तामाङ पहिचान दिवस : तामाङ लेखौं, मर्यादित जीवन बाँचौ

SHARE:

अमृत योन्जन-तामाङ

मानिस यस धर्तिमा आफ्नो मूल्य-मान्यता र पहिचानसहित सम्मानपूर्वक (with own value, identity and dignity) बाँच्न चाहन्छ। हजारौं वर्षदेखि आफ्ना बाब्सा (टेरिटरी)मा सुखचैनले जीवनयापन गरिरहेका आदिवासी तामाङ समुदायमाथि आक्रमण हुन्छ र पराजित गरिन्छ। उनीहरूका सबै प्रकारका भौतिक तथा अभौतिक सम्पतिमाथि आक्रमणकारी समूहले अधिकार जमाउँछ। उनीहरूलाई राज्यले दास (कमारो) सरहको व्यवहार गर्न थाल्छ। राज्यले विभेदकारी हिन्दु कानुन बनाएर लागू गर्छ। वि.सं. १९१० जारी गरेको मुलुकी ऐनमार्फत नै उनीहरूलाई ‘मासिने’ मतवाली बनाउँछ र चौथो दर्जामा राख्छ । ‘मासिने’ भनेको मार्न सकिने, सित्तैमा श्रम लिन मिल्ने अर्थात् ज्याला दिन नपर्ने, कमारो कमारी बनाउन पाइने भन्ने अर्थ हुन्छ। तामाङ जातिलाई ‘मासिन्य मतवाली’ बनाएर कानुनतः राज्यले अनवरत श्रम शोषण गर्न पाउने अधिकार प्राप्त गर्छ।

चरम विभेदको विरूद्ध तामाङ पूर्खाले पटक पटक विद्रोह गर्छ। दुई पटक त सैनिक विद्रोह नै गर्छ। उसलाई निःशस्त्र बनाइन्छ। विद्रोह गरेको आरोपमा नुवाकोट, लाछ्याङका गाउँगाउँमा सैनिक पसेर एकै पटक एक हजार तामाङ काटिन्छ। बचेकाहरूमाथि चरम दमन र शोषण हुन्छ। हरदम राज्यको अमर्यादित सेवामा तमतयार गराइन्छ।

यहाँसम्म कि आफ्नो जातिनाम (इथ्नोनेम) ‘तामाङ’ भन्न वा लेख्न समेत वञ्चित गराइन्छ। उनीहरूलाई मुर्मी, मुर्मी भोट्या, भोटे, सें आदि विविध अपमनित र अमर्यादित नामले बोलाइन्छ। तामाङहरू आफ्ना बाब्सा (पूर्ख्यौली भूमि)बाट मर्यादित जीवनयापनको लागि चारैतिर वितरित हुन बाध्य हुन्छन्। गोर्खा सरहद बाहिर पनि पुग्छन्। नेपालको जहानीयाँ निरंकुश राणा सरकार भारतीय शासक अङ्‌ग्रेजहरूको ‘जीहजुरी’ मा अभ्यस्त भइसकेको हुन्छ।

पहिले विश्व युद्धपछि भारतीय सैनिक सेवामा सक्रिय हाम्रा पूर्खा जंगवीर तामाङको नेतृत्वमा तामाङ जातिले आफ्नो जातिनाम तामाङ लेख्न पाउनु पर्छ भनेर नेपालको दर्बारमा जाहेरी गर्छ। पहिलो विश्व युद्धमा वीरतापूर्वक लडेका तामाङ पूर्खाहरूले वाह्य तथा आन्तरिक दवाव सिर्जना गर्छ। वि.सं. १९८९ अर्थात् सन् १९३२) मा आजभन्दा ठीक ८८ वर्ष अगाडि तामाङ जातिले तामाङ लेख्न पाउने इस्तिहार (हुकुमी पत्र) नेपाल दर्बारबाट जारी हुन्छ‍ र इस्तिहारमा भनिएको हुन्छ- “तामाङ जातका भोटेको जात लेख्दा र यो जातका भोटेलाई बोलाउँदा लामा भोटे नभनी तामाङ भनी लेख्ने बोलाउने गर्नु इति सम्वत् साल १९८९ भाद्र ६ गते रोज १ शुभम्।”

यसरी भाद्र ६ गते तामाङ जातिले आफ्नो जातिनाम लेख्न अधिकार पाएको दिन हो। बि.सं. १८०० मा नुवाकोटबाट तामाङ जाति पराजित भएको लगभग १९० वर्षपछि तामाङ जातिले पुनः आफ्नो पहिचान दिने जातिनाम (इथ्नोनाम) लेख्न पाएको थियो अर्थात् आफ्नो जाति नाम लेख्न पाउनका लागि तामाङहरूले १९० वर्ष लगातार संघर्ष गरेका थिए। यस दिनदेखि तामाङ जातिको इथ्नोनेम जातिनाम एउटै भयो- ‘तामाङ’ (नेपालका कतिपय जातिको दुइवटा नाम छन्, आफूभित्र र आफूबाहिर)। यो हाम्रा पूर्खाहरूको अपूर्व योगदान हो।

यसर्थ यो दिन हरेक तामाङले स्मरण गर्नु आवश्वक छ। यसले हाम्रो विगत इतिहासको स्मरण गराउँछ र सम्मानपूर्वक लड्न सिकाउँछ। सम्मानपूर्वक बाँच्नका लागि नै केही तामाङहरूले एक दसक अगाडिदेखि तामाङ डाजाङको कार्यकक्षमा बसेर औपचारिक रूपमा नै ‘तामाङ पहिचान दिवस’ मनाउन थालेको हो (अझै तामाङ जातीय संघसंस्थाहरू यस दिवसप्रति आकर्षित हुन सकेको छैनन्)। हाम्रा पूर्खाको लगातार र निरन्तरताको संघर्षले गर्दा हामीले ‘तामाङ’ लेख्न पाएको दिनको रूपमा मात्र होइन कि ‘तामाङ’ लेख्न र ‘मर्यादित जीवन बाँच्न’ समेत यस दिनले उत्पेरित गर्दछ। तामाङ लेखौं, मर्यादित जीवन बाँचौ। यस तर्फ सवैको मन फुलोस्।

सबैमा पुनः शुभकामना !

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!