वार्थ सेवामा लाग्नको लागि ध्यान केन्द्रित गराउँछ ।

मानव जीवनमा नैतिकता, सत्चरित्र र अनुशासन अनिवार्य सर्त रहेको छ। ज्ञान र विवेकहिन मानिस स्वार्थी हुन्छ। नि:स्वार्थ सेवाभाव राखी कार्य नगरिएकाले अहिलेसम्म कुनैपनि क्षेत्रमा राम्रो परिणाम आउन सकेको छैन। बिना मतलबको कुनै प्रयोजन नभएको, व्यर्थको कार्य बढिरहेको छ। व्यक्तिगत स्वार्थले चरम सिमा नाघेको छ। व्यक्तिगत स्वार्थ, लोभ र पापका कारण समाजका हरेक क्षेत्रमा जताततै ब्याप्त भ्रष्टाचार छ। बहुजन हिताय, बहुजन सुखायको सिद्धान्त आत्मसाथ गर्नु नै नि:स्वार्थ हो। नि:स्वार्थ सेवाले आत्मा सन्तुष्टी र दु:ख मुक्तिको बाटोमा मासिसलाई हिंडाउँछ। मानवतावादी सिद्धान्तलाई व्यवहारमा उतार्नेले मात्र नि:स्वार्थ सेवा गर्न सक्दछ। समाजिक सेवा लाभ र हानिबाट मुक्त हुनु पर्दछ। कर्मवादी सेवामात्र नि:स्वार्थ हुन सक्दछ ।

आजको यो युग व्यक्तिगत स्वार्थको व्यक्तिवादी युग हो । पूँजीवादी समाजमा नि:स्वार्थ सेवाको कुरा गर्नु बेकार हुन्छ । उपभोक्तावादी संस्कृतिले नि:स्वार्थ सेवालाई उपेक्षा गर्दछ । नि:स्वार्थी मानिस काम, क्रोध, लोभ, मोह र अहंकारबाट मुक्त हुन पर्दछ। मानिसले प्रत्यक्ष र अप्रत्यक्ष रुपमा पाप कार्य गरिरहेको हुन्छ। निस्वार्थी मानिस विद्या, आचरण र धर्मले सम्पन्न हुन्छ। बोली अनुसारको व्यवहार र जिबनशैली अपनाउने गर्दछ ।

नेपालको सन्दर्भमा नि:स्वार्थ सेवा गर्नेहरुको संख्या निकै कम छ। नि:स्वार्थ सेवाको उदाहरण नेपाली धर्तीमा गौतम वुद्धले दिनु भएको छ। सेवाका नाममा नेपालमा सबैतिर व्यापक शोषण छ। हाम्रो हिन्दूधर्म दर्शनशात्रले ‘परोपकाराय पुण्याय, पापाय परपीडनम्’ भनेको छ। क्रिश्चियन धर्मको बाईबलमा ‘असहाय, पीडित, दीन–दु:खी मानिसको सेवा नै भगवानको सेवा हो’ भनेको छ। वर्तमान संसारमा कलियुगका प्रतापका कारण विकास सँगै विनाश पनि भइरहेको छ। ‘जहाँ पाप त्यहाँ क्षणिक फलिफाप’ पनि देखा परेको छ। नि:स्वार्थ सेवा गर्न खोज्नेको निन्दा, उपेक्षा र स्वार्थी सेवा गर्नेको प्रशंसा, मान सम्मान भइरहेको पाइन्छ। युगले काँचुली फेर्दै जाँदा सेवा क्षेत्रमा लागेका मानिसहरु पनि रंगीचंगी देखिन थालिएको छ। जनताको सेवा र हीतका नाममा विदेशी दातासँग आवश्यक सहयोग माग्ने र प्राप्त भएका वस्तुहरू व्यक्तिगत हितमा ल्याउनेको संख्या क्रमश बढ्दै गएको छ।

हाम्रोमा गरिब, असाय र पीडितका नाममा विदेशी दाताहरुबाट उपलब्ध चीजबीजहरुको हिनामिना हुने संस्कृति छ। त्यसैले नि:स्वार्थ समाज सेवाको नाममा गुट, उपगुट, समुहगत र पदिय स्वार्थ मौलाएको छ। राष्ट्रिय स्वार्थ, सामुहिक स्वार्थ गौण बन्दै गइरहेको छ। मानसम्मान र कुर्सीभन्दा ठूलो चिज मानव सेवा हो। मानवको नि:स्वार्थ सेवामा जस्तो आनन्द र सन्तुष्टी केहीमा पाईदैन। नि:स्वार्थ सेवीहरू समाजमा नै अहोरात्र खटेर रमाई रहेको देखिन्छ । नेपाल र नेपालीहरु गरिब छैन, गरिबी त बनाइएको छ। देश र जनताको सर्वोत्तम हितको प्रण गरेर राजनीतिमा लागेका व्यक्तिहरू बेइमान भएको पाइन्छ। सेवा र धर्मलाई पेशा बनाएको पनि देखिन्छ।

एनजिओ, आइएनजिओमा संलग्न भई मानव सेवाको क्षेत्रमा कार्यरत व्यक्तिहरूलाई नि:स्वार्थी मान्न सकिंदैन। दरिद्र मानसिकता र भ्रष्टाचारले स्थान ओगट्दा नि:स्वार्थ समाजसेवा एउटा देखाउटी फेसन बनेको छ। दु:खी, पीडित, असहाय र गरिबहरुलाई दया र निगाह होइन, अधिकार चाहिएको छ, बाँच्ने दीर्घकालिन आधार चाहिएको छ। शोषण र भ्रष्टाचार निर्मूल समाजबाट भयो भने दु:खी पीडित कोही पनि हुँदैनन् । भूकम्प पीडितहरूको पीडामा रमाउने, नाजायज फाइदा उठाउने समाजसेवीको लहर चलेको छ। पीडितहरूको सेवा र सहयोगको नाममा विज्ञापन भइरहेको पनि हामीले देखेका नै छौं। स्वार्थले भरिएको सेवा समतामुलक समाजको लागि एउटा खतरा र बिष हो। नेपालमा केही महिला र पुरुषहरु समाज सेवाको क्षेत्रमा सक्रिय छन् तर नि:स्वार्थी छैनन्। नि:स्वार्थी समाजसेवी व्यक्तिहरु प्रशंसा, मान–सम्मान, नगद पुरस्कार, कदरपत्र र अवार्डहरुको आशामा रम्दैनन्। नि:स्वार्थी व्यक्तिहरू लाभ र हानी केही नहेरी आफ्नो जीवन समाज सेवामा संधै नै समर्पित गर्ने गर्छन्।

समाज सेवाका क्षेत्रमा सक्रिय थुप्रै संघसंस्था र त्यसमा संलग्न व्यक्तिहरूको गतिविधिहरु पनि संदिग्ध रुपमा देखा परेको छ। मानवसेवा गर्न तन, मन, धनको आवश्यकता पर्दछ। तर, त्यो तन, मन र धन कालो हुनु हुँदैन। गुप्तदान, श्रमदान नेपाली समाजमा प्राचीनकालदेखि नै हुँदै आएको हो। हिजोआज समाजसेवामा लाग्नेहरू स्वस्फूर्त भन्दापनि देखाउनका लागि लागेको पाइन्छ। स्वस्फूर्त समाज सेवामा लाग्नेहरू नि:स्वार्थ हुन्छन्। ह्दयदेखि नै समाज सेवामा समर्पित भएकाहरुले गरेको योगदानले समाजमा उल्लेख कार्य गरेको हुन्छ। आजभोली व्यक्तिको एक्लो प्रयासले पर्याप्त समाजसेवा हुन सक्दैन। संघ संस्था र समुहगत उपस्थिती अनिवार्य छ। संघ संस्थाका पदाधिकारी नि:स्वार्थ र सक्रिय भएमा त्यो संस्थाले प्रभावकारी ढंगले समाज सेवामा योगदान पुर्‍याउन सक्दछ।

नेपालको राजधानी शहर काठमाण्डौको प्रमुख ठाउँ टुँडीखेल या देशका अन्य मुख्य शहरका अस्पतालहरु वरिपरी क्यान्सर रोगी, मृगौला रोगी, मुटुरोगी र उनका परिवारहरु चन्दा मागेर बाँचेका छन्। ठुला, मझौला र सानाखाले कुनैपनि समाजसेवीहरुको ध्यान आजसम्म त्यसतर्फ गएको छैन। पीडितहरूको सेवामा कुनै पनि संघसंस्था र समाजसेवीले चिन्ता र चासो लिएको पाइईदैन फगत प्रचार शिवाय। गरिबीका कारण शिक्षा हॉंसिल गर्नबाट बञ्चित सडक बालबालिका, जोखिममा परेका अनाथ बालबालिकाहरुको सामुहिक चासो र मुद्दामा गैर सरकारी संघसंस्थाहरुले आवश्यक दबाव र सेवा पुर्‍याइरहेका छन्, यो सकारात्मक आफैमा कदम हो।

संगै, पीडितहरुको नाममा आएको राहत सामग्रीमा र्‍याल चुहाउने समाजसेवाको क्षेत्रमा सक्रिय रहेका व्यक्तिहरूको पनि कुनै कमि छैन। अन्य क्षेत्रमा झैं समाजसेवाको क्षेत्रमा पनि विकृति र विसंगति छ। अझै भन्नु पर्दा समाजसेवा लागेका प्रत्येक ब्यक्तिगत पदिय स्वार्थ, ब्यक्तिगत स्वार्थ रहित सधैं नि:स्वार्थ मन र भावनाले काम गरिरहेका छन् भन्नु गम्भीर भूल हुनेछ। तर, केही यस्ता ब्यक्तिहरु पनि छन् जो आफ्नो जीबनको हरेक क्षण दुखी पीड़ितको सेवामा समर्पित गरेको भेटिन्छ। यो पवित्र र राम्रो कार्य हो। समाजसेवाको लागि चालिएका कदमहरु समाज परिवर्तनका लागि साकारत्मक कदमहरु हुन्। बर्तमान समयमा हाम्रो देशको अबस्था निकै कमजोर छ। देश बिकासको लागि हामी सबैको हात र साथको आबश्यक छ। यसका निम्ति समुहगत, दलगत, गुटगत र ब्यक्तिगत स्वार्थ रहित समाजसेवी बन्नु अनिवार्य छ। एउटा असल समाजसेवी हुनको खातिर पदिय स्वार्थ र गुट उपगुटको अन्त्य हुन अत्यन्त जरुरी छ।

जय मातृभुमी 🙏 !!!

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!